सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा र रास्वपाका अमरेशकुमार सिंह, झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह, सप्तरी–२ मा जनमत अध्यक्ष सीके राउत र मधेसका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंहबीचको प्रतिस्पर्धा चर्चामा
What you should know
काठमाडौँ — पार्टी प्रमुख उम्मेदवार बनेका देशभरका निर्वाचन क्षेत्र ‘हटस्पट’ बनेका छन् । ‘हेभिवेट’ प्रतिस्पर्धी रहेको ती निर्वाचन क्षेत्रमा कसको जित–हार होला भन्ने विषयले सबैको ध्यान तानेको छ ।
कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सीके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेताहरूले प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रमा मतदाता तथा देशभरिका नागरिकको चासो बढेको हो ।
झापा–५ : ओलीको इतिहास, बालेन्द्रको आकर्षण
झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यस पटक काठमाडौं महानगरका पूर्वप्रमुख तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धा गर्दै छन् । ‘हेभिवेट’ नेताको प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ । ओलीले परम्परागत गढ जोगाउँछन् या बालेन्द्रले भत्काउँछन् ? धेरैले चासोपूर्वक हेरिरहेका छन् । जिल्लाका चिया पसलदेखि र चोकचौतारासम्म यतिबेला यही बहस सुन्न पाइन्छ ।
मंगलबार मनोनयन दर्ताका क्रममा बालेन्द्रका समर्थक ओइरिएका थिए । तर, ती मतदाता नभई बालेन्द्रको फ्यान मात्र भएको एमाले केन्द्रीय सदस्य होमबहादुर थापाको दाबी छ । ‘बालेनको भीड सबै क्षेत्रका समर्थकको हो, झापा–५ क्षेत्रका मतदाताको भीड हैन,’ उनले भने, ‘फ्यानको भीड देखेर एमाले डराउनेवाला छैन ।’ सोमबार गृहजिल्ला ओर्लिएका ओलीलाई लिन चन्द्रगढी विमानस्थलमा उस्तै भीड लागेको थियो । बालेन्द्र उम्मेदवारी दर्ताको दोस्रो दिनबाट चुनावी अभियानमा सक्रिय छन् । दमकमा भाडाको घरमा बसेर उनले स्थानीय मतदातासित भेटघाट गरेका छन् । एमाले र कांग्रेसका असन्तुष्ट युवालाई आफ्नो पक्षमा पार्ने रणनीति उनको छ ।
झापा–५ एमालेको ‘लालकिल्ला’ मानिन्छ । यहींबाट २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा ओली प्रतिनिधिसभा सदस्य चुनिए । ०६४ को संविधानसभा चुनावमा भने ओली तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसित पराजित भएका थिए । ०७९ मा ओलीले देशभरमै सबैभन्दा धेरै ५२ हजार ३ सय १९ मत पाएका थिए । निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए । रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए ।
झापा–५ मा समानुपातिकतर्फ एमालेले ३५ हजार ८ सय ७२, कांग्रेसले १६ हजार ८ सय ५९, रास्वपाले १८ हजार २ सय ५, माओवादीले ८ हजार ६ सय ८० र राप्रपाले ७ हजार ३ सय ७० मत पाएका थिए । २०७९ को चुनावमा यहाँ एमाले–राप्रपा–माओवादीको गठबन्धन थियो । यस पटक परिस्थिति भिन्न छ । सबै दल एक्ला–एक्लै चुनावमा होमिएका छन् । कांग्रेसले मन्दरा चिमरियालाई मौका दिएको छ । नेकपाले रञ्जित तामाङलाई उठाएको छ । राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला उम्मेदवार छन् । श्रम संस्कृति पार्टीबाट समीर तामाङ प्रतिस्पर्धामा छन् ।
रास्वपाले बालेन्द्रलाई ‘प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरेको छ । एमालेले पनि ओलीलाई प्रधानमन्त्रीकै रूपमा सार्वजनिक गरेको छ । त्यसैले यहाँ दुई प्रधानमन्त्री पदका आकांक्षीबीच प्रतिस्पर्धा भइरहेको छ । ‘जसले जिते पनि हाम्रो क्षेत्रले प्रधानमन्त्री पाउने भो,’ कमल गाउँपालिकाका क्षितिज लिम्बूले भने, ‘यस पटक झन् उत्साहित छौं ।’
यस पटक राजनीतिमा पुस्तान्तरणको मुद्दा गाउँसम्म विस्तार भइरहेको छ । ‘पुरानालाई धेरै भोट दिइयो,’ गौरीगन्जका ६८ वर्षीय बुटन राजवंशीले भने, ‘यस पटक नयाँलाई दिउँ भन्ने लागेको छ ।’ झापा–५ मा दमक नगरपालिकाका १०, कमल गाउँपालिकाका ७, गौरादह नगरपालिकाका १ देखि ८ र गौरीगन्ज गाउँपालिकाका ३ देखि ६ वडा समेटिएका छन् । यहाँ १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् ।
सर्लाही–४ : गगन–अमरेश आमनेसामने
काठमाडौं–४ बाट प्रतिस्पर्धा गर्दै आएका कांग्रेस सभापति गगनकुमार थापा यस पटक मधेश झरेर सर्लाही–४ मा उम्मेदवार बनेपछि यो निर्वाचन क्षेत्रमा पनि चासो बढेको छ । थापालाई यस क्षेत्रबाट एकल उम्मेदवार सिफारिस गरिएको थियो । विशेष महाधिवेशनबाट दलको नेतृत्व परिवर्तन गर्न सफल थापालाई पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेकाले सर्लाही–४ बाट चुनाव जित्नैपर्ने देखिन्छ । ‘नयाँ निर्वाचन क्षेत्रमा जानु एक प्रकारको चुनौती हो,’ थापाले भने, ‘मैले त्यो चुनौती स्वीकार गरेको छु ।’
उनको प्रतिस्पर्धा पूर्वकांग्रेस नेता अमरेशकुमार सिंहसित हुनेछ । ०७९ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर यो निर्वाचन क्षेत्रमा विजयी भएका सिंह यस पटक रास्वपाबाट उम्मेदवार छन् । त्यतिबेला उनले कांग्रेसका नागेन्द्र कुमारलाई १ हजार ७ सय ६४ मतले पराजित गरेका थिए । सिंहले ०७४ मा कांग्रेसबाट प्रतिस्पर्धा गरी राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए ।
यस क्षेत्रमा यस पटक एमालेले अमनीशकुमार यादव र नेकपाले रजनीश रायलाई उम्मेदवार बनाएको छ । उज्यालो नेपालले पीताम्बर कुशवाहा, जनमतले राकेशकुमार मिश्र, जसपाले रामेश्वर राय यादवलाई उम्मेदवार बनाएको छ । कांग्रेस केन्द्रीय सदस्य देवप्रसाद तिमल्सिना सुझबुझका साथ थापाले सर्लाही–४ रोजेको बताउँछन् । ‘कांग्रेसकै गढ हो,’ उनले भने, ‘यस पटक थापाले पक्कै जित्नेछन् ।’
सर्लाहीमा चार निर्वाचन क्षेत्र छन् । यस क्षेत्रमा बसबरिया गाउँपलिकाका १, २ र ३, बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४ र १५, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, गोडैटा नगरपालिका र विष्णु गाउँपालिकाका १, २, ३ र ४ वडा पर्छन् ।
रुकुमपूर्व : दाहाल गढ फर्केपछि रोचक
विभिन्न राजनीतिक दलसित तालमेल गरेर फरकफरक क्षेत्रमा चुनाव जित्दै आएका नेकपा संयोजक पुष्पकमल दाहाल सुरक्षित शिविर खोज्दै रुकुम पूर्व आइपुगेका छन् । जिल्लाका तीनै पालिकामा तत्कालीन माओवादी केन्द्रका जनप्रतिनिधि छन् । १० वर्षे माओवादी सशस्त्र द्वन्द्वका बेलादेखि माओवादी गढका रूपमा रहेको रुकुम पूर्वमा दाहाल उम्मेदवार बनेपछि चुनाव रोचक हुने देखिएको छ ।
दाहाललाई सशस्त्र द्वन्द्वका क्रममा सहिद भएका सूर्यप्रकाश पुन र परम्परा गौतमका छोरा सन्दीप पुनले चुनौती दिएका छन् । उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार छन् । पुन तत्कालीन माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष पनि हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’ का अध्यक्षसमेत छन् ।
रुकुम पूर्वमा तत्कालीन माओवादीले ०६४ देखि नै जित्दै आएको हो । ०७९ को निर्वाचनमा माओवादीका पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका कैलाशकुमार मल्लको मत ५ हजार २११ थियो । मल्ल अहिले नेकपामा छन् । ०७४ को निर्वाचनमा माओवादीकी कमला रोका १० हजार ४३४ मत ल्याएर निर्वाचित भएकी थिइन्, निकटतम प्रतिस्पर्धी कांग्रेसका हरिशंकर घर्ती मगरले ४ हजार ४०६ मत ल्याएका थिए । माओवादीले ०७४ मा एमाले र ०७९ मा कांग्रेससँग गठबन्धन गरेको थियो । रुकुम पूर्वमा ३४ हजार ७७२ मतदाता छन् । तीमध्ये ६६० जना नयाँ मतदाता हुन् । जिल्लामा ८० प्रतिशत मतदाता मगर समुदायका छन् ।
चितवन–२ : रविसित प्रतिस्पर्धामा २३ उम्मेदवार
रास्वपा सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन–२ मा २३ उम्मेदवार प्रतिस्पर्धामा छन् । ०७९ मा लामिछानेले ४९ हजार ३०० मत ल्याएर जितेका थिए । निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ र एमालेका कृष्णभक्त पोखरेलको १४ हजार ६५२ मत आएको थियो । नागरिकता विवादपछि लामिछानेको सांसद पद खारेज हुँदा वैशाख ०८० मा उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनमा लामिछाने ५४ हजार १ सय ७६ मत पाएर फेरि विजयी भएका थिए । कांग्रेसका जितनारायण श्रेष्ठको ११ हजार २ सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत पाएका थिए । ०७९ को निर्वाचन र ०८० को उपनिर्वाचनमा कांग्रेससित तत्कालीन माओवादी केन्द्र, नेकपा एसले तालमेल गरेका थिए ।
यस पटक दलका आ–आफ्नै उम्मेदवार छन् । कांग्रेस उम्मेदवार मीना खरेल सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् । एमाले उम्मेदवार ३८ वर्षीय अस्मिन घिमिरे एमाले बागमती प्रदेश सदस्य थिए । यस क्षेत्रमा १ लाख ३७ हजार १ सय ५२ मतदाता छन् । कालिका नगरपालिका, भरतपुर महानगरका १० वडा र इच्छाकामना गाउँपालिका छन् ।
सप्तरी–२ : जनमत अध्यक्षविरुद्ध पूर्वमुख्यमन्त्री
सप्तरी–२ मा यस पटक जित–हार प्रतिष्ठाको विषय बनेको छ । यहाँ जनमतका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत, पूर्वसिँचाइमन्त्री उमेशकुमार यादव, मधेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह प्रतिस्पर्धा छन् । यादव जसपा नेपाल र सिंह स्वाभिमान पार्टीबाट उम्मेदवार छन् । यस क्षेत्रमा ३१ उम्मेदवार छन् । राउत दोहोरिएका उम्मेदवार हुन् । राउतले ०७९ मा ३५ हजार ३२ मत पाएर जितेका थिए । पूर्वमुख्यमन्त्री सिंह ०७९ मा जनमतबाट सप्तरी–२(१) बाट निर्वाचित भएका थिए । उनले १६ हजार ४ सय ३४ मत पाएका थिए ।
पूर्वसिँचाइमन्त्री यादव ०७० सालको संविधानसभा चुनावमा सप्तरी–३ बाट निर्वाचित भएका थिए । उनी ०७४ मा जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए । यसपालि पूर्वसांसद सूर्यनाथ यादव नेकपाबाट चुनावी मैदानमा छन् । कांग्रेसबाट रामकुमार यादव उम्मेदवार छन् । रास्वपाबाट रामजी यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा ५६ हजार ४ सय पुरुष, ४९ हजार ५ सय २० महिला र २ जना अन्य गरी कुल १ लाख ५ हजार ९ सय २२ जना मतदाता छन् ।
सप्तरी–३ : त्रिपक्षीय प्रतिस्पर्धा
सप्तरी–३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका पूर्वसांसद दिनेशकुमार यादव र एमालेका ताराकान्त चौधरी चुनावी प्रतिस्पर्धामा छन् । बदलिँदो राजनीतिक समीकरण र पुस्तान्तरणको दबाब यस क्षेत्रमा पनि देखिन्छ । यादव ०७४ मा सप्तरी–२ बाट चुनाव लडेका थिए । त्यतिबेला २१ हजार ६ सय २० मत ल्याएर निर्वाचित भएका थिए । ०७९ मा पनि यही क्षेत्रबाट लडेका थिए । त्यसबेला उनको टक्कर जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतसित भएको थियो । गत निर्वाचनमा ३५ हजार ३२ मत प्राप्त गरेर राउत निर्वाचित भएका थिए । उपेन्द्रले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए ।
०८० मा भएको उपनिर्वाचनमा यादव बारा क्षेत्र–२ बाट २८ हजार ४ सय १५ मत ल्याएर निर्वाचित भएका थिए । ०७९ मा सप्तरी–३ बाट कांग्रेस नेता दिनेशले २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी ताराकान्तले २२ हजार ३ सय मत पाएका थिए । यस क्षेत्रमा ५८ हजार ८ सय ४९ पुरुष, ५५ हजार १५ महिला र ७ अन्य गरी १ लाख ११ हजार ८ सय ७१ मतदाता छन् ।
झापा–३ : टुट्यो एमाले र राप्रपा तालमेल
झापा–३ मा एमाले–राप्रपा तालमेल यस पटक टुटेको छ । यसपालि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध एमालेले पूर्वसंविधानसभा सदस्य हरि राजवंशीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । यसअघि नेता कृष्णप्रसाद सिटौलाको ‘आधार इलाका’ मानिने क्षेत्रमा कांग्रेसले राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ । नेकपाले डिल्लीराम घिमिरे (हिक्मत) लाई उठाएको छ । रास्वपाले जिल्ला संयोजक प्रकाश पाठकलाई दोस्रो पटक मैदानमा उतारेको छ ।
१० वर्षसम्म यस क्षेत्रमा ‘सूर्य’ चिह्नमा भोट हाल्न नपाएको पीडा एमाले मतदाताले व्यक्त गर्दै आएका थिए । अध्यक्ष ओलीले केही समय झापा–३ लाई ‘होल्ड’मा राखेका थिए । विरोध बढेपछि राजवंशीलाई टिकट दिने निर्णय गरे । ‘एमाले आफ्नै उम्मेदवार लिएर मैदानमा छ, यसले मतदातालाई औधी खुसी बनाएको छ,’ एमालेका प्रदेश सदस्य माधव विद्रोहीले भने, ‘यस पटक एमाले मतदाताको उत्साह बेग्लै देखिन्छ ।’
०७९ मा एमाले–राप्रपाबीचको तालमेलबाट राप्रपाका लिङ्देन विजयी भएका थिए । लिङ्देनले ३७ हजार ३ सय ६२ मत पाएका थिए । कांग्रेसका कृष्ण सिटौलाले ३१ हजार १ सय ७१ मत पाएका थिए । रास्वपाका पाठकले ३ हजार ४ सय ६१ मत पाएका थिए । झापा–३ मा कचनकवल, हल्दिबारी, बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिकाको वडा १० र भद्रपुर नगरपालिकाको १ देखि ८ सम्मको वडा समेटिएको छ । यस क्षेत्रमा १ लाख ४० हजार ८ सय ५७ मतदाता छन् । ९ हजार ४ सय २५ नयाँ मतदाता थपिएका छन् ।
सुनसरी–१ : हर्कलाई ठूला दलको चुनौती
स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगर प्रमुख बनेका हर्कराज राई (साम्पाङ) यस पटक पार्टी खोलेर सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । नगर प्रमुख पदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । नगर विकासमा श्रम संस्कृति भित्र्याएका उनको चुनावी प्रचार शैली रमाइलो हुने गरेको छ । यस निर्वाचन क्षेत्रबाट ०७९ मा एमालेको समर्थनमा जसपाका अशोक राई विजयी भएका थिए ।
सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष राईसमेत २६ उम्मेदवार छन् । एमालेबाट टीकाराम लिम्बू, कांग्रेसबाट सरेन्द्र गोले तामाङ, नेमकिपाबाट महेश श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट राजेन्द्र गुरुङ, नेकपा माओवादीबाट दिलबहादुर बास्तोला, राष्ट्रिय साझा पार्टीबाट भूपि राई उम्मेदवार छन् । नेकपाबाट मनोज (सूर्यबहादुर) भट्टराई, उज्यालो नेपाल पार्टीबाट डम्बर लावती उम्मेदवार छन् । यस क्षेत्रमा धरान उपमहानगरका २० वटै वडा, बराह क्षेत्र नगरपलिकाका १, २, ३, ४ र ५ र रामधुनी नगरपालिकाका ६ र ७ वडा समेटिएका छन् । कुल १ लाख ५० हजार ३ सय ९३ जना मतदाता छन् ।
काठमाडौं–३ : नयाँ र पुरानाको लडाइँ
काठमाडौं–३ मा पुराना दल र नयाँ शक्तिबीच प्रतिस्पर्धा देखिएको छ । काठमाडौं–३ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिका चुनावमा कांग्रेस र एमालेले जित्दै आएको यस क्षेत्रमा यस पटक नयाँ दलका उम्मेदवारले कडा चुनौती दिने देखिएको छ । उज्यालो नेपालका प्रमुख कुलमान घिसिङ यही क्षेत्रबाट उम्मेदवार छन् । एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका नीरज लामा, रास्वपाका राजुनाथ पाण्डे पनि उम्मेदवार छन् ।
यहाँ ०७९ को निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए । चालिसेले १५ हजार १५८ मत ल्याएका थिए भने एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ सय ल्याएका थिए । रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए ।
