झापा–५, चितवन–२ र रुकुम पूर्वमा दलका प्रमुख र वरिष्ठ नेता उम्मेदवार छन् । तिनै क्षेत्रमा उठेका महिला उम्मेदवारले अहिले राजनीतिक रूपमा उनीहरूलाई कडा र स्वस्थ टक्कर दिइरहेका छन् ।
What you should know
अछाम — मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका पार्टी प्रमुखलाई महिला उम्मेदवारले कडा चुनौती पेस गरिरहेका छन् । सत्ताको केन्द्रमा रहेका नेताविरुद्ध उम्मेदवारी दिएका महिलाहरू चुनावी प्रतिस्पर्धालाई अर्थपूर्ण बनाउन अहिले लागिपरेका छन् । झापा–५, चितवन–२ र रुकुम पूर्वमा दलका प्रमुख र वरिष्ठ नेता उम्मेदवार छन् । तिनै क्षेत्रमा उठेका महिला उम्मेदवारले प्रचारप्रसार तीव्र बनाएका छन् ।
पूर्वी नेपालको झापा–५ यसपटक एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीका कारण चर्चामा छ । यी दुई नेताबीचको प्रतिस्पर्धा अहिले चासोको विषय बनेको छ । यस क्षेत्रलाई चुनावी ‘हटस्पट’ मानिएको छ । एमाले अध्यक्ष ओली तीनपटक प्रधानमन्त्री भइसकेका छन् । पार्टी संगठन, राज्य संयन्त्र र राजनीतिमा प्रभाव रहेकाले उनलाई ‘हेभिवेट’ उम्मेदवारका रूपमा प्रचार गरिएको छ । लगातार त्यही क्षेत्रबाट चुनाव जित्दै आएका छन् । झापा जिल्लालाई एमालेको परम्परागत किल्ला मानिँदै आएको छ ।
काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह यसपटक रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । युवा पुस्तामा प्रभाव भएका शाह छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा उदाएका नेता हुन् । परम्परागत दलभन्दा बाहिर रहेर स्वतन्त्र छविका साथ सहरी मतदाता, युवा र असन्तुष्ट वर्गमा उनको प्रभाव छ । उनको लोकप्रियताका कारण उनलाई पनि यस निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ प्रतिस्पर्धीका रूपमा हेरिएको छ । यी दुवै नेताविरुद्ध उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महासमिति सदस्य मन्धरा चिमोरिया घरदैलोमा व्यस्त छन् ।
बहुप्रचारित प्रतिस्पर्धीसित कांग्रेसको प्रतिनिधित्व गर्दै चुनाव लड्नु वैचारिक र नीतिगत बहसको अवसरका रूपमा लिएको उनले बताइन् । चिमोरिया स्थानीय स्तरमा सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न रहँदै आएकी अनुभवी नेता हुन् । झापा–५ मा विकास, रोजगार, कृषि र सुशासनका मुद्दालाई प्राथमिकतामा राख्दै घरदैलो अभियानमा जुटेकी छन् ।
झापा–५ बाट कांग्रेसले ८ जनालाई प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको थियो ।
स्थानीय स्तरका मतदातासँग राम्रो सम्बन्ध बनाएकी चिमोरिया नै अन्ततः अग्रस्थानमा आइन् । ‘कांग्रेसबाट सक्रिय राजनीति गरेको ३५ वर्ष भयो । त्यसअघि पनि सरकारी जागिर गरेको अनुभव छ । राजनीतिमा बिताएको यत्रो वर्ष मैले सामाजिक सेवामै बिताएकी छु,’ चिमोरियाले भनिन्, ‘हिंसामा परेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न वर्गका लागि काम गरेकी छु । मैले गरेको सामाजिक काम नै मेरो जितको आधार हो । मलाई चुनाव जित्न यहाँ सहज छ ।’
यस निर्वाचन क्षेत्रका लागि शाह नयाँ अनुहार र पछिल्लो समय मात्र चर्चामा आएका व्यक्ति भएको उनले बताइन् । ‘कोही नयाँ मान्छे आउँदा हेर्न जानेकै भीड ठूलो हुन्छ । यसैले उहाँतर्फ माहोल बन्नु स्वाभाविक हो । त्यसलाई अनौठो मान्नु पर्दैन,’ उनले भनिन्, ‘तर चुनाव जितेपछि यहाँका जनताको सुख दुःखमा को रहने भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ ।’ ओली र बालेन्द्रको विरोध गरेर मात्रै प्रतिस्पर्धी नहुने उनको भनाइ छ । ‘म कसैको विरोध गर्दिनँ, म कमजोर पनि छैन । चर्चित नाम देखेर होइन, मतदाताले यो ठाउँका लागि काम गरेको मान्छेको अवश्य मूल्यांकन गर्ने छन् ।’
२०१९ सालमा जन्मिएकी चिमोरियाले ताप्लेजुङको फुङलिङमा प्रारम्भिक शिक्षा लिइन् । धरानको तत्कालीन बालिका माविबाट ०३७ सालमा एसएलसी उत्तीर्ण गरिन् । क्याम्पस तहको अध्ययन सुरु गरे पनि ०३८ सालदेखि लोकसेवामार्फत निजामती सेवामा काम गरेको अनुभव उनीसँग छ । ०४८ सालदेखि उनी नेपाली कांग्रेसमा सक्रिय भइन् । वडादेखि जिल्ला तहसम्म पार्टी नेतृत्वमा जिम्मेवारी निभाएकी नेताका रूपमा उनी जिल्लामा परिचित छन् । राजनीति बाहेक चिमोरिया सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् ।
चितवन–२ : लामिछानेविरुद्ध खरेल
रास्वपा सभापति रवि लामिछाने उम्मेदवार बनेका कारण चितवन–२ चर्चामा छ । यसपटक कांग्रेसले लामिछानेविरुद्ध अनुभवी सामाजिक अगुवा मीना खरेललाई उम्मेदवार बनाएको छ । लामिछाने र खरेल दुवै लोकप्रियता र अनुभवका आधारमा बलिया उम्मेदवार हुन् । रास्वपाको गढ मानिएको निर्वाचन क्षेत्रबाट ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन र ०८० मा भएको उपनिर्वाचनमा लामिछाने भारी मतले विजयी भएका थिए ।
खरेल चितवनमा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेकी छन् । महिला तथा बालबालिकाको अधिकार, महिलाको आर्थिक सशक्तिकरण र सामाजिक सेवाका क्षेत्रमा उनले काम गर्दै आएकी छन् । त्यसका लागि स्थानीय समुदायमा लोकप्रिय र विश्वासयोग्य व्यक्तित्वका रूपमा परिचित छिन् । लामिछाने भावनात्मक र परिवर्तनमुखी मत तान्ने प्रयासमा छन् । मीनाले स्थिरता र कांग्रेसको परम्परागत मत सुरक्षित गर्ने प्रयास गरिरहेकी छन् । खरेलले लामिछानेसँग चुनावी प्रतिस्पर्धा गर्न आफूलाई सजिलो महसुस भएको बताइन् ।
उनका अनुसार प्रतिस्पर्धा उम्मेदवारभन्दा मतदातासँग केन्द्रित छ । ‘रवि लामिछानेजीसँग प्रतिस्पर्धा गर्न मलाई अप्ठ्यारो छैन,’ खरेलले भनिन्, ‘मीनालाई कसरी जिताउने भनेर मतदाता प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले उम्मेदवारसँग प्रतिस्पर्धा भइरहेको जस्तो लाग्दैन ।’ चितवन–२ मा ५१ प्रतिशत महिला मतदाता रहेका छन् । यस क्षेत्रसँग आफू ३५ वर्षदेखि जोडिएको खरेलले बताइन् । ‘यो भूगोल, यहाँका समस्या र जनताको चाहना मलाई राम्रोसँग थाहा छ,’ उनले भनिन्, ‘मैले जीवनको लामो समय जसको सेवामा बिताएँ, अहिले उनीहरू नै मेरो प्रचारमा जुटिरहेका छन् ।’
अघिल्लो निर्वाचनमा गठबन्धनका कारण कांग्रेसका मतदाता निरुत्साहित भएको र अहिले भने उत्साहित भएको उनको दाबी छ । ‘गठबन्धन हुँदा आफ्नै पार्टीको चुनाव चिह्नमा मत दिन नपाउँदा मत विभाजन भयो,’ उनले भनिन्, ‘यसपटक कांग्रेस आफ्नै चिह्न र आफ्नै उम्मेदवारसहित चुनाव लड्दा मतदातामा उत्साह देखिएको छ ।’ आफ्नो सामाजिक पृष्ठभूमि पनि चितवनमा जितको आधार बलियो भएको उनले दाबी गरिन् ।
‘१२ सयभन्दा बढी असहाय, महिला, किशोरी र बालबालिकाको उद्धार, संरक्षण र न्यायका क्षेत्रमा काम गरेकी छु,’ खरेलले भनिन्, ‘त्यही सेवाको विश्वास अहिले मतका रूपमा देखिन थालेको छ ।’
रुकुम पूर्वमा पुष्पकमलविरुद्ध कुसुमदेवी
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो ‘आधार इलाका’मा फर्किएपछि रुकुम पूर्व यतिबेला चर्चामा छ । पूर्वप्रधानमन्त्री दाहाल र नेपाली कांग्रेस महासमिति सदस्य कुसुमदेवी थापाबीच यसपटक निर्वाचनमा प्रतिस्पर्धा हुने पक्का भएको छ । तत्कालीन माओवादी सशस्त्र युद्धको उद्गम थलोका रूपमा रुकुम पूर्व रहेको छ । यस पृष्ठभूमिमा चुनावी मैदानमा उत्रिएकी कुसुमदेवीका लागि प्रतिस्पर्धा सहज भने छैन ।
दाहालको राजनीतिक अनुभव, पार्टी संगठन र ऐतिहासिक सम्बन्धका कारण ‘हेभिवेट’ उम्मेदवारका रूपमा प्रस्तुत छन् । माओवादीको परम्परागत आधार क्षेत्रमा कांग्रेस उम्मेदवारका लागि चुनौती हुनु स्वाभाविक भएको कुसुमदेवी बताउँछिन् ।
उनी राजनीतिक रूपमा कमजोर उम्मेदवार भने होइनन् । उनी निवर्तमान सांसद हुन् । थापाले विकास, सेवा प्रवाह र जनप्रतिनिधिको भूमिकालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाएकी छन् । दाहाललाई पूर्वप्रधानमन्त्री भएकै कारण र उनको विगत हेरेर आफूले ‘हेभिवेट’का रूपमा नहेरेको उनले बताइन् । ‘दाहाललाई म र मेरो पार्टी हेभिवेट मान्दैनौं,’ उनले भनिन, ‘नाम, इतिहास वा पदको हिसाबले चुनावी नतिजामा फरक पार्दैन । जनताका लागि कसले कस्तो काम गर्यो भन्ने आधार मुख्य हुन्छ ।’
रुकुम जिल्ला हराएको सूचना भन्दै आफूले संसदमा आवाज उठाएको उनले बताइन् । ‘रुकुम पूर्वको अस्तित्व खोज्दा दाहाल नै प्रधानमन्त्री हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यसबेला उहाँले वास्ता नै गर्नु भएन ।’ रुकुम पूर्वमा ८० प्रतिशतभन्दा बढी मगर समुदायको बसोबास छ । आफू पनि सोही समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले चुनावी प्रतिस्पर्धा असहज नभएको उनले बताइन् । उनले दाहालको चुनावी शैलीमाथि पनि प्रश्न उठाएकी छन् ।
‘उहाँ चुनाव लड्न सधैं सुरक्षित ठाउँ खोज्नुहुन्छ । वाचा पूरा गर्न सक्नुहुन्न, अनि अर्को चुनावमा फेरि अर्को सुरक्षित ठाउँमा जानुहुन्छ,’ उनले भनिन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, बहुमूल्य जडीबुटीको संरक्षण, संवर्द्धन र प्रशोधन आफ्ना प्रमुख निर्वाचन एजेन्डा भएको उनले बताइन् । २०७९ को प्रतिनिधिसभा चुनावमा समानुपातिक प्रणालीमार्फत कुसुमदेवी सांसद बनेकी थिइन् । उनले ०५२ सालबाट नेविसंघमार्फत सक्रिय राजनीति सुरु गरेकी थिइन् ।
