बालेन्द्रले काठमाडौंमा* धर्मगुरु आत्मनन्दको आशीर्वाद लिए

धर्मगुरु आत्मनन्दसँग बालेन्द्र शाहले भेटेका तस्बिरहरु सामाजिक सञ्जालमा छाएपछि राजनीतिक तहमा थप चासो पैदा भएको छ ।

माघ १३, २०८२

पर्वत पोर्तेल

Balendra sought blessings from religious leader Atmananda in Kathmandu*

What you should know

विराटनगर — कोशी भेगमा उम्मेदवार बन्ने नेताहरू प्रायः इलामको लारुम्बास्थित किरात धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शन गरेरै चुनावी अभियान थाल्ने गर्छन् । अघिल्लो वर्ष इलाम–१ को उपनिर्वाचनताका कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म धर्मगुरु भेट्न लारुम्बा पुगेका थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि दिवंगत एमाले नेता सुवास नेम्वाङसम्मका वरिष्ठ नेताहरू चुनावमा ‘जित सुनिश्चित’ गर्न लारुम्बा पुग्ने परम्परा निकै पुरानो हो । पूर्वप्रधानमन्त्री केपी ओली त बर्सेनि गुरुसँग ‘आशीर्वाद’ लिन जाने गरेका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचन ताका ओली पूर्वसभामुखसहित लारुम्बा पुगेका थिए । 

झापा-५ बाट आठौं पटक प्रतिनिधिसभा उम्मेदवार बनेका ओलीभन्दा अगाडि नै सोही क्षेत्रमा उम्मेदवारी दर्ता गराएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह धर्मगुरुको 'चरण'मा पुगेका छन् । बालेन्द्रले यसपालि ओलीलाई उछिनेर माघ २ गते काठमाडौंको धापासी हाइटस्थित टोखा–४ मा रहेको धर्मगुरु आत्मनन्द लिङ्देनको निजी आश्रममा पुगी उनको आशिर्वाद लिएका हुन् । धर्मगुरु आत्मनन्दसँग शाहले भेटेका तस्बिरहरु सामाजिक सञ्जालमा छाएपछि राजनीतिक तहमा थप चासो पैदा भएको छ ।

उम्मेदवारहरूका लागि लारुम्बाका धर्मगुरुसँगको भेटघाट चुनावी अभियानको अनौपचारिक शुभारम्भसरह मानिन्छ । किरात धर्मगुरु आत्मनन्द लिङ्देनका अनुयायी इलामका फाकफोकथुम, माङ्सेबुङ, माई, देउमाई र चुलाचुली आसपासका क्षेत्रमा मात्रै सीमित छैनन् । उनीहरूको उपस्थिति झापा–५ मा पनि उल्लेख्य छ । जहाँ यसपटक पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र बालेन्द्र चुनावी मैदानमा छन् । 

यही प्रभावको कारण, दशकौंदेखि यस क्षेत्रमा चुनाव लड्ने प्रमुख नेताहरू लारुम्बा पुगेर आशीर्वाद लिनु परम्परा जस्तै बनिसकेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, दिवंगत नेता तथा पूर्वसभामुख सुवास नेम्वाङदेखि लिएर एमाले अध्यक्ष ओलीसम्मका शीर्ष नेताहरूले धर्मगुरुको भेटलाई ‘चुनावी शुभ संकेत’ को रूपमा ग्रहण गर्दै आएका छन् । विशेषतः ओली त हरेक वर्ष धार्मिक कार्यक्रमका नाममा वा विशेष भेटघाटका लागि लारुम्बा जाने गर्छन् । आठौँ पटक यो क्षेत्रमा उम्मेदवार बनेका ओली हरेक पटक लारुम्बा जाने गरेका छन् । 

धर्मगुरु आत्मनन्दसँगको भेटमा शाहले भनेका थिए– ‘आर्शीवाद ग्रहण गर्न आएँ । देशको सेवा गर्न पाऊँ ।’

जवाफमा धर्मगुरु आत्मनन्दको प्रतिक्रिया थियो, ‘प्रधानमन्त्री भएर मेरो घरमा आउनू ।’

कोशी प्रदेशको नामकरणका कारण पहिचानवादी समुदायको असन्तोष अझै छ । किरात समुदाय विशेषतः असन्तुष्ट छ । धर्मगुरु स्वयंले पनि नामकरण प्रक्रियाप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन् । ठीक यही बेला बालेन्द्रले धर्मगुरुसँगको निकटता प्रदर्शन गर्ने कुरालाई महत्त्वका साथ हेरिएको छ ।

झापा-५ मा उम्मेदवारी दर्ता भएपछि बालेन्द्र ताप्लेजुङको पाथिभरा र त्यसअघि नै जनकपुरको राम–जानकी मन्दिरसम्म पुगेर दर्शन गरेका थिए । 

*यसअघिको समाचारमा बालेन्द्रले धर्मगुरु आत्मनन्दलाई काठमाडौंमा भेटेको हुनुपर्नेमा लारुम्बामा भेटेको भएकोमा भूल सुधारसहित सच्याइएको छ ।-सम्पादक

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully