पाल्पा-१ का मतदाता भन्छन् : सबैलाई चुनावमा भोट चाहिन्छ, दिएर पठाए पनि कोही फर्केर समस्या बुझ्न आउँदैनन्
What you should know
निस्दी, पाल्पा — निस्दी गाउँपालिका–२, झिरुवासकी ६४ वर्षीया गनिसरा बयम्बु बारीमा मल बोक्न व्यस्त छिन् । बारीमा अदुवा, हलेदो लगाउनका लागि साथीहरूसँगै मल बोकेको बताउने उनलाई अहिलेसम्म चुनावी माहोलले छोएकै छैन । गाउँका हुल साथीहरूसँगै मल बोक्दै गरेकी उनले भनिन्, ‘चुनाव आउँछ, जान्छ । हामीलाई केही मतलब छैन ।’
२०४८ सालदेखि चुनावमा भोट दिँदै आएको उनले बताइन् । धेरै पटक चुनाव आउने र जाने गरेको बताउँदै उनी अब आउने चुनावलाई नयाँ कुरा मान्दिनन् । स्थानीय, प्रदेश, संघीय निर्वाचनमा दुई/चार दिन हर्षोल्लास आउने त्यसपछि आफ्नो काम नगरी नहुने उनले सुनाइन् । ‘भोट माग्न आउनेहरूले नयाँ-नयाँ कुरा गर्छन्,’ उनले भनिन्, ‘यस पटक भने हाम्रो गाउँमा बाटो पक्की (ढलान) गर्दैछ पालिका सरकारले । यही हो खुसीको कुरा ।’ उनको घर अघिल्तिरबाट धर्केसिंतर्फ गएको सडक हेल्भेटास नाम गैरसरकारी संस्थाले १८ वर्ष अघि खनेको उनलाई थाहा छ ।
मित्यालको रुक्सेभन्ज्याङ्देखि धार्केसिंसम्मको सडक खन्दा आफैं ज्यालादारीमा गएको सम्झेको उनले बताइन् । ‘हामीलाई विकास चाहिएको छ, ल्याइदिनु हुन्छ र ?,’ उनको प्रतिक्रिया थियो, ‘हामी आरुङ्खोला (अरुणखोला) जान्छौँ, त्यहाँबाट आउने बाटो पक्की (कालोपत्र) चाहिएको छ । रामपुरतिरबाट आउने बाटो पक्की चाहिएको छ, कसले दिन्छ र ?’ उनले धेरै पटक मतदान गरेको भए पनि नेताले विकास दिन्छ भन्ने मात्र जानेकी छन् । सरकारसँग पैसा नभएकाले आफ्नो गाउँमा विकास नभएको उनको बुझाइ छ ।
यसअघिका निर्वाचनमा धेरै आशा बोकेर आएका नेताहरू गाउँमा मगर भाषामै भाषण गरे । निर्वाचन जिताएर पठाएका पनि छन् । कतिपयले खस भाषामा भाषण गरे । मगरबहुल यस पालिकाका मतदाताको जीवनस्तर भने परिवर्तन भएन । झिरुवास धार्केसिंकी किसान डिलमाया थापा अम्रिसो थुत्न व्यस्त छिन् । उनलाई पनि चुनाव लागेको छैन । गाउँमा परिवर्तन गर्ने, सुखदुःखको साथी बन्ने नेता चाहिएको उनी बताउँछिन् । उनले अहिलेसम्म धेरै पटक मत खसाले पनि कति पटक भयो हिसाब गरेकी छैनन् । तर कसलाई भोट दिएको भन्ने थाहा छ । काउलेडाँडा कबुलियती वनमा अम्रिसो थुत्दै गर्दा भेटिएकी उनले भनिन्, ‘हामीलाई काम गर्ने आतुर छ । अहिल्यै चुनावले छोएको छैन ।’ उनले दिनरात मिहिनेत गरेर काउलेडाँडामा वनमारा हटाएर अम्रिसो रोपेको सुनाइन् ।
कोही नेताले ल्याएको नभई संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले डिभिजन वन कार्यालय पाल्पामार्फत छुट्टै परियोजना गाउँमा ल्याएको उनलाई थाहा छ । २०६७/६८ सालतिर रोपेको अम्रिसोले अहिले आम्दानी दिएको उनले बताइन् । तर यसको भाउमा हुने घटबढले भने थापालाई चिन्तित तुल्याएको छ । ‘सुरुमा भाउ राम्रो पाइएको थियो,’ उनले भनिन्, ‘अहिले घट्दै ४० रुपैयाँसम्म झरेको छ । पहिला भने १२० रुपैयाँ प्रतिकिलोसम्म बिक्री गरेका थियौं ।’
यसबीचमा कुनै पनि दलका नेता, जनप्रतिनिधिले अम्रिसोको बजारका लागि सिधा सम्पर्क नमिलाएकामा उनलाई दुःख लागेको छ । सबैलाई चुनावमा भोट चाहिन्छ । दिएर पठाए पनि कोही फर्केर आफ्ना समस्या बुझ्न नआउने गरेको उनको गुनासो छ ।
प्रत्येक चुनावमा नयाँ नारासहित नेताहरू साथै उम्मेदवार आउने गर्छन् । झिरुवास खादरकै डिलमाया सारुलाई प्रत्येक चुनावमा ‘अब त केही हुन्छ’ भन्ने आशा छ । तर जहिलेसुकै यस्तै हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । किनभने परिवर्तन भएको छैन । गाउँमा रोजगार केही छैन । युवा विदेश गएका छन् । कोही मधेश झरे । तर सबै बेरोजगार जस्तै भएकाले उनलाई चिन्ता छ । सधैं चुनाव जितेर गएका उम्मेदवार फेरि अर्को चुनावमा मात्र देखिने गरेको उनको गुनासो छ । निस्दीमा ७ वडा छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनप्रति पनि सारुलाई खासै चासो छैन । चनाव आए–गए पनि त्यसले आफ्नो जीवन र परिवारको अवस्थामा कुनै परिवर्तन नल्याएको उनको बुझाइ छ । ‘युवा जति सबै विदेश जानु परेको छ,’ उनले भनिन्, ‘भोट दिएपछि रोजगार दिनु पर्ने हो । सीप सिकाउनुपर्ने । बजारको व्यवस्थापन गर्नुपर्ने हो । अझ यही सँगै बस्ने वातावरण मिलाउने कसले हो ? यहीँ रोजगार, स्वरोजगारका काम दिलाउने कसले हो ? भोट दियो पठायो अनि नेता फेरि फर्केर आउँदैनन् । आफ्ना समस्या भन्ने कसलाई हो खै थाहा भएन ।’
निस्दीकै मित्यालमा बाख्रा चराउँदै गरेकी खगीसरा सुनारीले चुनाव आउने जाने गर्छ तर सबैले आफ्नै लागि गर्ने गरेको गुनासो गर्छिन् । पाल्पा क्षेत्र नम्बर-१ अन्तर्गत पर्ने निस्दी गाउँपालिका–४, मित्यालकी उनको परिवारको गुजारा जेनतेन चलेको छ । चुनावका बारेमा भने आफू मात्र होइन गाउँका अधिकांशलाई चासो छैन । यस पटक चुनाव हुँदैछ भन्ने सामाजिक सञ्जालमा थाहा पाएको बताउने उनले भनिन्, ‘अहिले त नयाँ नयाँ पार्टी पनि चुनावमा आएको थाहा पाएकी छु । पहिला पहिला खासै थाहा हुन्थेन अहिले फेसबुकमा हेरेर थाहा पाएको छु ।’
निस्दी गाउँपालिका भौगोलिक रूपमा विकट रहेको छ । रामपुर नगरपालिकाको सिमाना बेलडाँडादेखि नवलपुर (पूर्व नवलपरासी) को अरुणखोलासम्म साथै माथागढी र बौदीकालीसम्म यो पालिका फैलिएको छ । यहाँका बासिन्दा विकासबाट पछि परेका छन् । बाँकामलाङदेखि ज्यामिरे जोड्ने केम खाम्चा मार्ग बजेट अभावले तीन वर्षदेखि अलपत्र जस्तै छ । रामपुरदेखि मित्याल अरुणखोला जोड्ने सडकको अवस्था वर्षौंदेखि नाजुक छ । पालिका जोड्ने सडक यहीअन्तर्गत पर्छ तर स्तरोन्नति भएको छैन । अधिकांश सडक कच्ची र वर्षायाममा नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता छ । अम्रिसो, अदुवा, बाँसका सामग्री, बेसार, गेडागुडी उत्पादन गर्छन् तर जहिलेसुकै बिचौलियाकै भर पर्नुपर्छ ।
दुःख र लगानी गरेर उब्जाएको अम्रिसो, अदुवाको भाउ अझ बढे हुन्थ्यो भन्ने चाहना झिरुवासकी किसान आइतमा दर्लामीको छ । ‘अम्रिसोका लागि धेरै दुःख गरियो, भाउ बढाइदिए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भनिन् । झिरुवास खादरका किसानले लगाएको इलाम, लम्जुङबाट बिरुवा ल्याएर लगाएको अलैंची खडेरीले सबै मरेको थियो । स्थानीय, प्रदेश, संघीय कुनै सरकारले पनि खोजी गरेन । लाखौं पर्ने अलैंची मासियो । हुन त अहिले पुनः लगाएका छन् । तर लगाएको मर्दा भने सबै चिन्तित भए ।
विगतमा जो जसलाई मत दिए पनि खासै केही नभएको गुनासो दर्लामीको छ । यसपटक कसलाई मत दिने भन्ने पछि निधो गर्ने उनको भनाइ छ । अम्रिसो उत्पादन र बजारीकरण मात्र होइन, अदुवा, बेसारलगायत अन्य कृषि उत्पादनले बजार नपाएकोमा उनको गुनासो छ । ‘लगानी र मिहिनेतअनुसार केहीको पनि भाउ पाइँदैन,’ उनले भनिन्, ‘बेच्न बिचौलियाकै भर पर्नुपर्छ ।’ आफ्नो गाउँका सबैले एउटै पार्टीलाई भोट दिने गरेको उनले सुनाइन् । तर अहिलेसम्म विकास खासै भएको जानकारी नभएको उनले बताइन् । एमाले क्षेत्रीय नेता दमन पाटा निस्दी लगायत ग्रामीण भेगमा अहिले चुनावी रौनक छाइनसकेको बताउँछन् । ‘यतिबेला गाउँमा सबैलाई कामको आतुर छ,’ उनले भने ।
पाल्पा क्षेत्र नम्बर-१ अन्तर्गत पर्ने निस्दी मात्र होइन, रामपुर पूर्वखोला, माथागढी, रम्भा गाउँपालिकामा पनि चुनावी रौनक छाइसकेको छैन । यो क्षेत्र विकासमा भने पछि परेको छ । यस क्षेत्रमा सहायक र शाखा सडकमा पहुँचको आधारमा करोडौं बजेट खर्चिएको छ । तर मुख्य सडक बेवारिसे जस्तै बनेका छन् । स्तरोन्नति सुरु भएका सडक पनि पूर्णता पाएको छैन । कतिपय अलपत्र जस्तै छन् । रामपुर नगरपालिका अन्य पालिकाको तुलनामा केही विकसित छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसै क्षेत्रमा एमाले, कांग्रेस, नेकपा, रास्वपासहित ९ दल र चार स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । तर यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने मतदाताको दाबी छ । एमाले, कांग्रेस र रास्वपाबीचको प्रतिस्पर्धा हुने दाबी गरिएको हो । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीचको एकता भए पनि क्षेत्र नम्बर १ मा खासै प्रभाव देखिएको छैन । पछिल्लो पटक रास्वपा भने एमाले–कांग्रेसकै प्रतिस्पर्धामा पुग्ने दाबी राजनीतिक विश्लेषकहरूको छ ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा एमालेका नारायणप्रसाद आचार्यले ३१ हजार १ सय ३ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिस्प्रर्धी कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २ सय ५६ मत प्राप्त गरेका हुन् । यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८६३ मत पाएका थिए । मंगोल नेसनल अर्गनाइजेसनका थम्मनबहादुर बुढा मगरले पनि १ हजार ९१६ मत पाएका थिए ।
एमालेले आचार्यलाई नै दोहोर्याएको छ । यसअघि विजयी भएका उनी २०७४ को प्रदेशसभा निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं. १ (ख) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेका हुन् । यसपटक कांग्रेसले सन्दीप रानालाई उम्मेदवार बनाएको छ । कांग्रेसका लुम्बिनी प्रदेश सदस्य, महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन् । ग्रामीण क्षेत्रका युवाहरुसँग नजिक रहेर सक्रिय राजनीति गर्दै आएका रानालाई पाल्पा–१, मा एमालेको बलियो पकडलाई चुनौती दिन सक्ने उम्मेदवारका रूपमा हेरिएको कांग्रेसका क्षेत्रीय सभापति झमन राजमगरको दाबी छ ।
त्यस्तै रास्वपाले रामपुर-१० का विमल पन्तलाई उम्मेदवार बनाएको छ । पन्त हाम्रो टिम नेपालका अध्यक्ष हुन् । उनले लामो समयदेखि मुलुकका विभिन्न ठाउँ पुगेर नि:शुल्क खाद्यान्न तथा लत्ताकपडालगायतका सामग्री बाँड्दै आएका छन् ।
यसपटक एमाले २०५१ यताको किल्ला जोगाउने र कांग्रेस त्यसलाई भत्काउने होडबाजीमा लागेको दाबी छ । रास्वपा बदलिँदो परिस्थितिको फाइदा लिने पक्षमा सक्रिय देखिएको छ । कांग्रेसले नयाँ र युवा अनुहार रानालाई उम्मेदवार बनाएकाले बलियो अवस्था रहने र मतदाता पनि बदलिने क्षेत्रीय सभापति राजमगरले बताए ।
नेकपाबाट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य रहेका हुमबहादुर सुनारीसहित अन्य दलबाट पनि उमेदवार छन् । राप्रपाबाट बृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चाबाट नरमती सिंजाली, नेसनल रिपब्लिक नेपालबाट थमनसिं रेश्मी मगर, मंगोल नेसनल अर्गनाइजेसनबाट सलन चिदी मगर, नेकपा (माओवादी) बाट पुरन गैह्रे शर्मा उम्मेदवार छन् । स्वतन्त्र रूपमा कौशल अर्याल, डिल्लीराज काफ्ले, बुद्धबहादुर विरकट्टा र बाछा दली मियाँ पनि चुनावी मैदानमा छन् ।
