यसपटक कांग्रेससहित विभिन्न दल र स्वतन्त्र गरी जिल्लामा १३ जना उम्मेदवार मैदानमा छन् । देउवाको अनुपस्थितिले चुनावी प्रतिस्पर्धा खुला भएको र यसले परिणाम अनिश्चित बनाएको स्थानीय बासिन्दा बताउँछन् ।
What you should know
डडेल्धुरा — सरकारले निर्वाचन घोषणा गर्नासाथ अरु दलबाट फरक व्यक्ति उम्मेदवार घोषणा भए पनि नेपाली कांग्रेसबाट शेरबहादुर देउवा नै उम्मेदवार हुनेमा यहाँका बासिन्दा ढुक्क थिए । जिल्लामा तीन दशकदेखि देउवाको एकछत्र प्रभाव छ । तर, यसपटक देउवाले टिकट पाएनन् ।
देउवा ‘टिकट वितरण गर्ने’ स्थानबाट एकाएक ‘टिकट पाउने’ अवस्थामा पुगेपछि उनको अवस्था फेरिएको हो । उनले टिकट पाएनन् । ‘विश्राम लिने’ तय भयो । त्यसपछि जिल्लाको माहोल नै फरक देखिएको छ ।
डडेल्धुरामा यसपटक देउवा उम्मेदवार छैनन् । उनको ठाउँमा कांग्रेसका युवा नेता नैनसिंह महर प्रतिस्पर्धामा छन् । चुनावी मैदानमा देउवा नभएपछि मतदाताले कसलाई भोट हाल्ने होला भनेर सोच्न थालेका छन् ।
स्थानीयका अनुसार यसअघिका चुनावमा कांग्रेसबाट देउवा मैदानमा उत्रिने, जिल्लाभर उनको पक्षमा प्रचारप्रसार हुने र अन्ततः नतिजा पनि उनकै पक्षमा हुने गरेको थियो । डडेल्धुरा एउटा निर्वाचन क्षेत्र हो । देउवाजस्तो स्थापित र लगातार जित्दै आएका नेताको स्थानमा नयाँ अनुहार आउँदा मतदातामा उत्साह र भरोसासँगै केही अन्योल पनि देखिएको छ ।
यसपटक चहलपहल सामान्य छ । यसअघि निर्वाचनका बेला देउवाको ‘क्रेज’ देखिन्थ्यो । यसपटक कांग्रेसले फरक उम्मेदवार अघि सारेपछि अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार पनि उत्साहित देखिएका छन् ।
यसपटक कांग्रेससहित विभिन्न दल र स्वतन्त्र गरी जिल्लामा १३ जना उम्मेदवार मैदानमा छन् । देउवाको अनुपस्थितिले चुनावी प्रतिस्पर्धा भने खुला भएको र यसले परिणाम अनिश्चित बनाएको स्थानीय बासिन्दा बताउँछन् ।
अमरगढीका स्थानीय दिपेश ऐरका अनुसार मतदातामा अपेक्षा र असन्तुष्टि दुवै देखिन्छ । कतिपयले कांग्रेसले युवा उम्मेदवार बनाउनु सकारात्मक भएको बताउँछन् । कोही भने युवा भए पनि पुरानै सोच बोकेर आएको खण्डमा राम्रो नहुने बताउँछन् । ‘पहिले देउवा उठ्ने भएपछि कसले के गर्छ भन्ने कुरा नै हुँदैनथ्यो,’ उनले भने, ‘कांग्रेस जित्ने लगभग निश्चितजस्तै लाग्थ्यो ।’ पहिलो पटक जिल्लामा सबै दललाई चुनाव जित्ने बराबर मौका बनेको उनले बताए । यसअघि जिल्लाले प्रधानमन्त्री पाउने आसमा कतिपयले देउवालाई भोट दिने गरेको उनको भनाइ छ ।
कतिपय मतदाताले यसपालिको चुनावलाई पुराना दलमाथि प्रश्न गर्ने अवसरका रूपमा पनि लिएका छन् । लामो समयसम्म सत्ता र अवसरमा रहे पनि ठूला दलले जनताको अपेक्षाअनुसार विकास र रोजगारी दिन नसकेको भागेश्वर गाउँपालिका–४ का देवेन्द्र चटौतले बताए । ‘देउवालाई पटक–पटक जिताएको इतिहास छ र उनको विश्राम लिने निर्णय स्वाभाविक तथा राम्रो हो ।’
यसपटक पनि आस्था र विश्वास भएको ठाउँमा मतदान गर्ने उनले बताए । पश्चिम सेती, पञ्चेश्वर परियोजना, जिल्लामा प्रदेश राजधानी बनाउने जस्ता ठूला आश्वासन र मुद्दाका आधारमा चुनाव जित्दै आएको पुरानो परिपाटी अब बदलिनुपर्ने उनको भनाइ छ । ‘मतदाताले ठूला नामभन्दा पनि वास्तविक रूपमा काम गर्ने प्रतिनिधिलाई भोट हाल्ने सोच बनाइरहेका छन्,’ उनले भने ।
परशुराम नगरपालिकाका स्थानीय सुरेन्द्रबहादुर बोहराले देउवाले डडेल्धुका लागि सडक, शिक्षा, पुलपुलेसा लगायत भौतिक निर्माणका क्षेत्रमा केही प्रयास गरे पनि किसानका लागि ठोस काम गर्न नसकेको बताए । किसानमाथि लगानी नगर्दा स्वरोजगारमा प्रत्यक्ष असर गरेको उनले बताए । किसानले उत्पादन गरेका तरकारी, अन्न र अन्य कृषि उपज बिक्रीका लागि बजार अभाव सबैभन्दा ठूलो समस्याका रूपमा रहेको उनले बताए । ‘उत्पादन हुन्छ, तर बेच्ने ठाउँ र उचित मूल्य मिल्दैन,’ उनले गुनासो गरे, ‘नयाँ प्रतिनिधिले किसानको हितलाई प्राथमिकतामा राखून् ।’
जिल्लामा देउवाको योगदानलाई अस्वीकार गर्ने मतदाता कमै भेटिन्छन् । भागेश्वर–२ का हेमराज जोशी देउवाका कारण जिल्लामा विकास निर्माण सम्भव भएको सुनाउँछन् । ‘सडकको पहुँच पुर्याउन र जिल्लालाई पहिचान दिन देउवाको योगदान छ,’ उनले भने, ‘उहाँले विश्राम लिइसक्नु भयो, हामी पनि के गर्ने भन्ने अन्योलमा छौं ।’ यसपटकको निर्वाचन उम्मेदवार छनोटको विषय मात्र नभएर लामो समयदेखिको राजनीतिक अभ्यासको समीक्षा गर्ने अवसर भएको उनीहरू बताउँछन् ।
