दाहाललाई दबाबमा राख्न एमालेले गर्‍यो जनार्दनसँग तालमेल

रुकुम पूर्व र पश्चिम दिएर एमालेले कर्णाली र लुम्बिनीका ११ जिल्लामा प्रलोपाको समर्थन लिएको छ भने दाङ–२ र कालीकोटमा नेकपा (माओवादी) सँग सहकार्य हुँदै छ ।

माघ १२, २०८२

गंगा बीसी

UML colluded with Janardan to put pressure on Dahal

What you should know

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रमै ६ माघमा उम्मेदवारी दिएको एमालेले एकपछि अर्को चुनावी तालमेलको निर्णय गरिरहेको छ ।

उम्मेदवारी फिर्ता लिने समय घर्किसकेपछि आइतबार एमालेले कर्णाली र लुम्बिनीका १३ जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग तालमेल गरेको छ । मनाङमा यसअघि कांग्रेसलाई सहयोग पुग्ने गरी एमालेले उम्मेदवारी फिर्ता लिएको थियो ।

एमालेले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट, मुगु, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिम तथा लुम्बिनीका रुकुम पूर्व, दाङ, रोल्पा र प्यूठानमा प्रलोपासँग चुनावी तालमेल गरेको हो । तीमध्ये रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई सघाउने र अन्य जिल्लामा प्रलोपाले एमाले उम्मेदवारलाई मत दिने सहमति आइतबार दुई दलले गरेका हुन् । सहमतिपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा र प्रलोपा अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् । 

एमालेले प्रलोपालाई सघाउन लागेको रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल उम्मेदवार छन् । पूर्वमाओवादी नेताहरूसमेत भएर गठन गरिएको प्रलोपाले त्यहाँ सन्दीप पुनलाई प्रतिस्पर्धामा उतारेको छ । रुकुम पश्चिममा तत्कालीन माओवादीमा उपमहासचिव रहेका प्रलोपाका संरक्षक उम्मेदवार छन् । नेकपाका तर्फबाट रुकुम पश्चिममा गोपाल शर्माको उम्मेदवारी छ । 

दुई दलबीच भएको सहमतिपत्रमा ‘प्रलोपाका रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिह्नमा एमालेद्वारा मतदान गर्ने सहमति भएको छ’ भनिएको छ । एमालेले रुकुम पूर्वमा लीलामणि गौतम र रुकुम पश्चिममा नन्दराम देवकोटालाई उम्मेदवार बनाएको थियो । एमालेका एक नेताका अनुसार २०८४ मा हुने प्रदेशसभा निर्वाचनमा प्रलोपाले एमाले उम्मेदवारलाई सहयोग गर्ने समझदारी बनेको छ । 

 एमाले अध्यक्ष केपी शर्मा ओली र प्रलोपाका संरक्षक जनार्दन शर्माबीच दुई साताअघि भक्तपुरको गुन्डुमा तालमेलबारे छलफल भएको थियो । एमाले महासचिव शंकर पोखरेलले दाङ घोराहीमा आइतबार रुकुम पूर्वका उम्मेदवार लीलामणि गौतम सहभागी कार्यक्रममा प्रलोपासँग भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिएका थिए । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले रुकुम पूर्व र रुकुम पश्चिमका साथै कर्णालीका हुम्ला र जुम्लाबाहेकका जिल्लामा प्रलोपासँग भएको तालमेल सहमति इमानदारसाथ कार्यान्वयन हुने बताए । 

रुकुम पूर्वमा माओवादी पृष्ठभूमिका प्रलोपा उम्मेदवार सन्दीप पुनलाई एमालेले सहयोग गर्ने भएपछि नेकपा संयोजक दाहाल दबाबमा परेका छन् । २०७९ को निर्वाचनमा रुकुम पूर्वमा समानुपातिकतर्फ तत्कालीन माओवादीलाई ८ हजार २ सय ७१ मत खसेको थियो । कांग्रेसलाई ५ हजार ६ सय ९२ र एमालेलाई ३ हजार ६ सय ५९ मत परेको थियो । प्रत्यक्षतर्फ कांग्रेस–माओवादीबीच गठबन्धनबाट माओवादीका पूर्णबहादुर घर्तीे १२ हजार २ सय ६२ मत ल्याएर विजयी भएका थिए । एमालेका कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत पाएका थिए । 

२०७९ मा रुकुम पश्चिममा समानुपातिकतर्फ माओवादीले ३४ हजार ३ सय ४७, एमालेले ८ हजार ७ सय ६९ र कांग्रेसले ८ हजार ७ सय ६६ मत ल्याएका थिए । त्यति बेला रुकुम पश्चिमबाट माओवादीबाट जनार्दन शर्मा विजयी भएका थिए, जो अहिले प्रलोपाबाट उम्मेदवार छन् । शर्माको पक्षमा ३९ हजार ५ सय ४९ मत परेको थियो । निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याएका थिए । त्यहाँ माओवादीले कांग्रेस, एकीकृत समाजवादीलगायत दलसँग तालमेल गरेको थियो । रुकुम पश्चिममा १ लाख ६ हजार ६ सय ६० मतदाता छन् । यो संख्या २०७९ को तुलनामा २ हजार ३ सय ८० ले बढी हो । 

कालीकोटमा प्रलोपाबाट सहयोग लिने सहमति भए पनि एमालेले उक्त क्षेत्रमा नेकपा (माओवादी) लाई सघाउने अनौपचारिक सहमति बनेको नेताहरू बताउँछन् । त्यसको साटो माओवादीले दाङ–२ मा एमालेलाई सघाउने उनीहरूको भनाइ छ । कालीकोटमा माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल उम्मेदवार छन् ।

गंगा बीसी

Link copied successfully