रूपन्देही–१ : नयाँ उम्मेदवारबीच रोचक भिडन्त, चुनौती दिँदै रास्वपा

अन्योलमा मतदाता, फकाउँदै नयाँ पार्टीका उम्मदेवार ।

माघ १७, २०८२

घनश्याम गौतम

Rupandehi-1: Interesting clash between new candidates, RSVP challenges

What you should know

बुटवल — पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार सुरु भएको छ । पुराना र नयाँ दलका पुराना र नयाँ सबैखाले उम्मेदवार छन् । पुराना उम्मेदवार मतदाता फकाउँदै छन् । नयाँ उम्मेदवार आफ्नो परिचयसहित मतदातामाझ फरक गर्ने दाबी प्रस्तुत गरिरहेका छन् ।

रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढ्दो छ । तर, यसअघिका जस्तो उत्साह र हल्लाखल्ला छैन । पुराना उम्मेदवार बदलिएको परिस्थितिले दबाबमा देखिन्छन् भने नयाँहरू पुरानाको गतिविधि हेर्दै र मतदाताको मनोभाव बुझ्दै रणनीति बनाउँदै छन् । पहिलाका निर्वाचनमा जस्तो मतदाताको पार्टी प्रवेशको लहर पनि कतै देखिँदैन । बरु उम्मेदवारकै दल फेरबदलको प्रवृत्ति देखिन्छ । निर्वाचनको समय नजिकिँदै गर्दा पनि सहरमा कुनै रौनक छैन । गाउँबस्ती झनै सुनसान नै छन् ।

अन्य क्षेत्रको तुलनामा रूपन्देही–१ को निर्वाचन सरगर्मी अलि फरक छ । उम्मेदवारहरू कोही नयाँ र कोही पुराना छन् । तर, यसअघिका विजेता कोही उम्मेदवार छैनन् । धेरै उम्मेदवार शालिन र शान्त देखिन्छन् । कुनै पनि उम्मेदवारले अहिलेसम्म उग्ररूपमा प्रचारप्रसार गरेका छैनन् । यहाँ २०४८ सालदेखि २०५६ सम्म लगातार कांग्रेसका दुर्योधनसिंह थारुले चुनाव जितेका थिए । २०६४ मा एमालेबाट माओवादी प्रवेश गरेर उम्मेदवार बनेका घनश्याम यादव विजयी भए । कांग्रेसका अब्दुल रज्जाक र एमालेका छविलाल विश्वकर्मा पराजित भए । २०७० मा एमालेका विश्वकर्मा र कांग्रेसका रज्जाकबीच प्रतिस्पर्धा भयो । कांग्रेसका रज्जाक विजयी भए । २०७४ मा फेरि पनि ती दुवैबीचको प्रतिस्पर्धामा एमालेका विश्वकर्माले जिते । २०७९ मा एमालेका विश्वकर्माले कांग्रेस–माओवादी गठबन्धनले समर्थन गरेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गरे ।

तर, अहिलेको परिस्थिति बदलिएको छ । २०४८ पछि लगातान तीनपटक जितेका कांग्रेसका थारुको निधन भइसकेको छ । त्यसपछि जितेका कांग्रेसका रज्जाक र एमालेका विश्वकर्माले मैदान छोडेका छन् । २०६४ को संविधानसभा जितेका तत्कालीन माओवादी र अहिले नेकपाका यादवसहित एमालेका दधिराम न्यौपाने, कांग्रेसका हीराबहादुर खत्री र रास्वपाका सुनिल लम्साल मैदान छिरेका छन् । कांग्रेसका खत्री देवदह नगरपालिकाका पूर्वप्रमुख, एमालेका न्यौपाने पूर्वप्रदेश सभा सदस्य र रास्वपाका लम्साल पार्टीका महामन्त्री हुन् । नेकपा (संयुक्त)ले रामचन्द्र भट्टराईलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट प्रज्वल बोहरा उम्मेदवार छन् । उनी राप्रपा नेता दीपक बोहराका छोरा हुन् ।

२०७९ को निर्वाचनमा यहाँबाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मा २४ हजार ८ सय ८२ मत ल्याएर विजयी भएका थिए । उनको प्रतिस्पर्धी कांग्रेस, माओवादीसहितको गठबन्धनबाट स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल थिए । उनले २१ हजार ३ सय १८ मत ल्याएका थिए । त्यस्तै रास्वपाका नरेशबहादुर पछाई क्षेत्रीले १४ हजार १ सय ४५ र नागरिक उन्मुक्तिका धनिराम चौधरीले १३ हजार ९ सय ६२ मत ल्याएका थिए । समानुपातिक तर्फ २०७९ को चुनावमा यस क्षेत्रबाट कांग्रेसले १९ हजार १ सय २५, एमालेले १५ हजार ७ सय २४, राप्रपाले ११ हजार २ सय ४३, रास्वपाले १५ हजार ८ सय र माओवादी केन्द्रले ३ हजार ७३ मत प्राप्त गरेको थियो ।

७३ हजार ८ सय ५४ पुरुषसहित १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेको यो क्षेत्रमा २० स्वतन्त्रसहित ३१ जना उम्मेदवार छन् । ४५ मतदान स्थल र १ सय ५९ मतदान केन्द्र छन् । पुराना दलसँगै नयाँ खुलेका उज्यालो नेपालदेखि आम जनता पार्टी र नेमकिपासमेतले यहाँबाट उम्मेदवारी दिएका छन् । स्थानीय समाजसेवीसमेत रहेका हरिबहादुर कुँवरले अहिले पुराना दलका उम्मेदवारसहित नयाँ सबै दलका उम्मेदवारले शान्त र शालिन रूपमा मत मागिरहेको बताए । 

‘अहिलेसम्म कुनै पनि उम्मेदवारले तडकभडक र उग्र रूपमा प्रचारप्रसार गरेका छैनन्, जे छ सामाजिक सञ्जालमै छ,’ उनले भने, ‘सभा, सम्मेलन र माइकिङ मात्र नगर्दा पनि चुनाव शान्त हुँदोरहेछ ।’ धेरै उम्मेदवारले घरदैलोलाई नै प्राथमिकता दिएख पनि मतदाता अहिलेसम्म अन्योलजस्तै रहेको उनले बताए । 

अहिले धेरै मतदाता मौन बसेका छन् । नयाँका गतिविधि नियाल्ने र पुरानालाई यसअघिका प्रतिबद्धता सम्झाउने क्रममा मतदाता छन् । त्यसैले गाउँघर अहिले सुनसानजस्तै रहेको देवदह नगरपालिका–१ की वडा सदस्यसमेत रहेकी लक्ष्मीदेवी विकले बताइन् । ‘सबै पार्टीका उम्मेदवार एकदम अनुशासित देखिन्छन्,’ उनले भनिन्, ‘हामीहरूले को कस्तो छ भनेर बुझ्दै छौं, त्यसपछि बल्ल रोज्ने हो ।’ देवदहको दक्षिणी क्षेत्र र सिंगो निर्वाचन क्षेत्रकै पूर्वी दक्षिणी क्षेत्र विपन्न र मधेसी समुदायको बढी मत रहेको क्षेत्र हो । प्रायः दलहरूले तिनै क्षेत्रका मतदातालाई प्रभावित गर्ने प्रयास हरेक निर्वाचनमा हुने गरेको छ । 

पूर्व नगर प्रमुख भएकै बेलादेखि जनस्तरमा भिजेका नेता हुन्– कांग्रेसका खत्री । उनी देवदह नगरपालिकासँगै क्षेत्रमै परिचित भएकाले जितका लागि अप्ठ्यारो नभएको दाबीसहित मैदानमा छन् । एमालेका न्यौपानेले पनि प्रदेश सभामा निर्वाचित हुँदा गरेका कामका फेहरिस्तसहित मतदाता रिझाउँदै छन् । यी दुवै नेता त्यस क्षेत्रका शालिन नेता रहेको वडा सदस्य विकले बताइन् ।

रास्वपाले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहको सचिवालयमा रहेर सल्लाहकारको काम गरिरहेका इन्जिनियर सुनिल लम्साललाई मैदानमा उतारेको छ । उनी तिलोत्तमा नगरपालिका–७ का हुन् । रास्वपा अघिल्लो निर्वाचनमा प्राप्त गरेको मतलाई जोगाउँदै अहिलेको बदलिएको समीकरणको फाइदा लिने दाउमा छ । ‘राजनीतिक परिवर्तनको अर्थ केवल संरचना बदल्नु होइन, निर्णय गर्ने तरिका सुधार्नु पनि हो,’ उनले भने, ‘कानुनको सम्मान, प्रक्रियाको पालना र सार्वजनिक हितलाई केन्द्रमा राख्ने अभ्यासबाट मात्र विश्वसनीय शासन सम्भव हुन्छ । यही नै मेरो मुख्य जिम्मेवारी हो ।’ 

यस पटक २०७९ को निर्वाचनमा उपविजेता बनेका घनश्याम भुसाल चुनावी मैदानमा छैनन् । तर, नेकपा (संयुक्त)बाट तिलोत्तमाका रामचन्द्र भट्टराई उम्मेदवार छन् । त्यसबाहेक जनमत पार्टीबाट उम्मेदवार बनेकी निलुकुमारी चौधरीको प्रभाव पनि यस क्षेत्रमा राम्रो छ । तर, मुख्य प्रतिस्पर्धीका रूपमा एमाले, कांग्रेस र रास्वपा नै देखिएका छन् । 

रूपन्देही–१ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाका वडा नम्बर १, ३, ४, ५ र ६ समावेश छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully