३ मुख्य निर्वाचन अधिकृत र १८ निर्वाचन अधिकृत महिला

बागलुङ, मकवानपुर र सिन्धुपाल्चोकका मुख्य निर्वाचन अधिकृतमा महिला, काठमाडौंमा मात्रै ९ निर्वाचन अधिकृत महिला

माघ १६, २०८२

प्रकृति दाहाल

3 Chief Electoral Officers and 18 Electoral Officers are women

What you should know

काठमाडौँ — बागलुङ जिल्ला अदालतकी सीता शर्मा अधिकारी अचेल इजलासमा जाँदिनन् । बरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्छिन्, कहिले मतदानस्थलतिर हुन्छिन् ।

मुख्य निर्वाचन अधिकृतको भूमिकामा रहेकी उनलाई बागलुङ–१ मा प्रतिनिधिसभा निर्वाचन गराउनुका साथै जिल्लाभित्र निर्वाचनसम्बन्धी सुपरिवेक्षण र अर्को निर्वाचन क्षेत्र बागलुङ–२ का निर्वाचन अधिकृतसँग समन्वय गर्ने जिम्मेवारी छ । 

अधिकारीले २५ पुसमा मुख्य निर्वाचन अधिकृतको नियुक्ति पाएपछि चितवन पुगेर दुई दिन तालिम लिएकी थिइन् । त्यसपछि बागलुङ फर्किएर २ माघमा जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिन् ।

त्यस कार्यालयले निर्वाचनसम्बन्धी प्रशासनिक तथा प्राविधिक कार्य सञ्चालन गर्छ । मतदान गराउन योग्य कर्मचारी छनोट र खटनपटन पनि उनको मुख्य दायित्व हो । ‘कस्ता कर्मचारीलाई कहाँ खटाउने भनेर गृहकार्य गरिरहेकी छु,’ उनले भनिन् । 

बागलुङ–१ मा ११५ मतदानस्थल छन् । ती सबै मतदानस्थलको अवस्था पनि अधिकारीले आफैं फिल्डमा गएर बुझिरहेकी छन् । भौगोलिक रूपमा विकट क्षेत्र भएका कारण कतिपय मतदानस्थलमा सडक पहुँच छैन । त्यस्ता स्थानमा उनी पैदल हिँडेरै अनुगमनमा पुग्ने गरेकी छन् । ‘मतदान केन्द्रको अवस्था कस्तो छ भनेर निरन्तर निरीक्षण गरिरहेकी छु,’ उनले भनिन् । २०७४ मा लमजुङको राइनास नगरपालिकामा निर्वाचन अधिकृतको अनुभव लिएकी थिइन् । 

इजलासमा मुद्दा हेर्ने व्यक्ति निर्वाचन गराउने संवेदनशील जिम्मेवारीमा आउँदा निष्पक्षता र तटस्थता अझ महत्त्वपूर्ण हुने अधिकारी बताउँछिन् । यही कारण न्याय सेवाका कर्मचारीलाई निर्वाचनको जिम्मेवारी दिइने गरेको उनको बुझाइ छ । अधिकारी २१ फागुनको निर्वाचन सकिएपछि मात्र अदालतको नियमित काममा फर्कनेछिन् । 

जिल्लामा एक–एक गरी ७७ मुख्य निर्वाचन अधिकृत छन्, जसमा महिला भने तीन जना मात्रै छन् । अधिकारीका अलावा मकवानपुर जिल्ला अदालतकी जिल्ला न्यायाधीश गीता श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला अदालतकी न्यायाधीश रीताकुमारी बख्रेलले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका हुन् ।

मुख्य निर्वाचन अधिकृतले सदरमुकाम रहेको निर्वाचन क्षेत्रमा चुनाव गराउने र जिल्लाका अन्य निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतसँग समन्वय गर्ने जिम्मेवारी हुन्छ । मकवानपुरमा श्रेष्ठले मकवानपुर–१ र बख्रेलले सिन्धुपाल्चोक–१ हेर्नुपर्छ, ती क्षेत्रमा छुट्टै निर्वाचन अधिकृत हुँदैनन् । 

यसपालि १८ निर्वाचन अधिकृत महिला छन् । उनीहरूले सम्बन्धित निर्वाचन क्षेत्र हेर्नुपर्छ । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ९ वटामा निर्वाचन अधिकृत महिला छन् । काठमाडौं–१ भने मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला न्यायाधीश चुरामन खड्काकै जिम्मामा छ । 

काठमाडौं–२ मा शान्ति न्यौपाने, काठमाडौं–३ मा चमिला भट्टराई, काठमाडौं–४ मा मा कृष्णा भण्डारी, काठमाडौं–५ मा श्रद्धा रिजाल र काठमाडौं–६ मा चपला पोखरेल निर्वाचन अधिकृत छन् । काठमाडौं–७ मा सविता शर्मा, काठमाडौं–८ मा सम्झना खनाल, काठमाडौं–९ मा मेनुका घिमिरे र काठमाडौं–१० मा अमृताकुमारी शर्मालाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

ललितपुरमा पनि ३ निर्वाचन क्षेत्रमध्ये दुई वटामा निर्वाचन अधिकृत महिला छन् । ललितपुर–१ मा इशा सुवेदी र ललितपुर–२ मा सम्झना सिम्खडा पुडासैनी निर्वाचन अधिकृत छन् । ललितपुर–३ भने मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले नै हेर्छन् ।

भक्तपुर–२ मा राधिका सुवाल, पर्सा–४ मा नूतन झा, सिन्धुली–१ मा निमा घिमिरे, कास्की–१ मा सीता रेग्मी, कास्की–२ मा निर्मलाकुमारी खड्का, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा इन्दुदेवी न्यौपाने र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा सीता अधिकारीले निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका छन् । 

ललितपुर–१ की निर्वाचन अधिकृत इशा सुवेदीले नयाँ जिम्मेवारीलाई आफूले नेतृत्व क्षमता विकास गर्ने अवसरका रूपमा लिएको बताइन् । सर्वोच्च अदालतकी इजलास अधिकृत उनी पहिलो पटक निर्वाचन अधिकृत भएकी हुन् ।

सुवेदीले २ माघमा गोदावरी नगरपालिकाको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरेकी छन् । यस क्षेत्रमा एक सय मतदान स्थल छन् । सुवेदी मतदान स्थलको अनुगमन, निरीक्षणमा व्यस्त छिन् । भन्छिन्, ‘आचारसंहिता पालना भइरहेको पाएका छौं, सुरक्षा निकायसँग पनि राम्रो समन्वय भइरहेको छ ।’

भक्तपुर–२ की निर्वाचन अधिकृत राधिका सुवाल दोलखा जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता हुन् । उनले पनि पहिलो पटक निर्वाचन अधिकृतको जिम्मेवारी पाएकी हुन् । यस क्षेत्रमा ३९ मतदानस्थल छन् । ‘म तटस्थ भएर कानुनअनुसार निर्वाचन गराउन प्रतिबद्ध छु,’ सुवाल भन्छिन् ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०८२’ मा आयोगले निर्वाचन प्रक्रिया सञ्चालन तथा व्यवस्थापनका लागि न्याय परिषद्को परामर्शमा प्रत्येक जिल्लामा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोक्ने र न्याय सेवा आयोगको परामर्शमा न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ ।

मुख्य निर्वाचन अधिकृतलाई जिल्लाभित्रका सम्पूर्ण निर्वाचन गतिविधिको समन्वय, अनुगमन, कर्मचारी व्यवस्थापन र आचारसंहिता कार्यान्वयन गर्ने जिम्मेवारी हुन्छ । निर्वाचन सम्पन्न भएपछि एकीकृत प्रतिवेदन आयोगमा पेस गर्नु पनि उनीहरूको जिम्मेवारीमा पर्छ । निर्वाचन अधिकृतका लागि मतदान केन्द्रको सूची प्रकाशन, कर्मचारी खटनपटन, मतपत्र तथा सामग्री व्यवस्थापन, मतदान र मतगणनाको निगरानी, परिणाम घोषणा तथा विवरण आयोगमा पठाउने जिम्मेवारी छ ।

निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीशले उम्मेदवारको योग्यता–अयोग्यता, दाबी–विरोधजस्ता विषयमा निर्णय गर्नुपर्ने हुनाले ऐन–कानुन बुझेर काम गर्न सक्ने न्याय सेवा पृष्ठभूमिका कर्मचारीलाई निर्वाचन अधिकृतमा प्राथमिकता दिने गरिएको बताइन् । ‘त्यस्ता कर्मचारी अभाव भए अन्य निकायका कर्मचारीलाई जिम्मेवारी दिने गरिएको छ,’ उनले भनिन्, ‘न्याय परिषद्बाट प्राप्त नामका आधारमा निर्वाचन अधिकृतमा केही महिला खटाइएको हो ।’

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully