गगन, बालेन र ओलीलाई एउटै मञ्चमा राखेर छलफल गर्न कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव

सहमहामन्त्री राणाले भनेका छन्, 'बहसले लोकतन्त्र बलियो हुन्छ, प्रश्नबाट कोहि नभागौं । यो बहसका लागि नेपाली कांग्रेस तयार छ । तपाईंहरू तयार हुनुहुन्छ ?' 

माघ १०, २०८२

कान्तिपुर संवाददाता

Congress Joint General Secretary Rana's proposal to hold discussions with Gagan, Balen and Oli on the same platform

काठमाडौँ — राजनीतिक दलहरूबाट आगामी निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएकाहरूलाई एउटै मञ्चमा राखेर देशका महत्त्वपूर्ण विषयहरू र नीतिमा छलफल गर्नुपर्ने प्रस्ताव कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाले राखेका छन् ।

प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएकाहरूका भावी एजेन्डा के हुन् ? उनीहरू प्रधानमन्त्री बनेमा कुन क्षेत्रमा कस्तो नीति लिनेछन् र के कार्य गर्नेछन् ? भन्ने कुरा जनताले जान्न पाउनुपर्ने र त्यसका लागि एउटै मञ्चमा उनीहरूलाई बहसमा उभ्याउनुपर्ने राणाको भनाइ छ ।

'यसपटक सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका छन् । यतिबेला हरेक नागरिकको स्वभाविक जिज्ञासा छ, यी प्रधानमन्त्रीका उम्मेदवारलाई एकै मञ्चमा राखेर सार्वजनिक बहस किन नगर्ने ?,' राणाको प्रश्न छ, 'देश निर्माणमा उनीहरूका ठोस नीति, योजना र कार्यक्रम के कस्ता छन् ? अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासनको सवालमा उनीहरूको दृष्टिकोण के हो ?'

कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेका छन् । 

साझा बहसहरूले आमनागरिकलाई प्रधानमन्त्रीका उम्मेदवारहरूलाई नजिकबाट बुझ्ने अवसर दिने  राणाको भनाइ छ । त्यसले निर्वाचनमा मताधिकार प्रयोग गर्दा विवेकपूर्ण निर्णय गर्न मतदातालाई सजिलो हुने उनको भनाइ छ । 

'बहसले लोकतन्त्र बलियो हुन्छ, प्रश्नबाट कोहि नभागौं,' राणाले भनेका छन्, 'यो बहसका लागि नेपाली कांग्रेस तयार छ । तपाईंहरू तयार हुनुहुन्छ ?'

कान्तिपुर संवाददाता

Link copied successfully