सिन्धुपाल्चोक–२ मा चौतारा साँगाचोकगढी नगरपालिकाका नौ वडा, मेलम्ची नगरपालिका, इन्द्रावती, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका समेटिएका छन् ।
What you should know
सिन्धुपाल्चोक — यसपटक सिन्धुपाल्चोक–२ मा नयाँ र पुराना उम्मेदवारबीच मतदाता आकर्षिक गर्ने होडले चुनावी रौनक थपिएको छ । उक्त निर्वाचन क्षेत्रमा एमालेबाट पूर्वमन्त्री शेरबहादुर तामाङ उम्मेदवार छन् । उनीसित कांग्रेसका वंशलाल तामाङ र नेपाली कम्युनिस्ट पार्टीबाट ४३ वर्षका युवराज दुलाल प्रतिस्पर्धामा छन् । राप्रपा र रास्वपाले क्रमशः इन्जिनियर गोपीकृष्ण चौलागाईं र झलककुमार श्रेष्ठलाई उम्मेदवार बनाएका छन् ।
पूर्व कानुनमन्त्री तामाङ ०५६ सालबाट यही क्षेत्रमा निर्वाचन लड्दै आएका अनुभवी नेता हुन् । कांग्रेसका वंशलाल पहिलोपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हुन् । नेकपाका दुलाल निवर्तमान प्रदेशसभा सदस्य हुन् । ०७९ सालको निर्वाचनमा राप्रपा अध्यक्ष पशुपतिशमशेरलाई पराजित गर्दै तामाङ दोस्रोपटक सांसद बनेका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित तामाङ ०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
विद्यालय स्तरबाटै माले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध तामाङ ०५४ सालमा एमाले जिल्ला सचिव भएका थिए । उनी पूर्व एमाले बागमती अञ्चल र केन्द्रीय सदस्य हुन् । उनले यसअघि सडक, खानेपानीजस्ता पूर्वाधार विकासका काम गरेका थिए । यसपटक उनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई एजेन्डा बनाएका छन् । ०६३ सालमा गुम्बा विकास समितिका सदस्य सचिव बनेका तामाङ ०७९ प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका मोहनबहादुर बस्नेतसँग पराजित भएका थिए ।
उक्त चुनावमा बस्नेतले ३९ हजार ३ सय ६७ र तामाङले २७ हजार ४ सय ९३ मत प्राप्त गरेका थिए । यसपालि बस्नेतको स्थानमा कांग्रेसबाट वंशलाल उम्मेदवार बनेका छन् । नेकपाबाट दुलालले कडा टक्कर दिइरहेका छन् । वंशलाल ०७४ सालमा ईन्द्रावती गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका राष्ट्रिय महासंघका पूर्वमहासचिव उनले नेपाल विद्यार्थी संघ हुँदै राजनीतिको सुरुवात गरेका थिए । नेविसंघका संस्थापक जिल्ला सदस्य रहेका उनी ०४६ को प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए ।
०४२ सालमा काठमाडौंमा तत्कालीन पञ्चायतविरुद्ध शान्तिपूर्ण सत्याग्रहमा सहभागी थिए । ०४६ देखि ०४८ सालसम्म नेविसंघ जिल्ला अध्यक्ष बने । ०४६ सालमै कांग्रेस जिल्ला सदस्य हुँदै जिल्ला सचिवसम्म बने । वंशलालले जिल्लामा नयाँ युगको सुरुआत गर्ने र शिक्षा, सडक, खानेपानी, बिजुली, स्वास्थ्य, भौतिक पूर्वाधारजस्ता काम गर्ने एजेन्डा बनाएका छन् ।
कलिलो उमेरमै तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा होमिएका दुलाल यही क्षेत्रबाट दुईपटक बागमती प्रदेशसभा सदस्य पदमा निर्वाचित भइसकेका छन् । ०७४ र ०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (१) बाट प्रतिस्पर्धा गरेर जित हासिल गरेका थिए । ०७४ देखि ०७७ सालसम्म बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र ०७९ देखि ८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरेका थिए ।
आफूले जित प्राप्त गरेमा शिक्षा, स्वास्थ्य, सडकजस्ता पूर्वाधार विकासमा ध्यान दिने उलने बताए । पहिले गरेका सबै वाचा पूरा गरेको उनको दाबी छ ।
यसअघि रास्वपाले माया गुरुङलाई उम्मेदवार बनाउने जनाए पनि अन्तिममा टिकट नदिएपछि विवाद चर्किएको थियो । माया प्रसिद्ध पर्वतारोही र रास्वपाकी जिल्ला सभापति हुन् ।
निर्वाचन कार्यालयका अनुसार जिल्लाभर २ लाख ७४ हजार ९ सय ९८ मतदाता छन् । जिल्लाभर १ सय ४६ मतदान स्थल र ३ सय ३८ मतदान केन्द्र रहेका छन् । महिला १ लाख ३१ हजार ६ सय ९६ र पुरुष १ लाख ४३ हजार ३ सय २ मतदाता रहेका छन् । सिन्धुपाल्चोक–२ मा चौतारा साँगाचोकगढी नगरपालिकाका १, ५, ६, ७, ८, ११, १२, १३ र १४ नम्बर वडा, मेलम्ची नगरपालिका, इन्द्रावती, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका समेटिएका छन् । यस क्षेत्रमा ६३ मतदान स्थल र १ सय ६६ केन्द्र रहेका छन् । साथै महिला ६५ हजार ९ सय ७३ र पुरुष ७२ हजार ४० गरी कुल मतदाता १ लाख ३८ हजार १३ रहेका छन् ।
