पछिल्ला ३०–४० वर्षमा राजनीतिक दलहरूले शासन गरे पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन आउन नसकेको र यही कारण स्वतन्त्र राजनीतिको विकल्प खोजिन थालेको उनीहरूको भनाइ ।
What you should know
काभ्रे — जिल्लामा दलका उम्मेदवारलाई स्वतन्त्रले टक्कर दिइरहेका छन् । अहिले दलहरू पार्टी संगठन र कार्यकर्ताको बलमा चुनावी अभियानमा होमिएका बेला उनीहरूलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका हुन् ।
०७९ सालको स्थानीय तह निर्वाचनपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह, हर्कराज राई, गोपी हमाल लगायतले जित हासिल गरेसँगै स्वतन्त्र उम्मेदवार बन्ने लहर चलेको थियो । त्यसले पनि स्वतन्त्र उम्मेदवारको हौसला बढेको देखिन्छ ।
प्रतिनिधिसभा सदय निर्वाचनका लागि काभ्रे–१ र २ बाट ४२ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये काभ्रे–१ मा १८ मध्ये ३ र २ का २४ मध्ये ८ जना स्वतन्त्र उम्मेदवार छन् । राजनीतिक दलप्रति जनताको वितृष्णा बढेकाले दलको झण्डा अपरिहार्य नभएको उनीहरूको भनाइ छ ।
काभ्रे–२ मा भुम्लु गाउँपालिका–२, सिमथलीका उमेश थापा स्वतन्त्र उम्मेदवार बनेका छन् । युवापुस्ताको प्रतिनिधित्व गर्ने उद्देश्यसहित आफू स्वतन्त्र उम्मेदवार बनेको उनले बताए ।
‘कुनै पनि दलसँग आबद्ध नभएकाले टिकटको अपेक्षा नै थिएन,’ उनले भने, ‘जनताले दलगत राजनीति देखिसकेका छन्, अहिलेको आवश्यकता भनेको नयाँ पुस्ताको नेतृत्व हो ।’ यसपालिको चुनावलाई जेनजी पुस्ताले अवसरका रूपमा लिनुपर्ने उनले बताए ।
स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न सक्छु भन्ने विश्वासले नै स्वतन्त्र उम्मेदवार बनेको उनले बताए । यसलाई ‘टक्कर’भन्दा पनि ‘स्वस्थ प्रतिस्पर्धा’का रूपमा हेर्ने उनले बताए । ठूला दलसँग प्रतिस्पर्धा रहे पनि स्थानीय बासिन्दाको सहयोगमा अघि बढ्ने उनको भनाइ छ । यस क्षेत्रमा जनजीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवाको सुधार रहेकालाई यी कुरालाई विशेष प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।
काभ्रे–२ का स्वतन्त्र उम्मेदवार लेनिन विष्टले दलबाट टिकट नपाएर नभई वर्तमान राजनीतिप्रतिको असन्तुष्टि र युवापुस्ताको मागका आधारमा अघि बढेको बताए । नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा उज्यालो नेपाल पार्टीसहित विभिन्न दलबाट अन्तिम समयसम्म चुनाव लड्न प्रस्ताव आए पनि आफू स्वतन्त्र उम्मेदवार बनेको उनले बताए । ‘धेरै दलबाट प्रस्ताव आयो, पार्टीभन्दा पनि स्वतन्त्र विचार र नेतृत्व हुनुपर्छ भन्ने लागेर स्वतन्त्र उम्मेदवारी रोजें,’ उनले भने, ‘यदि दलहरूले राम्रो काम गरेका भए यस्तो विद्रोह हुन्थेन, स्वतन्त्र उम्मेदवारको आवश्यकता पनि पर्दैनथ्यो ।’ उनका अनुसार पछिल्ला ३०–४० वर्षमा राजनीतिक दलहरूले शासन गरे पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन आउन नसकेको र यही कारण स्वतन्त्र राजनीतिको विकल्प खोजिन थालेको हो ।
तत्कालीन माओवादी सशस्त्र युद्धमा संलग्न ३७ वर्षीय विष्ट पूर्व बालसेनाका अध्यक्षसमेत हुन् । सशस्त्र युद्धमा बालबालिकाको प्रयोग गरिएको भन्दै पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईविरुद्ध उनले युद्ध अपराधसम्बन्धी मुद्दा दायर गरेका छन् । ‘हिजोदेखि परिवर्तनका लागि लड्दै आएको छु, आज पनि छु र भोलि पनि रहनेछु,’ विष्टले भने, ‘युवाहरूले अब नेतृत्व लिनुपर्छ भन्ने सन्देश बोकेर म जनतामाझ गएको हुँ ।’
काभ्रे–२ का ४२ वर्षीय सीताराम मैनाली कृषि क्रान्ति गर्ने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएका छन् । आफ्नै स्पष्ट उद्देश्य र एजेन्डासहित आफूले स्वतन्त्र उम्मेदवारी दिएको मैनालीले बताए । ‘मेरो उम्मेदवारी कसैप्रति असन्तुष्टि वा टिकट नपाएको कारण होइन, यो मेरो आफ्नै सोच, आफ्नै एजेन्डा र आफ्नै चुनावी यात्रा हो,’ उनले भने, ‘विशुद्ध रूपमा किसान र कृषिको पक्षमा उभिएर स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत भएको छु ।’ कृषि उत्पादन, रोजगारी सिर्जना र बजार व्यवस्थापनलाई उनले जोड दिएका छन् । किसान नठगिने, उत्पादनको उचित मूल्य सुनिश्चित हुने र किसानको हित केन्द्रमा रहने उनको प्रतिबद्धता छ ।
विभिन्न राजनीतिक दलको कार्यशैलीप्रति निराश हुँदै गएको अवस्थामा जनताको दबाब र आग्रहमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको काभ्रे–२ का स्वतन्त्र उम्मेदवार ५२ वर्षीय विष्णुकुमार श्रेष्ठको भनाइ छ । उनका अनुसार ठूला राजनीतिक दलहरूले जनताको अपेक्षा अनुरूप काम गर्न सकेका छैनन् । ‘वर्षौंदेखि ठूला राजनीतिक दलका धेरै आश्वासन सुन्दै आयौं, महंगी मात्रै बढ्यो, पानी छैन, ग्यास महंगो छ, बाटोको हालत उस्तै छ, रगतको खोलो बगाएर धेरै मान्छे मरे, तर जनताको जीवनस्तर उस्तै रह्यो ।’ यही कारणले दलहरूप्रति वाक्क भएर आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । ठूला राजनीतिक दलहरू संगठित संरचना र कार्यकर्तासहित चुनावमा उत्रिँदा प्रतिस्पर्धा गर्न सक्नुहुन्छ भन्ने प्रश्नमा उनले आत्मविश्वास व्यक्त गरे ।
कुनै दलबाट टिकट नपाएर नपाएर भन्दा पनि राजनीतिक दलप्रति बढ्दो वितृष्णा र वैकल्पिक राजनीतिक धारको आवश्यकताका कारण आफूले क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएको गणेशप्रसाद अधिकारीले बताएका छन् । ‘मेरो उम्मेदवारी किन आयो भनेर धेरैलाई जिज्ञासा छ,’ उनले भने, ‘यो व्यक्तिगत महत्त्वाकांक्षाको विषय होइन, समग्र जेनजी आन्दोलनबाट उठेको अभियान हो ।’ अभियान स्वरूप देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउने रणनीतिका साथ आफू अघि बढेको उनको भनाइ थियो ।
सानो सोचले पनि गाउँको विकास गर्न सकिन्छ भन्ने सोचका साथ क्षेत्र नं २ मा आशा तामाङले उम्मेदवारी दर्ता गराएकी छिन् । वर्षौंदेखि हामीले भोगिरहेका समस्या कुनै पनि राजनीतिक दलहरूबाट समाधान नहुँदा आफूमा दिक्दारी भएकाले ती समस्याको समाधान गर्न आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको उनले बताइन् । आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पनि स्थानीय आवश्यकता र असन्तुष्टिको परिणाम भएको उनको भनाइ छ ।
काभ्रे–१ मा स्वतन्त्र उम्मेदवारका रूपमा जीवन लामा चुनावी मैदानमा उत्रिएका छन् । वर्तमान राजनीतिक अभ्यास, बढ्दो भ्रष्टाचार र युवापुस्ताको असन्तुष्टिले आफूलाई स्वतन्त्र उम्मेदवारीतर्फ डोर्याएको उनको भनाइ छ । उनका अनुसार जेन–जी आन्दोलनले देखाएको चेतना र २३–२४ गते घटेका घटनाले मलाई यो क्षेत्रमा नयाँ सोच र नयाँ तरिकाले विकासको एजेन्डा अघि बढाउन प्रेरित गरेको छ । ‘स्थानीय तहदेखि नै भ्रष्टाचार यति मौलाएको छ कि सामान्य काम गर्न पनि उपभोक्ता समिति, योजना र बजेटमा व्यापक अनियमितता हुने गरेको पाइएको छ,’ उनले भने, ‘यस निर्वाचनमा भ्रष्टाचार नियन्त्रण गर्नु नै मेरो प्रमुख एजेन्डा हुनेछ ।’ यसअघि नेकपा एमालेको जिल्ला कमिटी सदस्य तथा भोलेन्टियर फोर्सको केन्द्रीय सदस्य रहेका लामा उम्मेदवारी दर्ता गर्नुभन्दा दुई दिनअघि सबै पदबाट अलग भएका हुन् ।
लामो समय नेपाली कांग्रेसको सक्रिय राजनीतिमा संलग्न रहँदै आएका राजेशकुमार श्रेष्ठले क्षेत्र नं १ मा स्थानीय जनताको उपेक्षा र क्षेत्रीय विभेदको विरोधस्वरूप स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । आफूलाई ‘बागी उम्मेदवार’ भनिनु गलत भएको दाबी गर्दै श्रेष्ठले भने, ‘मैले टिकट नै मागेको छैन भने बागी कसरी भएँ ? दल वा नेताप्रति मेरो व्यक्तिगत विरोध छैन, तर जनतालाई अपमान गर्ने प्रवृत्तिको विरोध हो ।’ आफूले कहिल्यै संसदीय, प्रदेश वा स्थानीय तहको चुनावका लागि टिकटको अपेक्षा नगरेको उनले बताए । ‘म राजनीति गरेको मान्छे हुँ तर पदका लागि राजनीति गरेको होइन,’ उनले भने, ‘नेपाल विद्यार्थी संघको अध्यक्षदेखि सत्याग्रहमा जेल बस्दासम्मको संघर्ष मेरो राजनीतिक यात्राको हिस्सा हो ।’
विगतका निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । तर, कतिपय उम्मेदवारले एक सय मतसमेत कटाउन सकेनन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा क्षेत्र नं १ मा नोर्बु लामा र क्षेत्र नं २ मा सुदर्सन हुमागाईंले मात्रै स्वतन्त्र उम्मेदवारी दिएका थिए । क्षेत्र नं १ का लामाले १३ मत ल्याएका थिए भने क्षेत्र नं २ का हुमागाईंले ६१ मत ल्याएका थिए । २०७४ को तुलनामा २०७९ मा दुवै क्षेत्रमा स्वतन्त्र उम्मेदवारको संख्यामा वृद्धि भएको देखिन्छ ।
क्षेत्र नं १ मा ५ जना र क्षेत्र नं २ मा ५ जना स्वतन्त्र उम्मेदवार रहेका थिए । क्षेत्र नं १ का जीतबहादुर मोक्तानले १ सय ८४, माधवप्रसाद कँडेलले ३३, राजन घोरसाइनेले ५९, रुकमणी श्रेष्ठले ४ सय ८३ र ज्ञानेन्द्रकुमार तामाङले २ सय ३९ मत ल्याएका थिए । क्षेत्र नं २ मा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार कृष्ण खत्रीले ४५, बोधनाथ न्यौपानेले ८३, मनोज पण्डितले १ सय ७३, शेषराज लामिछानेले १ सय र स्वयम्भूराज शाक्यले १ सय १५ मत ल्याएका थिए ।
