नेपालको निर्वाचनमा सीमावर्ती भारतीयको चासो

सीमावर्ती भारतीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी र उत्तर प्रदेश सरकारका पूर्व र वर्तमान विधायकले नेपालमा शान्तिपूर्ण निर्वाचन आवश्यक रहेको बताए ।

माघ १३, २०८२

मनोज पौडेल

What you should know

कपिलवस्तु — नेपालमा शान्ति र स्थायित्व कायम भए भारतमा त्यसको सकारात्मक प्रभाव पर्ने हुँदा शान्तपूर्ण निर्वाचनको पक्षमा आफूहरू रहेको सीमावर्ती भारतीय बासिन्दाले बताएका छन् ।

जेनजी आन्दोलनपछाडिको संक्रमण अन्त्यका लागि निर्वाचित सरकार आवश्यक रहेको उनीहरूको भनाइ छ । सीमावर्ती भारतीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी र उत्तर प्रदेश सरकारका पूर्व र वर्तमान विधायकले नेपालमा शान्तिपूर्ण निर्वाचन आवश्यक रहेको बताए । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट बन्ने सरकारसँग भारतले कूटनीतिक सहयोग, सद्भावसँगै मिलेर काम गर्नुपर्ने उनीहरूले बताए । 

नेपाली नागरिकले नयाँ सरकार बनाएर शान्ति, स्थायित्व र सम्मृद्धिलाई प्राथमिकता दिनुपर्ने भारतीय जनता पार्टीको युवा मोर्चा सिद्धार्थनगर जिल्लाका पूर्वअध्यक्ष राजु शाहीले बताए । ‘लोकतन्त्रको आधार स्तम्भ निर्वाचन हो,’ उनले भने, ‘त्यसैले ताजा जनादेशबाट नेपालमा नयाँ सरकार गठनको वातावरण बन्नुपर्छ ।’ यसअघिका सरकारले जनतामुखी काम गर्न नसकेका कारण अलोकप्रिय बन्दा  जेनजीले विद्रोह गरेको उनले बताए । 

नेपालमा अस्थिरता हुँदा त्यसको ठूलो मार भारतले खेप्नुपर्ने उत्तर प्रदेशको बलरामपुर जिल्ला गैसडीका पूर्व विधायक शैलेसकुमार सिंह सैलुले बताए । तसर्थ फागुनमा हुने नेपालको निर्वाचनमा भारतीयको चासो स्वभाविक भएको उनले सुनाए । अहिलेको संक्रमण सम्बोधन गर्न सक्ने निर्वाचित सरकार आवश्यक रहेको उनले बताए । भारत जहिले पनि नेपालमा लोकतन्त्रको समर्थनमा उभिएको उल्लेख गर्दै  निर्वाचनबाट गठन हुने जुनसुकै सरकारसँग भारतीय पक्ष सहकार्य गर्न आतुर रहेको उनले बताए । 

बढनी नगर पञ्चायत सभासद निजाम अहमद खाले नेपाल–भारत बीच सदियौं पुरानो सम्बन्ध भएकाले नेपालमा हुन लागेको निर्वाचनमा आफूहरूको सरोकार स्वाभाविक भएको बताए । नयाँ सरकार नेपाली जनताको आशा र भरोसाको सारथि बन्नु पर्ने उनको भनाइ छ । जेनजी आन्दोलनको जगमा बनेको सरकारले गराउन लागेको निर्वाचनले नयाँ नेपालको सपना पूरा गर्न योगदान गर्ने विश्वास उनले व्यक्त गरे । पाँच पटक बढनी नगर पञ्चायतको सभासद भइसकेका उनले निर्वाचनपछि गठन हुने नयाँ सरकारले नेपाल–भारतबीच व्यापार अभिवृद्धि हुने योजना र कार्यक्रम ल्याएर रोजगारी सिर्जना हुने कामलाई प्राथमिकता दिनुपर्ने बताए । 

निर्वाचनले नेपाललाई शान्ति, स्थायित्व र खुसी दिन सक्नुपर्ने उत्तर प्रदेश शोहरतगढ विधानसभा क्षेत्र विधायक विनय बर्माले बताए । नेपालमा स्थिर, नागरिकको समर्थनबाट लोकतान्त्रिक ढंगले निर्वाचित भएको बलियो सरकार आवश्यक रहेको उनले बताए । भारतप्रति मैत्रीपूर्ण सम्बन्ध राख्ने सरकार आफूहरूले चाहेको उनले बताए । यसले दुई मुलुकको सम्बन्ध प्रगाढ र कसिलो तुल्याएर आपसी हितका विषयमा धेरै काम सकिने उनले बताए । 

छिमेक पहिलो विदेश नीति लिएको भारतका लागि नेपालमा भएको जेनजी आन्दोलनपछि उत्पन्न संकट भारतका लागि टाउको दुखाइको विषय बनेको उत्तर प्रदेश सिद्धार्थनगर जिल्लास्थित राष्ट्रिय साहारा दैनिक बढनी ब्यूरो प्रमुख अजय गुप्ताले बताए । ‘आकस्मिक युवा आन्दोलनले नेपालमा सरकारै परिवर्तन भयो,’ उनले भने, ‘यसलाई भारतले सतर्कता अपनाउँदै नजिकबाट अध्ययन गर्न पाएको छ ।’ नेपालका लागि नेपाली जनताले गर्ने निर्णय सबैका लागि सर्वोपरि हुने उनले बताए ।  

प्राचीन र गौरवपूर्ण अतीतले भरिएको दुई मुलुकबीचको सम्बन्धलाई नेपालमा हुन गइरहेको निर्वाचनमार्फत थप मजबुत बनाउनुपर्ने उत्तर प्रदेश बस्ती जिल्लाका पूर्व विधायक साधुशरणलाल श्रीवास्तवले बताए । ‘कहिलेकाही सानातिना असमझदारीले असामान्य अवस्था हुँदा चिन्ता लाग्छ,’ उनले भने, ‘नेपाल र भारतबीच करिब १ हजार ८ सय ८० किलोमिटर खुला सीमा भएकाले दुवै देशबीच विशिष्टिकृत सम्बन्ध छ । पासपोर्ट, भीसा केही चाहिँदैन ।’ दुनियाँमा यस्तो सम्बन्ध अन्यत्र कतै नभएको उनले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully