महिला उच्च पदमा पुगे पनि दलभित्र सरकार बनाउने हैसियत बनाइसकेका छैनन् : हिसिला यमी

हाल महिला प्रधानमन्त्रीको नेतृत्वमा देश निर्वाचनतर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले संकटको समयमा महिला नेतृत्व सक्षम भएको प्रमाणित भइसकेको उल्लेख गरिन्।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

Even though women have reached high positions, they have not yet established the status of forming a government within the party: Hisila Yami

What you should know

काठमाडौँ — पूर्वमन्त्री हिसिला यमीले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशजस्ता उच्च तहका पदमा महिलाले नेतृत्व गरिसके पनि राजनीतिक दलभित्र सरकार बनाउने हैसियतका महिला नेता अझै उत्पादन हुन नसकेको बताएकी छन् ।

‘वर्ल्ड  अफ वेमेन म्यागजिन’ र ‘प्रोजेक्ट अभय तथा सी–लिङ्स’को संयुक्त आयोजनामा काठमाडौंमा शनिबार आयोजित  ‘राजनीतिमा संरचनात्मक अवरोधः महिला शक्ति र राजनीतिक संरचना’ विषयक खुला संवाद कार्यक्रममा बोल्दै उनले राज्य संरचनामा महिलाको उपस्थिति देखिए पनि पार्टी नेतृत्व तहमा महिलालाई स्थापित गर्न नसकिएको उल्लेख गरिन्।

नेपाल दक्षिण एसियामै महिला नेतृत्वका दृष्टिले अगाडि रहेको देश भएको उल्लेख गर्दै उनले सरकार निर्माण गर्ने तहमा भने महिला नेता नदेखिनु गम्भीर संरचनात्मक समस्या भएको उनको भनाइ छ।

‘संविधानले महिला सहभागितालाई सुनिश्चित गरे पनि दलहरूको आन्तरिक संरचना अझै पुरुषकेन्द्रित छ’, यमीले भनिन्, ‘पार्टीभित्रै महिला नेतालाई अघि बढ्न नदिने संरचनागत अवरोध कायमै छन्।’

हाल महिला प्रधानमन्त्रीको नेतृत्वमा देश निर्वाचनतर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले संकटको समयमा महिला नेतृत्व सक्षम भएको प्रमाणित भइसकेको उल्लेख गरिन्। 

यमीले वर्तमान सरकारका मन्त्रीहरू पार्टीसँग आबद्ध हुँदा निस्काशन गरेर सुशासन र निष्पक्षतालाई बलियो बनाएको समेत दाबी गरिन्। यस्तो अभ्यासले दीर्घकालीन रूपमा संस्थागत सुधारमा योगदान पुर्‍याउने उनको भनाइ थियो । 

त्यस्तै महिला मुद्दा उठाउँदा केवल महिलालाई मात्र होइन, उत्पीडनमा परेका पुरुषहरूलाई पनि साथमा लिनुपर्नेमा जोड दिँदै लैंगिक समानतालाई साझा एजेन्डाका रूपमा अघि बढाउनुपर्ने धराणा राखिन्।

अब पार्टी र राज्यका सबै शक्ति संरचनामा महिलाको अर्थपूर्ण उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै यमीले भविष्यमा सेना प्रमुख पनि महिला नियुक्त गर्नुपर्ने आवश्यकता औंल्याइन्।

आर्थिक अधिकार अझै पनि पुरुषको नियन्त्रणमा रहेकाले महिलाहरू राजनीतिक नेतृत्वमा पछाडि परेको उनको बुझाइ छ।

कान्तिपुर

Link copied successfully