कृषि उद्यममा उदाहरणीय गीता राष्ट्रिय सभा सदस्यमा निर्वाचित

गीता सफल मौरी पालक किसान हुन् । उनले २०५२ सालमा दुई घारबाट मौरी पालन सुरु गरेर दुई सय घार पुर्‍याएकी थिइन् । उनी नेपाल मौरी पालक महासंघको केन्द्रीय उपाध्यक्षसमेत भइसकेकी छन् ।

माघ ११, २०८२

रमेशकुमार पौडेल

Exemplary agricultural entrepreneur Geeta elected as National Assembly member

What you should know

चितवन — गीता देवकोटा राजनीति, समाजसेवा र कृषि उद्यमको क्षेत्रमा चितवनमा चिनिएको नाम हो । राजनीतिमा लामो समय बिताए पनि कुनै ठूलो पदमा नपुगेकी देवकोटा आइतबार राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भइन् । राष्ट्रिय सभाका लागि महिला समूहबाट बागमती प्रदेशमा नेपाली कांग्रेसकी उम्मेदवार रहेकी देवकोटा कांग्रेस-एमाले गठबन्धनबाट विजयी बनेकी हुन् ।

देवकोटाले ६ हजार २ सय ३९ मत मतभार ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपाका सरोजकुमारी झाको दुई हजार ५ सय २२ र अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका कविता महर्जनको १ सय ९७ मतभार आयो ।

गीता सफल मौरी पालक किसान हुन् । उनले २०५२ सालमा दुई घारबाट मौरी पालन सुरु गरेर दुई सय घार पुर्‍याएकी थिइन् । उनी नेपाल मौरी पालक महासंघको केन्द्रीय उपाध्यक्षसमेत भइसकेकी छन् । 

२०२८ सालमा चितवन रत्ननगर–१२ मा जन्मेकी गीताको २०४५ सालमा विलभद्र देवकोटासँग विवाह भएको थियो । २०४९ सालमा मोटरसाइकल दुर्घटनामा परेर श्रीमान‍्को देहान्त भएको थियो । देवकोटा एकल महिलाको हक अधिकारका लागि पनि समाजसमा क्रियाशील रहँदै आएकी छन् । उनी विद्यार्थीकालमै २०४४ सालमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न भएकी थिइन् ।

उनको पार्टी राजनीतिको सुरुवात २०५१ सालमा कांग्रेसको साधरण सदस्य लिएर भएको थियो । २०५३ सालमा पार्टीको क्रियाशील सदस्यता लिइन् । २०५४ सालको स्थानीय निर्वाचनमा उम्मेदवार भएर तत्कालीन पिठुवा गाउँ विकास समितिका–३ को वडा सदस्यमा निर्वाचित भएकी उनी त्यसपछि उपल्लो पदमा निर्वाचित भएको अहिले नै हो । तर राजनीति, समाजसेवा र कृषि उद्यम कहिल्यै छाडिनन् ।

नेपाल महिला संघको गाविस उपसभापति, क्षेत्रीय समिति सदस्य, जिल्ला कार्य समिति सदस्य र महाधिवेशन प्रतिनिधि तथा कांग्रेस पार्टीको पिठुवा गाउँ कार्य समिति सदस्य, क्षेत्रीय समिति सदस्य, जिल्ला कार्य समितिको आमन्त्रित सदस्य भइन् । १२ र १३ औं महाधिवेशनमा कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा १४ औं महाधिवेशनमा महासमिति सदस्य बनेकी थिइन् । 

रेडक्रस, सहकारी, विद्यालय व्यवस्थापन समिति र मठ मन्दिरहरूमा पनि उनको संलग्नता र सक्रियता रहँदै आयो । एकल महिला नगर स्तरीय समन्वय समितिको अध्यक्ष भएर महिला हकहितका लागि क्रियाशील बनिन् । समुदायसँग लामो समयदेखि अन्तर्क्रिया गर्दै आएको आफ्नो अनुभवले राष्ट्रिय सभामा राष्ट्रहित र सामाजिक न्यायका पक्षमा भूमिका खेल्न सक्ने उनले बताइन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully