जाजरकोटमा प्रतिष्ठाको लडाइँ

नेकपा उम्मेदवार शक्तिबहादुर चौथोपल्ट सांसद बन्ने होडमा, बदला लिने दाउमा एमालेका डम्मरबहादुर सिंह र चुनौती दिँदै कांग्रेस उम्मेदवार खडकबहादुर बुढा ।

माघ १३, २०८२

कृष्णप्रसाद गौतम

A battle for prestige in Jajarkot

What you should know

सुर्खेत — गत निर्वाचनमा ३४ हजार १ सय ५१ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शक्तिबहादुर बस्नेत चौथोपल्ट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

बस्नेत २०७४ सालको निर्वाचनमा ३२ हजार २ सय ८१ विजयी भएका थिए भने २०७० सालको संविधानसभाको दोस्रो निर्वाचन जित्दै संसदीय यात्रा थालेका थिए । उनी वन तथा वातावरण र गृहमन्त्रीसमेत बने ।

‘जाजरकोटको विकास र समृद्धिको यात्रालाई थप उचाइमा पुर्‍याउन फेरि उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘जनताले दिएका केही कार्यभार पूरा गर्न अझै बाँकी छ ।’ उनी आफ्नो विरासत कायम राख्न चाहन्छन् भने अरू पार्टीका उम्मेदवार उनको 'गढ' भत्काउने गरी चुनावी अभियानमा जोडिएका छन् । 

एमालेले केन्द्रीय सदस्य डम्मरबहादुर सिंहलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । उनी र नेकपाका बस्नेतबीच दोस्रोपल्ट चुनावी प्रतिस्पर्धा हुँदैछ । सिंह पार्टीको केन्द्रीय सदस्य हुन् । ६१ वर्षीय सिंहले २०५६ सालमा शिक्षकबाट राजीनामा दिएर राजनीति थालेका थिए । उनी उपसचिव, सचिव हुँदै चितवनमा सम्पन्न दसौं महाधिवेशनमा पहिलोपल्ट केन्द्रीय सदस्य बने । यो उनको दोस्रो कार्यकाल हो ।

२०७० सालको प्रतिनिधिसभा सदस्य उनी बस्नेतसँग पराजित भएका थिए । त्यस्तै २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस उम्मेदवार वेदराज सिंह १८ हजार ५ सय ४३ मतसहित विजयी हुँदा सिंहले ११ हजार ४ सय ७० मतमा चित्त बुझाए । ‘सुशासन, विकास र समृद्धि नै हाम्रो एजेन्डा हो,’ उनी भन्छन्, ‘बलियो संगठन, क्रियाशीलता र पार्टीले विगतमा गरेका जनप्रिय कामहरू नै मेरो विजयको आधार हो ।’

त्यस्तै कांग्रेसले युवानेता खडकबहादुर बुढालाई पहिलोपल्ट उम्मेदवार बनाएको छ । उनी पार्टीका जिल्ला उपसभापति हुन् । नेपाल विद्यार्थी संघबाट राजनीति थालेका उनी २०६४ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापति थिए । जेन–जी पुस्ताको मागअनुसार नै आफूले उम्मेदवारी दिएको उनले दाबी गरे । ‘हिजो, आज र भोलिको जाजरकोटको रोडम्यापसहित मेरो उम्मेदवारी छ,’ उनले भने, ‘हिजो जिल्लावासीले भोगेका पीडा के छन् ?, जिल्लाका हरेक सवाललाई राज्यसँग जोड्ने र सुशासन, विकास तथा समृद्धिको बाटोमा लैजाने एजेण्डासहित मतदातामाझ पुगिरहेको छु ।’ जेन्जीसहित सबै वर्ग, लिंग र समुदायका माग आफ्नो प्राथमिकतामा रहेको उनले बताए । 

जाजरकोटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राघव कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्णविक्रम शाहलगायत ११ जनाले उम्मेदवारी दिएका छन् । तर अन्य पार्टीको संगठन खासै नभएकाले मुख्य तीन पार्टीका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने नागरिक अगुवा बालकुमार शर्माले बताए । जितेर गएका उम्मेदवारको बेवास्ताका कारण लामो समयदेखि जाजरकोटमा सरकारी सेवाप्रवाह, विकास निर्माणलगायतका कामहरू प्रभावकारी हुन नसकेको उनको गुनासो छ ।

‘दुई वर्षदेखि भूकम्पपीडित स्थायी टहरोमा बस्न बाध्य छन्, यहाँका समस्याबारे संघीय सरकारको कहिल्यै ध्यान गएन,’ उनले भने, ‘अब अवस्था फेरिएको छ, मतदाताले सबैभन्दा सक्षम र योग्य उम्मेदवारलाई विजयी बनाउन जरुरी छ ।’ उनले यो निर्वाचनमार्फत जेनजी पुस्ताको मागअनुसार युवा रोजगारी, सुशासन, आर्थिक समृद्धि र विकासको एजेण्डालाई संस्थागत गर्न जरुरी रहेको बताए । 

गत प्रतिनिधिसभा निर्वाचनमा नेकपा उम्मेदवार बस्नेत पूर्व ्माओवादीबाट ३४ हजार १ सय ५१ मतसहित विजयी भएका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेस र पूर्वमाओवादीबीच गठबन्धन भएको थियो । त्यस्तै प्रदेशसभा १ (१) मा कांग्रेसका वेदराज सिंह १८ हजार ५ सय ४३ र कांग्रेसकै राजीबविक्रम शाह १ (२) मा १६ हजार ४० मतसहित विजयी भएका थिए । ७ स्थानीय तह रहेको जाजरकोटमा कांग्रेसले ३, एमालेले ३ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक स्थानमा प्रमुख/अध्यक्ष जितेको छ भने कांग्रेस र नेकपाले ३/३ तथा एमालेले एक स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जितेको छ । 

जाजरकोटमा १ लाख ७ हजार ९१ मतदाता छन् । जसमध्ये पुरुष ५६ हजार ७ सय ५ र महिला ५० हजार ३ सय ८४ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभरि ८८ मतदानस्थल र १ सय ४६ मतदान केन्द्र कायम गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचनका लागि आवश्यक पूर्वतयारी भइरहेको र शान्तिसुरक्षाको अवस्था सामान्य रहेको जानकारी दिए । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully