राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसपालि बागलुङबाट चुनाव उठेनन्, बसोबास पनि बागलुङमा छैन, समानुपातिकतर्फ उम्मेदवार बनेका छन् तर ‘थ्रेसहोल्ड’ कटाएर संसद्मा छिर्नेमा आफैं ढुक्क छैनन्
What you should know
बागलुङ — आममान्छेका सरोकार, राष्ट्रियता, सुशासन र संघीयताबारे संसद्मा बागलुङे लबजमा खरो भाषण ठोक्न माहिर वामपन्थी नेता हुन् चित्रबहादुर केसी । संघीयताको प्रखर विरोधी, केन्द्रीकृत व्यवस्थाको पक्षपाती र सादगी जीवनशैली उनका थप पहिचान हुन् ।
८४ वर्षीय केसी यसपालिको चुनावमा पनि उम्मेदवार छन्– प्रत्यक्षमा होइन, समानुपातिकमा ।समानुपातिकको उम्मेदवार भए पनि उनी अरू बेलाजस्तै भोट माग्दै घरदैलोमा आइपुग्छन् भनी अनुमान गर्ने बागलुङवासी थुप्रै छन् ।
०५१ देखि चुनावी प्रतिस्पर्धामा उत्रँदै आएका उनी एक पटक पराजित भए, एक पटक समानुपातिकबाट चुनिए र एक पटक उम्मेदवार नै बनेनन् । ०५१ को प्रतिनिधिसभामा उनी बागलुङ–२ बाट पराजित भएका थिए । ०५६ र ०६४ मा बागलुङ–२ बाटै विजयी भए । ०७० मा भने समानुपातिकबाट संविधानसभा सदस्य भए । ०७४ मा उम्मेदवार थिएनन् । ०७९ मा बागलुङ–१ बाट विजयी भए । कात्तिक ०७२ देखि साउन ०७३ सम्म उनी उपप्रधान र सहकारी तथा गरिबी निवारणमन्त्री समेत बने ।
जनमोर्चाले ०५१ र ०५६ एमालेसँग, ०७४ मा एमाले र तत्कालीन माओवादीसँग, ०७९ मा कांग्रेस, माओवादीलगायत दलसँग तालमेल गरेको थियो । केसी ०६४ मा भने कसैसँग तालमेल नगरी विजयी भएका थिए ।
यस पटक बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेल छ । जसअनुसार जनमोर्चाले बागलुङ–१ मा कृष्णप्रसाद अधिकारीलाई अघि सारेको छ, जनमोर्चाको बलियो जनमत रहेको मानिएको बागलुङ–२ मा भने नेकपाका ज्ञाननाथ गैरेलाई सघाउने सहमति छ ।
यस पटक केसी समानुपातिकतर्फ खसआर्य पुरुष समूहको पहिलो नम्बरका उम्मेदवार हुन् । समानुपातिकबाट सांसद बन्न ३ प्रतिशत मतको सीमा (थ्रेसहोल्ड) कटाउनुपर्ने भएकाले केसीका लागि संसद्को यात्रा भने चुनौतीपूर्ण नै छ । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ जनमोर्चाले देशभरबाट ४६ हजार ५ सय ४ मत (०.४४ प्रतिशत) मात्र ल्याएको थियो । निर्वाचन आयोगमा ११० समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको जनमोर्चाले प्रत्यक्षतर्फ ४० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
०७९ को निर्वाचनमा बागलुङ–१ बाट जनमोर्चाका केसी २१ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८ सय ४५ मत ल्याएका थिए । रास्वपाका खिमानन्द कँडेलको ९ हजार १ सय ८१ मत थियो । ०७४ मा भने वाम गठबन्धनबाट एमालेका पाठक ३३ हजार ६ सय ५७ मतसहित विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६ सय १६ मत पाएकी थिइन् ।
जनमोर्चा बागलुङ नगरका अध्यक्ष थानेश्वर सुवेदीले उमेर र स्वास्थ्यका कारण केसीले प्रत्यक्षमा उम्मेदवारी नदिएको बताए ।
‘उमेरका कारण ०७९ को निर्वाचनमा पनि उहाँ उठ्न मान्नुभएको थिएन । हामीले जबर्जस्ती उठाएका थियौं । गठबन्धनका तर्फबाट तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले समेत उहाँलाई चुनावमा उठ्न आग्रह गर्नुभएको थियो,’ उनले भने, ‘यस पटक पनि हामीले प्रत्यक्षमा उम्मेदवार बन्न आग्रह गरेका थियौं । उहाँले मान्नुभएन ।’
केसीकै नाम लिएर देशभर मत माग्न जाने सुवेदीले जनाए । ‘उहाँ जनमोर्चाको लोगो जस्तो हो, राष्ट्रिय व्यक्तित्व हो । जनजीविका र राष्ट्रियताको वकालत गर्न सक्ने उहाँ जतिको नेता अरू कोही देखिएको छैन,’ उनले थपे, ‘उहाँकै नाम लिएर देशभर भोट माग्न जाने आधार तयार पारिदिन पार्टीले अनुरोध गरेपछि उहाँ समानुपातिकमा बस्नुभयो, सुरुमा त समानुपातिकमा पनि बस्न चाहनु भएको थिएन ।’
बागलुङ गलकोट मल्माका केसी हाल बुटवल बस्छन् । उनले ०७९ मा आफ्नो निर्वाचन क्षेत्रका ३७ वडा एक महिना लगाएर डुल्दै भोट बटुलेका थिए । ‘यस पटक भोट माग्न उहाँलाई एक दिन भए पनि बागलुङ बोलाउँछौं,’ सुवेदीले भने ।
केसी ०१४ सालमा १६ वर्षको उमेरदेखि नै कम्युनिस्ट पार्टीको सदस्य बनेर राजनीतिमा लागेका थिए । ०३१ मा उनी केन्द्रीय सदस्य भए । ०४१ मा मसालको महामन्त्री भएका केसी ०५२ मा गठन नभएको राष्ट्रिय जनमोर्चामा अध्यक्ष भए र अहिले पनि त्यही पदमा छन् ।
यसपालि सांसद बन्नेमा केसी आफैं पनि ढुक्क देखिँदैनन् । ‘०८४ मा हुने चुनाव चलखेलका कारण ०८२ मा सर्यो । विदेशी चलखेल बढेको हाम्रो पार्टीको ठहर छ,’ बुटवलमा रहेका उनले टेलिफोनमा भने, ‘जनमोर्चाको नीति, सिद्धान्त लिएर जनताका बीचमा मत माग्न जान्छौं । जनताले कति पत्याउँछन् हेरौं,’ उनले भने, ‘जनमोर्चा सरकारमा जाँदैन भनेर पनि भोट दिँदैनन् ।’
मतदाता नीति, सिद्धान्त, विचारभन्दा पनि पहुँचवाला उम्मेदवार र पार्टीको पछि लाग्ने गरेको केसीको टिप्पणी छ । ‘मेरो राजनीतिक जीवनमा यति साह्रो विदेशी हस्तक्षेप भएको थाहा थिएन । जनता पनि विदेशीसँग लम्पसार पर्छन्, भ्रष्टाचार गर्नेको पछि लाग्छन्,’ उनले भने, ‘यसपालि पनि आफ्नै खुट्टामा आफैं बञ्चरो हान्छन् कि जनपक्षीय उम्मेदवारलाई भोट दिन्छन्, हेरौं ?’ भोट दिनुअघि मतदाताले सोच्नुपर्ने उनको भनाइ छ ।
तीन वर्षदेखि श्रीमतीलाई अल्जाइमर्स भएकाले पार्टी काम र राजनीतिभन्दा पनि उनको उपचारमा लागेको उनले सुनाए । ‘अहिले पनि श्रीमतीलाई उपचार गराउन अस्पतालमा छु । फुर्सद निकालेर मतदाता भेटघाटमा पनि निस्कने विचार छ,’ उनले भने ।
बागलुङ–१ मा जनमोर्चाका कृष्णप्रसाद अधिकारीका अलाबा कांग्रेसबाट भिम श्रीस, एमालेबाट हिराबहादुर केसी, रास्वपाबाट सुशील खड्का, राप्रपाबाट कल्याणविक्रम आचार्य, नेपाल मानवतावादी पार्टीबाट भक्तराम सुनार पनि उम्मेदवार छन् । यस्तै, श्रम संस्कृति पार्टीबाट लालबहादुर घर्ती, मंगोल नेसनल अर्गनाइजेसनबाट गोमाकुमारी बुढामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चित्र सापकोटा, नेसनल रिपब्लिक नेपालबाट सहवीर थापा र नेकपा माओवादीबाट टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् ।
बागलुङ–२ मा कांग्रेसबाट टेकराज पौडेल, एमालेकी मञ्जु शर्मा चालिसे, जनमोर्चासँग गठबन्धन गरेर नेकपाका ज्ञाननाथ गैरे, रास्वपाबाट सोम शर्मा, राप्रपाबाट अञ्चल शाही, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुनको उम्मेदवारी परेको छ । नेकपा माओवादीका लोकेन्द्र घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम कुँवर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मंगोल नेसनल अर्गनाइजेसनका कोपिला घर्ती, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती र नेपाल रिपब्लिक पार्टीका नरबहादुर बुढाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
०७९ को निर्वाचनमा जनमोर्चासहित कांग्रेससँगको गठबन्धनमा विजयी तत्कालीन माओवादीका नेता देवेन्द्र पौडेलले पनि बागलुङको निर्वाचन क्षेत्र छोडेका छन् । पूर्वशिक्षामन्त्री समेत रहेका पौडेल नवलपरासी पश्चिम–२ बाट उम्मेदवार छन् ।
०७९ को निर्वाचनमा पौडेलले बागलुङ–२ बाट २४ हजार ७ सय ९४ मत ल्याएका थिए । उनलाई चुनावमा कांग्रेस र जनमोर्चाको साथ थियो । निकटम प्रतिद्वन्द्वी एमालेकी मञ्जु शर्माले २० हजार १ सय ९३ मत ल्याएकी थिइन् । रास्वपाकी तिला खत्रीले २ हजार ३ सय २७ मत प्राप्त गरेकी थिइन् । ०७४ को निर्वाचनमा वाम गठबन्धनबाट पौडेल नै निर्वाचित भएका थिए ।
उनले २८ हजार ८ सय २७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर पुनले १९ हजार ९ सय ५ मत पाएका थिए ।
चार नगरपालिका, ६ गाउँपालिकासहित १० स्थानीय तह रहेको बागलुङका मतदाताले उम्मेदवारसँग रोजगारी, स्वदेशमै काम गरी खाने वातावरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य र पूर्वाधार चाहन्छन् । बागलुङ–१ अन्तर्गत पर्ने तातोपानीको दलित बस्तीमा कान्तिपुर टिमले चुनावी गतिविधि सोध्दै गर्दा रामबहादुर किसानले फ्याट भने, ‘अरूलाई हेर्यौं पटक–पटक, नयाँलाई हेरौं एक पटक ।’ अहिलेसम्म निर्वाचित भएका नेताहरूले जनचाहनाअनुसार काम गर्न नसकेको उनको भनाइ थियो । ‘नेताहरू पानी जहाज ल्याउने जस्ता ठूला–ठूला गफ दिन्छन् । विकास निर्माणका लागि गाउँमा आएको पैसा फ्रिज भएर जान्छ,’ उनले भने, ‘नगरपालिका बन्यो, चर्को कर तिर्नुपर्छ । हामी जनता अचानोका मासु जस्तो भयौं ।’
स्थानीय सुमिश्रा किसानले पनि त्यस्तै गुनासो गरिन् । ‘वर्षभरि काम गर्दा अन्नले भकारी भर्न सक्दैनौं । जेन–जी आन्दोलनमा नेताहरूको घरभरि पैसा भेटियो । बूढापाका नेताले आफ्नो पेट मात्रै भरे,’ उनले भनिन्, ‘युवा र नयाँ उम्मेदवारलाई यस पटक मौका दिनुपर्छ ।’ २४ भदौमा बागलुङमा पनि प्रदर्शनकारीले कांग्रेस, एमाले, नेकपालगायत दलका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । बागलुङ बडरेकी सीतादेवी भट्टले टिकटक र फेसबुकबाट चुनावबारे थाहा पाएको तर उम्मेदवारहरू भोट माग्न अहिलेसम्म नआएको सुनाइन् । ‘पहिले भोट हालेका नेताले केही गरेनन् । यस पटक गाउँलेको मागअनुसार चल्ने नेतालाई भोट हाल्ने हो,’ उनले भनिन् ।
बागलुङ रामरेखाकी सन्तकुमारी बोहोराले भने चुनावप्रति कुनै उत्साह नभएको बताइन् । ‘भोट हालेपछि नेताले हामीलाई नुनको पोको दिन्छन् र ?’ उनले भनिन्, ‘चित्रबहादुर केसीले बागलुङबाट धेरै पटक चुनाव जिते । उनी संसद्मा तगडा भाषण मात्र गर्ने हुन्, काम केही गरेनन् । नयाँ पार्टी र उम्मेदवार पनि जितेपछि उस्तै हुने त होला ।’
बागलुङ–१ मा सदरमुकामको बागलुङ र जैमिनी नगरपालिका, काठेखोला र बरेङ गाउँपालिका पर्छन् । रुकुम पूर्व र रोल्पासँग सीमा जोडिएको बागलुङ–२ मा ढोरपाटन, गलकोट नगरपालिका तथा निसीखोला, तमान खोला, बडिगाड, ताराखोला गाउँपालिका छन् । बागलुङ र गलकोट नगरपालिका, काठेखोला, निसीखोला, तमानखोला, बडिगाड गाउँपालिकामा प्रमुख कांग्रेसले जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका प्रमुख जनमोर्चाले जितेको छ । ढोरपाटन नगरपालिकामा एमाले र ताराखोला गाउँपालिकामा नेकपाले प्रमुख जितेका छन् ।
कान्तिपुर टिम बागलुङको माझीबस्ती पुग्दा स्थानीय बासिन्दा बाटो ढलान गर्न व्यस्त थिए । बस्तीमा बाटो ढलान गर्ने कामदारलाई चिया पकाउँदै गरेकी देवकुमारी माझीले भनिन्, ‘भोट पाएका नेताहरू झन्झन् धनी भए, गरिब जनता भने झन् पछाडि परे । अब त्यस्तो नहोस् ।’ माझीबस्तीका ७१ वर्षीय सोम माझी पहिले पर्वत र बागलुङ जोड्ने खनियाँबास घाटमा डुंगा चलाउँथे । पुल बनेपछि यात्रुलाई डुंगाबाट कालीगण्डकी वारपार गराउने काम बन्द भएको छ । ‘चुनाव जित्ने नेताले छोराबुहारीलाई सानोतिनो काममा झुन्डाइदिए हुन्थ्यो,’ उनले भने, ‘यही आसमा धेरै पटक भोट हालियो । जति भोट हाले पनि दुःख उस्तै रह्यो ।’
माझीबस्तीमा १७ घर छन् । बागलुङ–पोखरा सडक विस्तार गर्दा बाङ्गे चौरबाट उनीहरू विस्थापित भएर कालीगण्डकी किनारमा पुगेका थिए । स्थानीय तहले जग्गा किनेर उनीहरूलाई बसोबासको व्यवस्था मिलाइदिएको छ ।
जेन–जी आन्दोलनपछि जिल्लाको राजनीतिक परिदृश्य फेरिएको धौलागिरी बहुमुखी क्याम्पस बागलुङका इतिहास विषयका प्राध्यापक रामप्रसाद उपाध्याय बताउँछन् । ‘जिल्लाको राजनीतिमा नयाँपन आउने लक्षण देखिएको छ,’ उनी भन्छन्, ‘पुराना पार्टीसँगै नयाँ पार्टीको सांगठनिक गतिविधि गाउँगाउँ पुगेको छ ।’ बागलुङ र आसपासका पहाडी जिल्लामा जबर्जस्त नयाँ दलको उपस्थिति भए पनि मत परिणामबारे अहिल्यै यकिन भन्न नसकिने उनको भनाइ । ‘पुराना दल र पुराना नेताप्रति नागरिकको निराशा देखिन्छ । बागलुङले इमानदार नेतृत्वसँगै दिगो विकास खोजेको छ,’ उपाध्याय भन्छन्, ‘चित्रबहादुर केसी इमानदार भए पनि केन्द्रसम्म नेटवर्क भएन । जिल्लाले उनीबाट खासै लाभ लिन सकेन, बलियो पार्टीको इमानदार नेतृत्व मतदाताले खोजेका छन् ।’
कांग्रेस जिल्ला सचिव हरिहर शर्मा बागलुङमा विकास निर्माण गर्दै नयाँ पुरानो पुस्ताको नेतृत्व गरेर जान सक्ने पार्टी कांग्रेस नै रहेको दाबी गर्छन् । ‘कालीगण्डकीदेखि ढोरपाटनको शिरसम्म विकास निर्माणको लहर ल्याउन पुरानादेखि नयाँ जेन–जी मतदातालाई सँगसँगै लैजान हामी तयार छौं,’ उनी भन्छन्, ‘कांग्रेसले नयाँ नेतृत्व पाएको छ । जनतामा उत्साह छ । एकजुट भएर मत माग्छौं ।’
चुनावमा एमाले, नेकपा, जनमोर्चा र रास्वपासँग स्वस्थ प्रतिस्पर्धा हुने शर्माको भनाइ छ । ‘पार्टी संगठनलाई निर्वाचन केन्द्रित कार्यक्रममा जोडिएको छ । गठबन्धनप्रति मतदाताको वितृष्णा छ । एक्लै प्रतिस्पर्धामा उत्रेर जित निकाल्छौं,’ उनी भन्छन् ।
बागलुङका जेन–जी अगुवा रोहन भण्डारीले स्थानीय युवाले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा यस पटक मतदान गर्ने बताए । ‘अस्पताल, स्कुल, क्याम्पसलगायत सार्वजनिक संस्थामा अति राजनीतीकरण भएको छ । हामी त्यसको अन्त्य चाहन्छौं । सरकारी बजेट दुरुपयोग हुन्छ । पहुँचवालाले बजेट लैजाने परिपाटी अन्त्य गर्न सक्ने उम्मेदवारलाई भोट दिन्छौं,’ उनले भने ।
जिल्लामा ५ हजार २ सय ५३ नयाँ मतदाता थपिएका छन । पुरुषभन्दा महिला मतदाताको संख्या बढी छ । ९८ हजार ५ सय ७४ महिला, ९४ हजार ८ सय ६ पुरुष र १ अन्य मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नं. १ मा ९८ हजार ४६ र क्षेत्र नं. २ मा ९५ हजार ३ सय ३५ मतदाता छन् । एमाले जिल्ला सचिव गणेश थापा विगतको मतपरिणाम, चिरपरिचित उम्मेदवार, जनताको विश्वासमा यसपालि एमालेले जित सुनिश्चित गरेको दाबी गर्छन् । ‘एमाले स्थायित्व, विकास निर्माण र समृद्धि चाहन्छ । यहाँका मतदाता पनि रोजगारी र विकास निर्माण चाहन्छन्,’ उनी भन्छन्, ‘मतदाता सबैभन्दा बढी एमालेप्रति आशावादी देखिन्छन् ।’
नेकपा जिल्ला संयोजक पिंगलराज गौतम कम्युनिस्टहरूको उर्बरभूमि बागलुङमा विगतको कमीकमजोरी सुधार गरेर जाँदा मतदाताको विश्वास जित्न सकिने बताउँछन् । ‘वामपन्थीहरूबीच नै प्रतिस्पर्धा हुँदा अरू पार्टीले जित्ने गरेका छन् । यस पटक नेकपा र जनमोर्चा जुटेर गएपछि जनताले हामीलाई नै जिताउँछन्,’ उनी भन्छन्, ‘नीति, कार्यक्रम र सिद्धान्त नभएका नयाँहरूको प्रभाव पर्दैन, उनीहरू पुराना पार्टीका कमीकमजोरी देखाएर मात्र आएका हुन् ।’
रास्वपाका चुनाव प्रचार समिति संयोजक रोशन कार्की मतदाताले परिवर्तन र नयाँपन खोजेकाले आफ्नो पार्टीको जित हुने तर्क गर्छन् । उनी भन्छन्, ‘रास्वपाले नयाँ, सक्षम र सबल उम्मेदवार उठाएको छ । मतदाताले हामीलाई नै विश्वास गर्छन् ।’
