सामाजिक सञ्जालमा सक्रिय उमेर समूहका देखि वृद्धवृद्धाले समेत आफ्ना सन्तानको भविष्य र मुलुकमा बढ्दै गइरहेको अस्थिरताबाट कसरी निकास पाउने र त्यसका लागि योजना के छन् भनेर उम्मेदवारलाई प्रश्न गरिरहेका छन् ।
परासी — पश्चिम नवलपरासीका दुई निर्वाचन क्षेत्रका उम्मेदवार प्रचारप्रसारका लागि घरदैलोमा पुग्न थालेका छन् । यसरी मत माग्न आएका उम्मेदवारलाई मतदाताले भने पुराना वाचा सम्झाइरहेका छन् ।
अहिले उम्मेदवारहरू नेता–कार्यकर्तासित भेटघाटका साथै घरदैलोमा पुगेर भोट मागिरहेका छन् । निर्वाचन आयोगले फागुन ४ बाट मात्रै सभा, जुलुस र प्रचारप्रसार गर्न मिल्ने जनाएको छ । त्यसैले उम्मेदवारहरू मतदाताको घर–घरमा पुग्ने, समस्या बुझ्ने, यसअगाडि गरेका प्रतिबद्धता पूरा भए/नभएको बारेमा समीक्षा गरिरहेका छन् । तर, मतदाताले भने यस अगाडि गरेका प्रतिबद्धता पूरा गर्न नसक्नुको कारण र आगामी दिनमा काम गर्ने आधार खोजिरहेका छन् ।
सामाजिक सञ्जालमा सक्रिय उमेर समूहका देखि वृद्धवृद्धाले समेत आफ्ना सन्तानको भविष्य र मुलुकमा बढ्दै गइरहेको अस्थिरताबाट कसरी निकास पाउने र त्यसका लागि योजना के छन् भनेर प्रश्न गरिरहेका छन् । ‘उम्मेदवारहरू भेट्न आउने र टोलटोलमा छलफल चलाउने गर्न थालेका छन्,’ बर्दघाट–५ का राजेश श्रेष्ठले भने, ‘मतदाताले अब चुनाव जित्ने मात्र होइन, केन्द्रसम्म पहुँच राखेर बजेट र योजना ल्याउन सक्ने, नयाँ सोच र विचारमा ढल्किन सक्ने जनप्रतिनिधि खोजेका छन् ।’
जिल्लाको दक्षिणी भेगका बासिन्दाको मुख्य पेसा कृषि हो । उनीहरू उखु र केरा खेती गर्दै आएका छन् । भारतीय भित्रिँदा नेपाली किसानको केरा बिक्री नभएर बगानमै कुहिने अवस्था छ । उखु किसानको समस्या उस्तै छ । चिनी मिलले समयमा भुक्तानी नदिने र सरकारले नगदे बाली भनेर घोषणा गरे पनि उचित मूल्य र अनुदान नदिँदा किसान समस्यामा परेका छन् । आश्वासन मात्र दिनेभन्दा उत्पादित बस्तुको बजार ग्यारेन्टी गरिदिने जनप्रतिनिधि चाहिएको उनीहरू बताउँछन् ।
‘हाम्रो आम्दानीको स्रोत उखु खेती हो । समयमै मूल्य तोक्दिने, मल, बीउमा अनुदान दिने र चिनी मिलले नगदमा उखु खरिद गर्ने व्यवस्था मिलाउने उम्मेदवारलाई मतदान गर्ने हो,’ प्रतापपुर–६ का राकेश यादवले भने, ‘अब हामी पार्टीभन्दा पनि जनताको काम गर्न सक्ने उम्मेदवार चुन्छौं ।’
पश्चिम नवलपरासी–१ मा कांग्रेसबाट केन्द्रीय सदस्य विनोद चौधरी, जनता समाजवादी पार्टीबाट हृदयश त्रिपाठी, एमालेबाट रामप्रसाद पाण्डे, रास्वपाबाट बिक्रम खनाल, नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा उम्मेदवार छन् । यसअगाडि विजयी चौधरी दोस्रो जित निकाल्ने रणनीतिमा छन् । त्रिपाठी विरासत फर्काउने दाउमा छन् । पाण्डे, जलेसा र खनाल पहिलो जितको पर्खाइमा छन् । पश्चिम नवलपरासी–२ मा राप्रपाबाट ध्रुवबहादुर प्रधान, कांग्रेसबाट भीमबहादुर थापा, एमालेबाट लेखनाथ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट देवेन्द्र पौडेल, रास्वपाबाट नरेन्द्र गुप्ता, जसपाबाट देवेन्द्र यादव प्रतिस्पर्धामा छन् ।
