निर्वाचनको मिति नजिकिएसँगै उक्त क्षेत्रमा चुनावी माहोल पनि तातेको छ । उम्मेदवारहरू आन्तरिक छलफल र मतदातासित भेटघाट तथा घरदैलोमा सक्रिय छन् ।
What you should know
हेटौंडा — मकवानपुर–२ मा दलका उम्मेदवारबीच विरासतका लागि रस्साकसी छ । यसपटक कांग्रेस, नेकपाले नयाँ व्यक्तिलाई उम्मदेवार बनाएका छन् । एमालेले यसअघि निर्वाचितलाई दोहोर्याएको छ । त्यसैले यहाँ विरासत जोगाउन र खोस्न प्रतिस्पर्धा भइरहेको हो ।
०७९ सालमा पहिलोपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर एमालेबाट महेश बर्तौला विजयी भएका थिए । पार्टीले उनलाई यसपटक पनि प्रतिस्पर्धामा उतारेको छ । कांग्रेसले बुद्ध लामा, नेकपाले लवशेर विष्ट, रास्वपाले प्रशान्त उप्रेती, नेकपा माओवादीबाट राम घलान, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, उज्यालो नेपालबाट प्रवीनकुमार स्याङ्तान, श्रम संस्कृति पार्टीबाट युनेश लामा सिन्तान उम्मेदवार छन् । यी सबै पहिलोपटक चुनाव लडिरहेका हुन् ।
राप्रपाबाट रामबहादुर थोकर दोस्रोपटक प्रतिस्पर्धामा छन् । ०७४ सालमा पनि उनी उम्मेदवार थिए । मकवानपुर–२ मा दलबाट १६ र ५ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये दुई महिला स्वतन्त्र उम्मेदवार रहेका छन् ।
निर्वाचनको मिति नजिकिएसँगै उक्त क्षेत्रमा चुनावी माहोल पनि तातेको छ । उम्मेदवारहरू आन्तरिक छलफल र मतदातासित भेटघाट तथा घरदैलोमा सक्रिय छन् ।
यसपालि गठबन्धनबिनै भइरहेको निर्वाचनमा एमाले विरासत जोगाउन कस्सिएको छ । कांग्रेस, नेकपा र रास्वपा लगायत अन्य दल पनि नतिजा आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका छन् । ०७९ मा बर्तौलाले एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गरेका थिए । उक्त क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र र समाजवादीले गठबन्धन गरेर खतिवडालाई उम्मेदवार बनाएका थिए । बर्तौलाले ३४ हजार ९ सय १६ मत ल्याएका थिए । खतिवडाले ३० हजार ३ सय ९६ भोट पाएका थिए । रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत ल्याएका थिए । राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरेका थिए ।
तीन वर्षको अवधिमा जिल्लाको राजनीतिक अवस्थामा परिवर्तन आएको छ । गठबन्धन नभएका कारण चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । भौगोलिक रूपमा विकट निर्वाचन क्षेत्रमा चेपाङ र तामाङ समुदायको बाहुल्य छ । थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका तथा मकवानपुरगढीका उत्तरतर्फका चारवटा वडासहित चेपाङ बाहुल्य कैलाश र राक्सिराङ गाउँपालिका पनि यसै क्षेत्रमा पर्छन् । भीमफेदी र मनहरी गाउँपालिका पनि यसै क्षेत्रमा रहेका छन् । यस क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाअन्तर्गत उत्तर पश्चिममा अवस्थित १, ३, ११ र १९ नम्बर वडा यस क्षेत्रमा पर्छन् ।
एमाले उम्मेदवार कैलाश गाउँपालिकाका बर्तौला आफ्नो सक्रियता, संगठन र विगतमा गरेको विकासका कामबाट उत्साहित देखिन्छन् । बर्तौलालाई जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकाले मतदातामा परेको नकारात्मक प्रभावलाई चिर्न भने हम्मे परेको देखिन्छ ।
मकवानपुर–२ (२)बाट प्रदेशसभा सदस्य निर्वाचित इन्द्र बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री छन् । कांग्रेसबाट उम्मेदवार बनेका लामा बानियाँका विश्वासपात्र हुन् । नेकपाका उम्मेदवार विष्टका सामु पार्टी संगठनलाई मजबुत बनाउँदै मतदातासमक्ष पुग्नु पर्ने चुनौती छ । रास्वपाका उम्मेदवार उप्रेतीलाई क्षेत्रका ६२ वटै वडाका घर/दैलोमा पुग्नु पर्ने देखिन्छ । एमाले प्रमुख सचेतक भइसकेका बर्तौलाका लागि कांग्रेसका लामा र नेकपाका विष्ट बलिया प्रतिस्पर्धी हुन् । रास्वपाका २५ वर्षीय उप्रेती पनि पुराना दलका उम्मेदवारका निम्ति फलामको चिउरा सरह हुनेछन् ।
जनजाति बाहुल्य क्षेत्रमा कांग्रेसले लामालाई उम्मेदवार बनाएर जातीय मत आकर्षित गर्ने रणनीति बनाएको देखिन्छ । नेकपाका विष्ट थाहा नगरपालिकाका पूर्व प्रमुख हुन् । आफ्नो कार्यकालमा विष्टले गरेका कामको अझै पनि चर्चा हुने गरेको छ । रूपचन्द्र विष्ट ‘रुदाने’का अनुयायी विष्ट पारदर्शिता र सुशासनको पर्यायका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।
मनहरी, कैलाश, राक्सिराङ र मकवानपुरगढी गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको छ । यी पालिकामा नेकपाका उपाध्यक्ष छन् । कांग्रेसले थाहा नगरपालिकाको उपप्रमुख, भीमफेदीको उपाध्यक्ष जित्दा नेकपाले थाहा नगरपालिकाको प्रमुख मात्र पाएको छ । इन्द्रसरोवरको अध्यक्ष, उपाध्यक्ष र भीमफेदीको अध्यक्ष एमालेबाट निर्वाचित छन् ।
यस क्षेत्रबाट मंगोल नेसनल अर्गनाइजेसनका हीरालाल स्याङतान, नेसनल रिपब्लिक नेपालका सूर्य तामाङ, आम जनता पार्टीका सूर्य राई, नेमकिपाका सरोज तामाङ, संयुक्त नागरिक पार्टीका शुभराज चेपाङ, जसपाका छविलाल वाइवा, जनमोर्चाका निरबहादुर सिन्तानले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सीतामाया बलले उम्मेदवारी दर्ता गरेका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा समानुपातिकतर्फ एमालेले २८ हजार २ सय ४६, कांग्रेसले २१ हजार ५ सय ६० र माओवादी केन्द्रले १३ हजार १३ मत पाएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार २ सय ९७ मत प्राप्त गरेको थियो । राप्रपाले ३ हजार ४१ र एकीकृत समाजवादीले २ हजार ५ सय ९० मत प्राप्त गरेका थिए । मकवानपुर–२ मा १ सय ५ मतदान स्थलमा १ सय ९६ मतदान केन्द्र रहेका छन् । १ लाख ५६ हजार ८ सय ९९ मतदाता रहेका छन् । तीमध्ये ७४ हजार ५ सय ६६ महिला छन् ।
