रामेछापका पाका मतदाता दिक्क, नयाँमा उत्साह र भरोसा मनग्य

नेताहरूको जीवनशैलीमा आमूल परिवर्तन आएको देखिए पनि आम नागरिकको जीवन भने उस्तै अवस्थामा रहेको ८४ वर्षीय डम्बरबहादुर कार्कीको अनुभव  ।

माघ १५, २०८२

नवराज श्रेष्ठ

Ramechhap's old voters are fed up, but there is great enthusiasm and trust in the new ones.

What you should know

रामेछाप — आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको रौनकले रामेछाप नगरपालिका–७, सुकाजोरका डम्बरबहादुर कार्कीलाई खासै छोएको छैन । उमेरले ८४ वर्ष नाघिसकेका कार्की २००७ सालपछिका राजनीतिक परिवर्तनका प्रत्यक्ष साक्षी हुन् । पटक–पटक भएका निर्वाचनमा भोट हालेको अनुभव भए पनि यसपटक उनीभित्र न उत्साह छ, न आशा नै ।

'यो निर्वाचनले केही हुनेवाला छैन,' कार्की भन्छन्, 'उही रमाइलो मात्रै हो । नेताहरू यो गर्छु, त्यो गर्छु भनेर भोट माग्न आउँछन् । जितेर गएपछि काम शून्य हुन्छ । आफ्नो दुःख आफ्नैसँग छ । जो आए पनि केही हुनेवाला छैन ।'

२००७ सालपछिका हरेक निर्वाचनमा सहभागी भए पनि भोट माग्न आउने नेताहरूले गरेका प्रतिबद्धता व्यवहारमा नउतारेको उनको गुनासो छ । नेताहरूको जीवनशैलीमा आमूल परिवर्तन आएको देखिए पनि आम नागरिकको जीवन भने उस्तै अवस्थामा रहेको कार्की बताउँछन् ।

रामेछाप नगरपालिका–७ कै युवा सचिन महतारा भने यो निर्वाचनलाई लिएर निकै उत्साहित छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी पहिलो पटक मताधिकार प्रयोग गर्दै छन् । यसअघिका निर्वाचनका बेला रोजगारीका सिलसिलामा विदेशमा रहेका महतारा यसपटक भने राम्रो एजेन्डा बोकेका र युवा उम्मेदवारलाई मत दिनकै लागि स्वदेश फर्किएकाे बताए ।

'पहिला पनि निर्वाचन हुन्थे, तर कहिले भोट हाल्ने चाहना जागेन, धेरै समय विदेशमै थिएँ,' उनी भन्छन्, 'अब भने पुरानाभन्दा नयाँ र युवालाई जिताउन मेरो मत हुनेछ ।' पुराना पार्टी र पटक–पटक दोहोरिएका उम्मेदवारलाई होइन, यसपटक नयाँ पार्टी र युवा नेतृत्वलाई निर्वाचित गराएर देश विकासको अवसर दिनुपर्नेमा उनको जोड छ । 'युवाले नेतृत्व पाए मात्र देशमा परिवर्तन सम्भव छ । अबको निर्वाचन पुराना अभ्यास तोड्ने अवसर पनि हो,' उनले भने ।Ramechhap's old voters are fed up, but there is great enthusiasm and trust in the new ones.

मन्थली नगरपालिका–९, पुरानागाउँकी ५० वर्षीया तारादेवी श्रेष्ठलाई अहिले उदाएका नयाँ पार्टी र युवा नेताहरूमाथि पनि खासै भरोसा छैन । उनी भन्छिन्, 'खै, अहिले आएका नयाँ पार्टी र युवाहरू पनि उस्तै होलान् जस्तो लाग्छ । उनीहरूबारे पनि यस्तो–उस्तो भनेर रेडियोमा समाचार सुनिन्छ । त्यसैले सबै उस्तै हुन् कि भन्ने लाग्छ ।' निर्वाचन नजिकिँदै गर्दा पनि यो निर्वाचनपछि देशको अवस्था राम्रो हुन्छ भन्ने विश्वास आफूमा नजागेको श्रेष्ठको भनाइ छ । 'सबैले देशका लागि भन्दा पहिले आफ्नै स्वार्थ हेर्छन्,' उनी भन्छिन्, 'त्यसैले जो आए पनि जनताको दुःख उस्तै रहने डर छ ।'

प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्रै रहेको रामेछापमा तीन जना स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारहरू आ-आफ्नो निर्वाचन चिह्न लिएर मतदातामाझ गइरहेका छन् । यो निर्वाचनको उत्साह युवा मतदातामा बढी देखिएको छ । प्रतिनिधिमूलक केही मतदाताको भनाइ सुन्दा उमेर ढल्किसकेका मतदाताले यो निर्वाचनलाई गएका निर्वाचन जस्तै आउने जाने रूपमा लिएका छन् भने युवाहरूमा यो निर्वाचनले देशमा ठूलो परिवर्तन ल्याउनले उत्साह देखिएको छ । 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यो निर्वाचनमा जिल्लाभर कुल १ लाख ८७ हजार ९५२ मतदाता कायम छन् । जिल्लाभर ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully