क्षेत्र झापा–५ का जनता जागरूक छन्, त्यहाँ पपुलिजमको प्रभावमा पर्दैनन् : एमाले महासचिव पोखरेल

महासचिव पोखरेलले भने, '‘विगतमा २७ प्रतिशत लोकप्रिय मत थियो, यसपटक ३०–३४ प्रतिशत पुग्ने अनुमान छ। मत विभाजनका कारण बहुमत वा सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना उच्च छ।’

माघ १६, २०८२

कान्तिपुर संवाददाता

People of Jhapa-5 are aware, they are not influenced by populism: UML General Secretary Pokharel

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताएका छन्। उनले अहिले घोषणापत्र तयार पार्ने काम तीव्र रूपमा भइरहेको पनि बताए।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले व्यक्तिवादी वा सामाजिक सञ्जालमा आधारित पपुलिजमलाई चुनौती दिँदै चुनावलाई एजेन्डा र कार्यक्रमको बहस बनाउनुपर्ने बताए। सामाजिक सञ्जालमा आधारित घृणा र पपुलिजम लोकतन्त्रका लागि ठूलो चुनौती भएको उल्लेख गर्दै उनले लोकतन्त्र संवादको प्रणाली भएकाले चुनावलाई नीति र कार्यक्रमको बहसमा केन्द्रित गर्नुपर्ने बताए। उनले भने, ‘व्यक्तिवादी वा अनुहारमा आधारित विकल्प लोकतान्त्रिक होइन। वास्तविक विकल्प एजेन्डाबाट निर्धारण हुन्छ, अनुहार पुरानो हो वा नयाँ हो भन्ने कुराले होइन।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनावी क्षेत्र झापा–५ का जनता जागरूक रहेको र त्यहाँ पपुलिजमको प्रभावमा नपर्ने पार्टीको विश्लेषण रहेको बताए। आफू उठेको दाङमा पनि राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्न शंकर पोखरेललाई जिताउने निष्कर्षमा जनता पुगेको महसुस आफूले गरेको दाबी गरे। उनले भने, ‘अहिले कामले गति लिएको छ, दाङका जनता आशावादी छन्।’

महासचिव पोखरेलले भदौ २३/२४ को घटनालाई हेर्ने दृष्टिकोणमा एमाले एक्लो तर बलियो रहेको दाबी गर्दै चुनावमा एमाले पहिलो हुने दाबी गरे। उनले भने, ‘विगतमा २७ प्रतिशत लोकप्रिय मत थियो, यसपटक ३०–३४ प्रतिशत पुग्ने अनुमान छ। मत विभाजनका कारण बहुमत वा सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना उच्च छ।’

कान्तिपुर संवाददाता

Link copied successfully