राष्ट्रिय सभाका १७ सिटका लागि आज मतदान, १ निर्विरोध

कांग्रेस–एमाले–जसपा नेपालको गठबन्धन, १७ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा 

माघ ११, २०८२

राजेश मिश्र

Voting for 17 National Assembly seats today, 1 unopposed

What you should know

काठमाडौँ — राष्ट्रिय सभामा १७ सदस्य चयन गर्न आइतबार मतदान हुँदै छ । आगामी २० फागुनबाट १९ पद रिक्त हुन लागेकामा एक सदस्य निर्विरोध निर्वाचित भइसकेकाले र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने भएकाले बाँकी पदका लागि निर्वाचन हुन लागेको हो ।

संविधानको धारा ८६ (३) मा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएर रिक्त हुने स्थानका लागि पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने उल्लेख छ । जुन प्रदेशबाट सिट रिक्त हुन लागेको हो, त्यही प्रदेशभित्रका मतदाताबाट नयाँ सदस्य निर्वाचित गर्ने व्यवस्था छ । मदान प्रदेश राजधानीमा हुनेछ । 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनका अनुसार आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै गणना थाल्ने तयारी छ । 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, पालिका प्रमुख/अध्यक्ष र उपप्रमख/उपाध्यक्ष मतदाता हुन्छन् । ७ वटा प्रदेशसभाका ५ सय ५० सदस्य तथा ७ सय ५३ पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष कुल २ हजार ५६ मतदातामध्ये विभिन्न कारणले १४ स्थान पहिले नै रिक्त छन् ।

आसन्न प्रतिनिसभा निर्वाचनमा उम्मेदवारी दिन प्रदेशसभाका १६ र स्थानीय तहका ११ पदाधिकारीले राजीनामा दिएका छन् । पछिल्लो समय राजीनामा दिनेको नाम मतदाता नामावलीमा रहे पनि मत दिन नपाउने निर्वाचन आयोगले जनाएको छ । 

आयोगले प्रकाशन गरेको मतदाता नामावलीमा ५ सय ४५ प्रदेशसभा सदस्य र पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष १ हजार ४ सय ९७ जनाको नाम छ । प्रदेशसभा सदस्यको एक मत बराबर ५३ मतभार रहेको छ । पालिका पदाधिकारीको मतभार १९ छ ।

कोशी प्रदेशबाट ‘अन्य’ समूहबाट चुनिने एक सिटमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा छन् । कांग्रेस, एमाले र जसपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको नयाँ नेतृत्वले राष्ट्रिय सभाका लागि पहिल्यै भइसकेको चुनावी गठबन्धन यथावत् रहेको भनिसकेको छ । गठबन्धनबाट कांग्रेसले ९, एमालेले ८ र जसपाले १ स्थानमा उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीले १७ स्थानमा उम्मेदारी दिएको छ ।

राष्ट्रिय सभामा कोशी प्रदेशबाट महिला र दलित समूहबाट १/१ जना छान्न मतदान हुँदै छ । त्यहाँ महिला सिटमा एमालेकी रोश्नी मेचे र नेकपाकी नमिता न्यौपाने प्रतिस्पर्धामा छन् । दलित सिटमा एमालेका सोमनाथ पोर्तेल र नेकपाका खेमराज नेपालीको उम्मेदवारी परेको छ । 

मधेश प्रदेशमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा १/१ जना गरी ४ सिटका लागि मतदान हुँदै छ । महिला सिटमा एमालेबाट रेखाकुमारी झा, नेकपाबाट शमीकुमारी अग्रवाल र जसपा नेपालबाट चन्द्रकलादेवी साहले उम्मेदवारी दिएका छन् । दलित सिटमा कांग्रेसका धर्मेन्द्र पासवान, नेकपाका शम्भु पासवान हजारी र जसपा नेपालकी चमेली देवी दासको उम्मेदवारी परेको छ । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट कांग्रेसका रञ्जित कर्ण, नेकपाका रामनन्दन प्रसाद र जसपा नेपालका शैलेशकुमार चौधरी प्रतिस्पर्धामा छन् । 

अन्य समूहबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दिएका छन् । उनलाई कांग्रेस र एमाले तथा जसपा नेपालको साथ छ । नेकपाले लक्ष्मण पौडेललाई उम्मेदवार बनाएको छ । लोसपासँग पार्टी एकीकरण गरेको जसपा नेपालले गठबन्धनलाई सहयोग गर्ने भन्दै पार्टीका तर्फबाट दिएको उम्मेदवारीलाई निष्क्रिय बनाएको घोषणा गरेको थियो । 

१ सय ७ सदस्यीय मधेश प्रदेशसभा सदस्यमा ३ जना निलम्बित छन् । प्रदेशसभा सदस्यहरू जसपाका सरोजसिंह कुशवाहा (महोत्तरी), एमालेका दीपेन्द्रकुमार ठाकुर (धनुषा) र लोसपाका अभिराम शर्मा (महोत्तरी) निलम्बित छन् । 

बागमती प्रदेशमा महिला १ र अन्य समूहबाट १ गरी दुई सिटका लागि निर्वाचन हुँदै छ । महिला सिटमा कांग्रेसले गीता देवकोटा, नेकपाले सरोजकुमारी झा, नेमकिपाले कविता महर्जनलाई उम्मेदवार बनाएका छन् । अन्य समूहबाट चुनिने सिटमा एमालेबाट प्रेमप्रसाद दंगाल, नेकपाबाट प्रेमप्रसाद सापकोटा र नेमकिपाबाट विक्रम ढुकुछुले उम्मेदवारी दिएका छन् । 

गण्डकी प्रदेशमा पनि महिला १ र अन्य समूहको १ गरी २ सिटका लागि राष्ट्रिय सभाको मतदान हुँदै छ । महिला सिटमा एमालेबाट सम्झना देवकोटा, नेकपाबाट गोमा लुइँटेल घिमिरे र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बाँस्कोटा प्रतिस्पर्धामा छन् । अन्य समूहको सिटमा कांग्रेसका जगत तिमिल्सिना, नेकपाका कपिल लामा, राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल उम्मेदवार छन् ।

लुम्बिनीमा महिला १, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १ र अन्य समूहबाट १ गरी ३ सिटका लागि निर्वाचन हुन लागेको हो । कांग्रेस–एमाले गठबन्धनबाट एमाले नेता रामकुमारी झाँक्री उम्मेदवार बनेकी छन् । नेकपाबाट दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाबाट पद्मा पण्डितले उम्मेदवारी दिएका छन् । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट कांग्रेसका वासुदेव घिमिरे र नेकपाका सर्जन विक उम्मेदवार छन् । अन्य समूहबाट कांग्रेसका चन्द्रबहादुर केसी, नेकपाका वृहस्पति अधिकारी र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्रीले उम्मेदवारी दिएका छन् । 

कर्णाली प्रदेशबाट महिला १ र अन्य समूहबाट १ गरी २ सिटका लागि निर्वाचन हुँदै छ । महिला सिटमा एमालेबाट मीनासिंह रखाल र नेकपाबाट अञ्जु महतराको उम्मेदवारी परेको छ । अन्य सिटमा कांग्रेसका ललितजंग शाही र नेकपाका बुद्धिप्रसाद शर्माको उम्मेदवारी छ । 

सुदूरपश्चिममा महिला र अन्य समूहका १/१ सिटमा निर्वाचन हुन लागेको छ । महिला सिटमा एमालेबाट लीलाकुमारी भण्डारी र नेकपाबाट रोजी बस्नेतको उम्मेदवारी छ । त्यस्तै, अन्य समूहको सिटमा कांग्रेसबाट खम्मबहादुर खाती र नेकपाबाट टीकाराम जैसीले उम्मेदवारी दिएका छन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully