चारै सुरक्षा निकायमा निर्वाचन सेल

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पनि बनाइयो केन्द्रीय संयुक्त निर्वाचन सेल

माघ ११, २०८२

मातृका दाहाल

Election cells in all four security agencies

What you should know

काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सरकार र सुरक्षा निकायहरूले तहगत संयन्त्र स्थापना गरेका छन् । गृह मन्त्रालय, चारवटै सुरक्षा निकाय, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा समन्वय र व्यवस्थापन संयन्त्रहरू बनाएका हुन् । 

गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समिति बैठकबाट स्वीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२ अनुसार तहगत संयन्त्रहरूलाई सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिइएको छ ।

केन्द्रीय सुरक्षा समितिको निर्देशन र ‘सुपरभिजन’मा रहने गरी गृह मन्त्रालयमा सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा चारवटै सुरक्षा निकायका अधिकारीहरू सम्मिलित केन्द्रीय कमान्ड पोस्ट गठन भइसकेको छ । 

कमान्ड पोस्टबाट भएका निर्णय कार्यान्वयन र एकीकृत समन्वय गर्न मन्त्रालयमै सुरक्षा समन्वय महाशाखा प्रमुख रहेका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिहरू सम्मिलित केन्द्रीय संयुक्त निर्वाचन सेल बनेको छ ।

यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना प्रधान कार्यालयमा ‘अपरेसन’ हेर्ने विभागमै निर्वाचन सेल बनाएका छन् । सोही संयन्त्रले देशभरका मातहत युनिटबाट ‘ब्रिफिङ’ लिने र माथिबाट भएका निर्देशन कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको हो ।

त्यसका लागि सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागका हेडक्वार्टर अलाबा प्रदेशदेखि जिल्ला तहका युनिटमा पनि निर्वाचन सेल बनाइएको छ ।

प्रदेश तहबाट समन्वय गर्न सातवटै प्रदेशमा प्रमुख सचिवको नेतृत्वमा प्रदेशका सुरक्षा प्रमुखसहितको ‘प्रदेश कमान्ड पोस्ट’ र प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको नेतृत्वमा प्रदेश निर्वाचन सेल बनिसकेका छन् ।

७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को नेतृत्वमा पनि सुरक्षा संयन्त्रलाई निर्वाचन सुरक्षामा सक्रिय पारिएको छ । स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रजिअको नेतृत्वमा नियमित रूपमा स्थायी संयन्त्रका रूपमा जिल्ला सुरक्षा समिति रहन्छ । 

जिल्ला सुरक्षा समितिका अलाबा निर्वाचन सुरक्षाका लागि प्रजिअकै नेतृत्वमा जिल्ला निर्वाचन सेललाई सक्रिय बनाइएको हो । गृह मन्त्रालयका प्रवक्ता काफ्लेले निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्न केन्द्रदेखि जिल्ला तहसम्मका सबै संयन्त्रहरूलाई सक्रिय पारिएको बताए ।

चारवटै सुरक्षा निकायबाट पहिचान गरिएका सुरक्षा चुनौतीलाई समीक्षा गरी एकीकृत रूपमा तयार पारिएका रणनीतिअनुसार सुरक्षा व्यवस्थापन मिलाइएको गृह मन्त्रालयले जनाएको छ । संघ सरकार र प्रदेश सरकारसमेतको सहभागितामा निर्वाचन सुरक्षार्थ सातवटै प्रदेशमा सुरक्षा गोष्ठी पनि आयोजना भइसकेको छ ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि देशभर ११ हजार ९ सय १ निर्वाचन मतदान केन्द्र तोकिसकेको छ । त्यसकै आधारमा गृह मन्त्रालयले सुरक्षा निकायहरूबाट प्राप्त विश्लेषणका आधारमा जोखिम आकलन गरी मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर खटिने जनशक्ति तय गरेको छ ।

आयोगले निर्धारण गरेका मतदानस्थलमध्ये एकतिहाइ अति संवेदनशील सूचीमा राखिएको छ । बाँकीमध्ये ४ हजार ४ सय ४२ संवेदनशील र २ हजार ८ सय ४५ सुरक्षा चुनौतीका दृष्टिले सामान्य मतदानस्थल तोकिएको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा १५ निर्वाचन क्षेत्र रहेकामा २ सय ७८ मतदानस्थललाई सामान्य, २ सय ३७ संवेदनशील र १२ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । कोशीमा ६ सय ४७ मतदान केन्द्र सामान्य, २ सय ३७ संवेदनशील र १२ अति संवेदनशील सूचीमा समेटिएको छ ।

मधेशमा १ सय ५९ सामान्य, ७ सय ५५ संवेदनशील र १२ सय ४६ अति संवेदनशील सूचीमा राखिँदा बागमती (उपत्यकाबाहेक) मा ४ सय ३७ सामान्य, ४ सय ९७ संवेदनशील र १२ सय ८८ अति संवेदनशील सूचीमा राखिएको छ । यो सूचीकै आधारमा सुरक्षाकर्मीको उपस्थिति निर्धारण गरिएको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार गण्डकीमा ३ सय ९२ सामान्य, ५ सय ७७ संवेदनशील र ३ सय २८ अति संवेदनशील, लुम्बिनीमा ४ सय ७१ सामान्य, ७ सय ३८ संवेदनशील र ३ सय ५८ अति संवेदनशील, कर्णालीमा १ सय ६१सामान्य, ४ सय २२ संवेदनशील र ३ सय ५८ अति संवेदनशील तथा सुदूरपश्चिममा 

३ सय सामान्य, ३ सय ९४ संवेदनशील र ४ सय ८१ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ ।

यसरी निर्धारण गरिएका मतदानस्थललाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका जनशक्ति परिचालन गरिने सुरक्षा कार्ययोजनामा उल्लेख छ । निर्वाचनमा चारवटै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी सवा ३ लाख सुरक्षाकर्मी खटाउने सरकारको तयारी छ ।

त्यसकै आधारमा निर्वाचनको एक महिनाअघिबाट सेनालाई फिल्डमा तैनाथ गराउन लागिएको छ भने नेपाल प्रहरी सशस्त्र प्रहरीका अलाबा निर्वाचन सुरक्षामै भर्ना हुने १ लाख ४९ हजार ९० निर्वाचन प्रहरीलाई २५ माघदेखि प्रहरी र सशस्त्र मातहत रहने गरी परिचालन गर्न लागिएको छ । 

अहिले देशभर निर्वाचन प्रहरी छनोट भइरहेकामा १५ माघमा नियुक्ति र २५ माघबाट फिल्डमा निर्वाचन प्रहरी परिचालन गर्ने तयारी सरकारको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले ६ माघमा गृह मन्त्रालयमै पत्रकार सम्मेलन गरी चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । त्यस क्रममा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले चुनावी सुरक्षालाई प्रश्नरहित ढंगबाट व्यवस्थापन गरिएको र सोहीअनुसार बन्दोबस्ती मिलाइएको बताएका थिए ।

सशस्त्र प्रहरीको २५ औं स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा ‘एक थोपा रगत नबगी र एक जना पनि घाइते नभई’ सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्थापन गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएकी छन् ।

‘सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ सम्पादन गर्न निर्देशन दिन चाहन्छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘वर्तमान संक्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको छ र सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको छ ।’ सोही कार्यक्रममा गृहमन्त्री अर्यालले राज्यले तोकेको जिम्मेवारी वहन गर्ने क्रममा असल मनसायले गरेका कामको जिम्मेवारी राज्यले वहन गर्ने भन्दै ढुक्कले सुरक्षा व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् ।

खासगरी जेन–जी आन्दोलनपछि बदलिएको परिस्थिति, त्यसमा जेन–जी पक्षधर समूह, नयाँ र पुराना दलबीच अस्तित्वको लडाइँ र प्रतिस्पर्धा, निर्वाचनलाई बहिष्कार तथा अवरोध गर्न सक्ने समूहका गतिविधि, सुरक्षा निकायमा सवारीसाधन र हातहतियार/गोलीगट्ठाको अपर्याप्तता, सुरक्षा निकायमा न्यून जनशक्ति, खुला सीमा र त्यसबाट सिर्जित हुन सक्ने जोखिम तथा सामाजिक सञ्जालको दुरुपयोगलाई मुख्य चुनौतीका रूपमा किटान गर्दै सुरक्षा संयन्त्र परिचालन गरिएको सरकारको दाबी छ । तर, त्यसका बाबजुत निर्वाचन केन्द्रित सभा/जुलुस, प्रदर्शन र प्रचार कार्यक्रममा हुन सक्ने झडप र एकअर्काप्रति देखिन सक्ने निसानाले अर्को जोखिम बढाइदिएको छ ।

नेपाल–भारत खुला सीमाक्षेत्र भएका कारण त्यसबाट सिर्जित जोखिमलाई मुख्य चुनौती मानेर झापादेखि कञ्चनपुरसम्म सीमावर्ती क्षेत्रका मतदानस्थल बढी जोखिममा समेटिएका छन् । नेपालको भारततर्फ करिब १ हजार ८ सय ८० किमि लम्बाइमा खुला र चीनतर्फ १ हजार ४ सय १४ किमि लम्बाइको नियन्त्रित अवधारणाको सीमा छ । चीनतर्फ बन्द सीमा नाका भएका कारण सहजै आउजाउमा कठिन छ ।

भारततर्फ २७ जिल्ला र चीनतर्फ १५ जिल्लाले सीमा कायम गर्छ । चुनावका बेला सीपापारि बसेर यतातर्फ आपराधिक गतिविधि सञ्चालन गर्न सक्ने पनि जोखिम सुरक्षा कार्ययोजनामा समेटिएको छ । गृह मन्त्रालयका प्रवक्ता काफ्ले जोखिम औंल्याइएका क्षेत्रप्रति सरकार संवेदनशील बनेर आवश्यक रणनीति बनाई त्यहीअनुसार तयारी गरिएको बताउँछन् ।

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully