महिलाले गरेको आन्दोलन इतिहासमा कहिल्यै बिर्सन हुँदैन : अष्टलक्ष्मी शाक्य

२०४६ सालको जनआन्दोलन स्मरण गर्दै उनले अन्तरिम संविधान निर्माण र निरंकुश शासनको अन्त्यमा महिलाहरूको उल्लेखनीय भूमिका रहेको स्पष्ट पारिन्।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

Women's movement should never be forgotten in history: Astalakshmi Shakya

काठमाडौँ — नेकपा एमाले नेता अष्टलक्ष्मी शाक्यले महिलाहरूले विभिन्न कालखण्डमा गरेको आन्दोलन इतिहासमा कहिल्यै बिर्सन नहुने बताएकी छन्। 

‘वर्ल्ड अफ वेमेन म्यागजिन र  प्रोजेक्ट अभय तथा सी लिङ्स’को संयुक्त आयोजनामा काठमाडौंमा शनिबार आयोजित ‘राजनीतिमा संरचनात्मक अवरोध– महिला शक्ति र राजनीतिक संरचना’ विषयक खुला संवाद कार्यक्रममा बोल्दै उनले योगमाया न्यौपाने, द्वारिकादेवी ठाकुरानी, शैलजा आचार्य, सहाना प्रधानलगायत महिलाहरूले गरेको आन्दोलन सामूहिक उपलब्धिका रूपमा स्मरणयोग्य रहेको उल्लेख गरिन्।

शाक्यले महिलाहरूले मताधिकारका लागि, शिक्षा हासिल गर्न तथा विभिन्न सामाजिक–राजनीतिक कुरीतिविरुद्ध आवाज उठाउँदै आएको इतिहास रहेको बताइन्। २०४६ सालको जनआन्दोलन स्मरण गर्दै उनले अन्तरिम संविधान निर्माण र निरंकुश शासनको अन्त्यमा महिलाहरूको उल्लेखनीय भूमिका रहेको स्पष्ट पारिन्।

त्यसैगरी २०६२/६३ को जनआन्दोलनले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल बनाएको उल्लेख गर्दै उनले उक्त आन्दोलनमा पनि महिलाहरूको सक्रिय सहभागिता निर्णायक रहेको बताइन्।

संविधानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको भए पनि व्यवहारमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो। शाक्यले ,‘ समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुदृढ गर्न आवश्यक छ रहेको महिला र पुरुष समान हुन् भन्ने सोच व्यवहारमा उतारिनुपर्ने छ।’

महिलाहरूभित्रै पितृसत्तात्मक सोचका कारण नेतृत्व तहमा अघि बढ्न नसकेको उनको ठहर छ ।  लोकतान्त्रिक सोच कमजोर हुँदा महिलाले आफ्ना अधिकार उपयोग गर्न नसकेको भन्दै शाक्यले भनिन्, ‘पितृसत्तात्मक सोच महिला र पुरुष दुवैमा रहेकाले सोच परिवर्तन नगरी वास्तविक समानता सम्भव हुँदैन्।’

कान्तिपुर संवाददाता

Link copied successfully