दलका शीर्ष नेताहरूलाई महिला उम्मेदवारको चुनौती

झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उठेका छन् । यी दुवै नेताविरुद्ध उठेकी कांग्रेसकी मन्धरा चिमोरिया घरदैलोमा व्यस्त छिन् ।

माघ १४, २०८२

मेनुका ढुंगाना

Female candidate challenges top party leaders

What you should know

अछाम — झापा–५, चितवन–२ र रुकुम पूर्वमा दलका प्रमुख र वरिष्ठ नेता उम्मेदवार छन् । उनीहरूविरुद्ध उठेका महिला उम्मेदवारले प्रचार तीव्र बनाएका छन् । झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उठेका छन् । यी दुवै नेताविरुद्ध उठेकी कांग्रेसकी मन्धरा चिमोरिया घरदैलोमा व्यस्त छिन् ।

बहुप्रचारित प्रतिस्पर्धीसित चुनाव लड्नु वैचारिक र नीतिगत बहसको अवसर भएको उनले बताइन् । चिमोरिया स्थानीयस्तरमा सामाजिक गतिविधिमा संलग्न रहँदै आएकी नेता हुन् । विकास, रोजगार, कृषि र सुशासनका मुद्दालाई प्राथमिकतामा राख्दै घरदैलोमा जुटेकी छन् ।

‘कांग्रेसबाट सक्रिय राजनीति गरेको ३५ वर्ष भयो । त्यसअघि पनि सरकारी जागिर गरेको अनुभव छ ।  यत्रो वर्ष मैले सामाजिक सेवामै बिताएकी छु,’ चिमोरियाले भनिन्, ‘हिंसामा परेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न वर्गका लागि काम गरेकी छु । सामाजिक काम नै मेरो जितको आधार हो ।’

निर्वाचन क्षेत्रका लागि शाह नयाँ अनुहार भएको उनले बताइन् । ‘कोही नयाँ मान्छे आउँदा हेर्नेको भीड ठूलो हुन्छ, यसैले उनको माहोल बन्नु स्वाभाविक हो, त्यसलाई अनौठो मान्नु पर्दैन,’ उनले भनिन्, ‘तर यहाँका जनताको सुख–दुःखमा को रहने भन्ने प्रश्न महŒवपूर्ण हो ।’ ओली र बालेन्द्रको विरोध गरेर मात्रै प्रतिस्पर्धी नहुने उनको भनाइ छ । ‘म कसैको विरोध गर्दिनँ, म कमजोर पनि छैन । चर्चित नाम देखेर होइन, मतदाताले यो ठाउँका लागि काम गरेको मान्छेको अवश्य मूल्यांकन गर्नेछन् ।’

२०१९ सालमा जन्मिएकी चिमोरियाले ताप्लेजुङको फुङलिङमा प्रारम्भिक शिक्षा लिइन् । धरानको तत्कालीन बालिका माविबाट ०३७ सालमा एसएलसी उत्तीर्ण गरिन् । क्याम्पस तहको अध्ययन सुरु गरे पनि ०३८ सालदेखि लोक सेवामार्फत निजामती सेवामा काम गरेको अनुभव उनीसँग छ । ०४८ सालदेखि उनी नेपाली कांग्रेसमा सक्रिय भइन् । वडादेखि जिल्ला तहसम्म पार्टी नेतृत्वमा जिम्मेवारी निभाएकी नेताका रूपमा उनी जिल्लामा परिचित छिन् । राजनीतिबाहेक चिमोरिया सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छिन् ।

 चितवन–२ : लामिछानेविरुद्ध खरेल

रास्वपा सभापति रवि लामिछानेको उम्मेदवारीका कारण चितवन–२ चर्चामा छ । यस पटक कांग्रेसले लामिछानेविरुद्ध अनुभवी सामाजिक अगुवा मीना खरेललाई उम्मेदवार बनाएको छ । रास्वपाको गढ मानिएको निर्वाचन क्षेत्रबाट ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन र ०८० मा भएको उपनिर्वाचनमा लामिछाने भारी मतले विजयी भएका थिए ।

खरेल चितवनमा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेकी छन् । महिला तथा बालबालिकाको अधिकार, महिलाको आर्थिक सशक्तीकरण र सामाजिक सेवाका क्षेत्रमा उनले काम गर्दै आएकी छन् । त्यसका लागि स्थानीय समुदायमा लोकप्रिय र विश्वासयोग्य व्यक्तित्वका रूपमा परिचित छिन् । लामिछाने भावनात्मक र परिवर्तनमुखी मत तान्ने प्रयासमा छन् । मीनाले स्थिरता र कांग्रेसको परम्परागत मत सुरक्षित गर्ने प्रयास गरिरहेकी छन् । खरेलले लामिछानेसँग चुनावी प्रतिस्पर्धा गर्न आफूलाई सजिलो महसुस भएको बताइन् ।

‘रवि लामिछानेजीसँग प्रतिस्पर्धा गर्न मलाई अप्ठ्यारो छैन,’ खरेलले भनिन्, ‘मीनालाई कसरी जिताउने भनेर मतदाता प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले उम्मेदवारसँग प्रतिस्पर्धा भइरहेको जस्तो लाग्दैन ।’ चितवन–२ मा ५१ प्रतिशत महिला मतदाता रहेका छन् । यस क्षेत्रसँग आफू ३५ वर्षदेखि जोडिएको खरेलले बताइन् । ‘यो भूगोल, यहाँका समस्या र जनताको चाहना मलाई राम्रोसँग थाहा छ,’ उनले भनिन्, ‘मैले जीवनको लामो समय जसको सेवामा बिताएँ, अहिले उनीहरू नै मेरो प्रचारमा जुटिरहेका छन् ।’

अघिल्लो निर्वाचनमा गठबन्धनका कारण कांग्रेसका मतदाता निरुत्साहित भएको र अहिले भने उत्साहित भएको उनको दाबी छ । ‘गठबन्धन हुँदा आफ्नै पार्टीको चुनाव चिह्नमा मत दिन नपाउँदा मत विभाजन भयो,’ उनले भनिन्, ‘यस पटक कांग्रेस आफ्नै चिह्न र आफ्नै उम्मेदवारसहित चुनाव लड्दा मतदातामा उत्साह देखिएको छ ।’ आफ्नो सामाजिक पृष्ठभूमि पनि चितवन भएकाले जितको आधार बलियो रहेको उनले दाबी गरिन् । ‘१२ सयभन्दा बढी असहाय, महिला, किशोरी र बालबालिकाको उद्धार, संरक्षण र न्यायका क्षेत्रमा काम गरेकी छु,’ खरेलले भनिन्, ‘त्यही सेवाको विश्वास अहिले मतका रूपमा देखिन थालेको छ ।’

रुकुम पूर्वमा पुष्पकमलविरुद्ध कुसुमदेवी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल आफ्नो ‘आधार इलाका’ मा फर्किएपछि रुकुम पूर्व यतिबेला चर्चामा छ । पूर्वप्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस महासमिति सदस्य कुसुमदेवी थापाले चुनौती दिँदै छन् । तत्कालीन माओवादी सशस्त्र युद्धको उद्गम थलोका रूपमा रुकुम पूर्व रहेको छ । माओवादीको परम्परागत आधार क्षेत्रमा कांग्रेस उम्मेदवारका लागि चुनौती हुनु स्वाभाविक भएको कुसुमदेवी बताउँछिन् ।

तर, उनी आफूलाई राजनीतिक रूपमा कमजोर उम्मेदवार भने ठान्दिनन् । निवर्तमान सांसद (राष्ट्रिय सभा) थापाले विकास, सेवा प्रवाह र जनप्रतिनिधिको भूमिकालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाएकी छन् ।

दाहाललाई पूर्वप्रधानमन्त्री भएकै कारण र उनको विगत हेरेर आफूले ‘हेभिवेट’ का रूपमा नहेरेको उनले बताइन् । ‘दाहाललाई म र मेरो पार्टी हेभिवेट मान्दैनौं,’ उनले भनिन्, ‘नाम, इतिहास वा पदको हिसाबले चुनावी नतिजामा फरक पार्दैन । जनताका लागि कसले कस्तो काम ग¥यो भन्ने आधार मुख्य हुन्छ ।’

रुकुम जिल्ला हराएको सूचना भन्दै आफूले संसद्मा आवाज उठाएको उनले बताइन् । ‘रुकुम पूर्वको अस्तित्व खोज्दा दाहाल नै प्रधानमन्त्री हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यसबेला उहाँले वास्ता नै गर्नु भएन ।’ रुकुम पूर्वमा ८० प्रतिशतभन्दा बढी मगर समुदायको बसोबास छ । आफू पनि सोही समुदायबाट प्रतिनिधित्व गर्ने 

भएकाले चुनावी प्रतिस्पर्धा असहज नभएको उनले बताइन् । उनले दाहालको चुनावी शैलीमाथि पनि प्रश्न उठाएकी छन् ।

‘उहाँ चुनाव लड्न सधैं सुरक्षित ठाउँ खोज्नुहुन्छ । वाचा पूरा गर्न सक्नु हुन्न, अनि अर्को चुनावमा फेरि अर्को सुरक्षित ठाउँमा जानुहुन्छ,’ उनले भनिन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, बहुमूल्य जडीबुटीको संरक्षण, संवद्र्धन र प्रशोधन आफ्ना प्रमुख निर्वाचन एजेन्डा भएको उनले बताइन् । २०७९ को प्रतिनिधिसभा चुनावमा समानुपातिक प्रणालीमार्फत कुसुमदेवी सांसद बनेकी थिइन् । उनले ०५२ सालबाट नेविसंघमार्फत सक्रिय राजनीति सुरु गरेकी हुन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully