नेता खतिवडाले कम्युनिष्ट आन्दोलनको रक्षा नगरी समाजवादको दिशामा पुग्न नसकिने भन्दै समाजवाद जनताको जीवनस्तर परिवर्तन गर्ने लक्ष्यसहितको मार्ग भएको बताए ।
What you should know
हेटौंडा — नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी नै भएको दाबी गरेका छन् ।
सोलु–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उनले विचार, सिद्धान्त र समाजवादको लक्ष्यमा आधारित नेपाली कम्युनिष्ट पार्टी नै कम्युनिष्ट आन्दोलनको मूलधार भएको बताएका हुन् ।
‘आजको कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी हो, अरु कोही होइन, हिजोका चुनावले कुनै एउटा दललाई बढी जनमत दियो होला, त्यो चुनावको संयोग हो । तर आजको नेपाली कम्युनिष्ट पार्टी विचारको संयोग हो । सिद्धान्तको संयोग हो र भावी दिनमा समाजवादको लक्ष्य प्राप्त गर्नको निन्ति दौडने शक्तिको संयोग हो,' उनको भनाइ छ, 'यो तपाईं/हाम्रो इज्जतको, प्रतिष्ठाको र देशको राष्ट्रिय शक्ति वृद्धि गर्ने कुराको संयोग हो । यही कुरालाई बुझेर तपाईंहरु गाउँमा चुनावमा जानुहुनेछ ।'
उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै आफूलाई क्रान्तिकारी दाबी गर्ने शक्तिहरुले साम्राज्यवादी शक्तिको आडमा जेन–जी आन्दोलनलाई दुरुपयोग गरेको आरोप लगाए । साम्राज्यवादी शक्तिको आडमा राष्ट्रिय शक्ति, जनताको एकता र देशभक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेको उनको दाबी छ । यस्ता शक्तिहरूप्रति सचेत नहुँदा कम्युनिष्ट आन्दोलन सही दिशामा अघि बढ्न नसक्ने उनको भनाइ छ ।
'युवा विद्रोहमा मिसिएका केही निला स्यालहरु छन्, निला स्यालहरु । मै हुँ क्रान्तिकारी भनेर देखा पर्ने यस्ता स्यालहरु साम्राज्यवादका पिछलग्गु बनेर अहिले समाजमा छटपटाइरहेका छन् । नेपालको राष्ट्रिय शक्तिलाई, नेपाली जनताको शक्तिलाई, देशभक्तिको शक्तिलाई छिन्नभिन्न पार्ने गरी अगाडि बढिरहेका छन् । विचारहीनहरु, दृष्टिकोणहीनहरु, सिद्धान्तहीनहरु, पश्चिमाहरुको पिछलग्गु बन्नेहरु आज दोडेको तपाईंहरु देख्न सक्नुहुनेछ । यसलाई सावधानी नराखीकन हाम्रो गन्तव्य ठीक बाटोमा जान सक्दैन,' उनले भने ।
नेता खतिवडाले कम्युनिष्ट आन्दोलनको रक्षा नगरी समाजवादको दिशामा पुग्न नसकिने भन्दै समाजवाद जनताको जीवनस्तर परिवर्तन गर्ने लक्ष्यसहितको मार्ग भएको बताए । 'देशको कम्युनिष्ट आन्दोलनको रक्षा नगरी हामी समाजवादको दिशामा पुग्न सक्दैनौँ । समाजवाद जनताको मनको, जनताको जीवनस्तरको परिवर्तन गर्ने लक्ष्यको बाटो हो । हामी जहिल्यै पनि विचारसहित विकासको पक्षमा छौं ।’
उनले नेपाली कम्युनिष्ट पार्टीले देशको प्रतिष्ठा र जनताको सम्मान वृद्धि गर्ने काम गरिरहेको बताए ।
