मंगोल नेसनल अर्गनाइजेसनले इलाम–१ मा बुद्धलाल मेचे र झापा–५ मा सानबहादुर मेचे तथा जसपा नेपालले झापा–१ मा रमा मेचेलाई उठाएको छ
What you should know
काठमाडौँ — प्रमुख दलहरूले प्रतिनिधिसभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ लोपोन्मुख समुदायका उम्मेदवार नै उठाएका छैनन् । नेसनल मंगोल अर्गनाइजेसन र जसपा नेपालबाट गरी ३ जना लोपोन्मुख समुदायका व्यक्ति उम्मेदवार बनेका छन् ।
मंगोल नेसनल अर्गनाइजेसनले इलाम–१ मा बुद्धलाल मेचे र झापा–५ मा सानबहादुर मेचे तथा जसपा नेपालले झापा–१ मा रमा मेचेलाई उठाएको छ ।
कुसुन्डा, राउटे, हायु, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लोप्चा, कुसवाडिया (पत्थरकट्ट, सिलकट) गरी १० वटा जातिलाई लोपोन्मुख समुदायमा राखिएको छ । लोपोन्मुख समुदायलाई सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ अनुसार भत्ता दिने गरिएको छ । १० वटा लोपोन्मुख जातिको जनसंख्या २३ हजार १ सय ४ छ ।
मनहरी गाउँपालिका–४ वनकरिया बस्तीकी मुखिया सन्तमाया वनकरिया पालिकाको निर्वाचनबारे थाहा हुने भए पनि प्रतिनिधिसभाको चुनावबारे थाहै नभएको बताउँछिन् । भन्छिन्, ‘अहिलेसम्म भोट माग्न नआएर पनि होला, खासै थाहा छैन ।’
युवा अगुवा सन्तोषी वनकरिया आफूहरूलाई राजनीतिप्रति खासै चासो नभएको बताउँछिन् । ‘गाउँका समस्या मुखियाका साथमा सबै मिलेर हल गर्ने भएकाले राजनीतिप्रति हाम्रो रुचि हुँदैन,’ उनले भनिन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल दलहरूले आफ्नो लाभहानि हेरेर टिकट दिने गरेकाले उक्त समुदाय प्राथमिकतामा नपरेको बताउँछन् । समाजशास्त्री सम्झना वाग्लेका अनुसार सबै समुदायलाई समेट्नुभन्दा पनि भाइरल अनुहारको पछि लाग्ने खराब प्रवृत्तिका कारण लोपोन्मुख समुदायका मानिस राजनीतिबाट छायामा परेका हुन् ।
लोपोन्मुखमध्येको एक राजी जातिका अनुसन्धानकर्ता निष्णु थिङ उक्त समुदायको जनसंख्या कम हुने भएकाले पनि प्राथमिकतामा नपरेको बताउँछन् । ‘ठूला दलहरूले लोपोन्मुख जातिको संख्या कम हुने भएकाले खासै चासो दिँदैनन्,’ उनले भने, ‘दलहरूले सामाजिक न्याय र समावेशिताका कुरा भाषणमा मात्र सीमित गरेको देखिन्छ, त्यसैले पनि लोपोन्मुख जाति राजनीतिमा सक्रिय हुन सकेका छैनन् ।’
मेचे
बसोबासका हिसाबले मेचे जातिका मानिस झापा, मोरङ, सप्तरी र सुनसरीमा छन् । उनीहरूले कृषिलाई मुख्य पेसा मान्छन् । उक्त जातिका अधिकांशसँग जग्गाजमिन छैन । त्यसैले अधियाँ, बटिया गर्छन् । यी समुदायका व्यक्तिले ससाना व्यापार र मजदुरी गर्ने गरेको आदिवासी जनजाति उत्थान प्रतिष्ठानले जनाएको छ । जनगणनाअनुसार मेचेको जनसंख्या ५ हजार १ सय ९३ छ ।
राजी
राजी जाति अल्पसंख्यक आदिवासी जनजाति हुन् । यो जातिको कैलाली, सुर्खेत, बर्दिया र कञ्चनपुर मुख्य बासस्थान हो । प्रतिष्ठानका अनुसार पहिला उनीहरू मुख्य पेसाका रूपमा सिकार गर्ने, कन्दमूल जडिबुटी संकलन गर्ने, माछा मार्ने गर्थे । घुमन्ते युगबाट कृषि युगमा प्रवेश गरेपछि भने खेती, पशुपालन, मजदुरी गरेर जीविकोपार्जन गर्न थालेका छन् । पछिल्लो तथ्यांकअनुसार उक्त जातिको ५ हजार १ सय २५ जनसंख्या रहेको छ ।
लेप्चा
इलाम लेप्चा जातिको थातथलो हो । अहिले पनि ८४ प्रतिशत लेप्चा जातिका मानिस इलाममै बसोबास गर्छन् । पहिला उनीहरू सिकार र जंगलमा पाइने कन्दमूल, फलफूलमा निर्भर हुन्थे । तर अहिले धेरैजसो कृषि र पशुपालनमा छन् । काठका सामग्री बनाउने र ज्याला मजदुरीका काम पनि थालेका छन् । उनीहरूको जनसंख्या ३ हजार ५ सय ७८ रहेको छ ।
पत्थरकट्ट (कुशवाडिया)
पत्थरकट्ट जातिलाई कुशवाडिया पनि भनिन्छ । बाँके, कपिलवस्तु, बर्दिया र रूपन्देहीमा बसोबास गर्छन् । ढुंगाको मूर्ति, सिलौटा, लोहोरालगायत ढुंगाका अन्य सामग्री बनाउने पत्थरकट्टा जातिको पुख्यौली पेसा हो । उनीहरूको जनसंख्या ३ हजार ३ सय ४३ रहेको छ ।
हायु
हायु जातिका मानिस रामेछाप र सिन्धुलीमा धेरै छन् । कृषि, पशुपालन, घरबुना कपडा साथै बाँसबाट बनाइने घरेलु सामानको उत्पादन र बिक्री गर्छन् । जनगणनाअनुसार हायु समुदायको जनसंख्या ३ हजार ६९ छ ।
किसान
किसान जातिको थातथलो झापाका केही गाउँ हुन् । मुख्य पेसा कृषि हो । उनीहरू बटैया खेती र मजदुरी गर्छन् । उनीहरूको जनसंख्या १ हजार ४ सय ७९ छ ।
राउटे
राउटे घुमन्ते जाति पनि हो । उनीहरूको स्थायी ठेगाना हुँदैन । दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, अछाम, जुम्ला, दार्चुला, बैतडी जिल्लाका जंगल र आसपासका क्षेत्रमा बढी छन् । निर्वाहको मुख्य स्रोत सिकार, कन्दमूल र फलफूल हो । काठका सामग्री बनाएर बेच्ने पनि गर्छन् । उनीहरूको जनसंख्या ५ सय ६६ छ । उनीहरूका आफ्नै नाइके (मुखिया) हुन्छन् ।
सुरेल
सुरेल जातिको थाकथलो दोलखाको सुरी गाउँ हो । अवसरको खोजीमा तनहुँ, नवलपरासी, दाङ साथै देशका विभिन्न स्थानमा पुगेका छन् । उनीहरूको जनसंख्या ३ सय १८ छ । मुख्य पेसा कृषि, पशुपालन, घरेलु प्रयोजनका सामग्री उत्पादन र मजदुरी हो ।
कुसुन्डा
कुसुन्डाको जनसंख्या २ सय ५३ छ । उनीहरू कृषि पेसामा आबद्ध छन् । काठमाडौं, दाङ, प्यूठान र भक्तपुरमा बढी बसोबास गरेको देखिन्छ ।
वनकरिया
वनकरिया चितवन, हेटौंडा, रोल्पा, पूर्व नवलपरासी र कास्कीमा बसोबास गर्छन् । कन्दमूलमा निर्भर उनीहरू जडिबुटी संकलन र बिक्री गर्छन् । डोको, दाम्लो, कुचो बनाएर पनि बजारमा बेच्छन् । जनसंख्या १ सय ८० छ ।
