जेन-जी आन्दोलनमा प्रमुख मुद्दाका रूपमा उठेको 'भ्रष्टाचारविरुद्ध सुशासन'लाई सबै दलका उम्मेदवारले अघि सारेका छन् ।
What you should know
काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार गर्न दलहरू व्यस्त भएका छन् ।
दलहरुले १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेपछि घोषणापत्र लेखनमा लागेका छन् । उम्मेदवारहरु भने घोषणापत्र नआउँदै घरदैलोमा लागिसकेका छन् ।
जेन-जी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन भएपछि हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नयाँ र पुराना दलबीच प्रतिस्पर्धा हुँदै छ । जेन-जी आन्दोलनमा प्रमुख मुद्दाका रूपमा उठेको 'भ्रष्टाचारविरुद्ध सुशासन'लाई सबै दलका उम्मेदवारले अघि सारेका छन् । योसँगै उम्मेदवारले रोजगारी, शिक्षा, स्वास्थ्यमा सुधार र स्थानीय उत्पादनको प्रवर्धनलाई प्रमुख मुद्दाको रुपमा उठाएर मतदातासमक्ष गइरहेका छन् ।
दलहरुले विगतमा कार्यान्वयन गर्न नसक्ने वाचा लिएर घोषणापत्र तयार गरेकामा यसपटक आफूले गर्न सक्ने कार्यक्रम र लक्ष्य राखेर घोषणापत्र तयारीमा लागेको जनाएका छन् । माघ ६ मा मनोनयन गरेपछि उम्मेदवाहरु स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर घरदैलोमा निस्किएका हुन् ।
कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीले नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीले उपभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणापत्र लेखन अन्तिम चरणमा पुगेको जनाएका छन् । यही साताभित्र घोषणापत्र ल्याउने तयारीमा दलहरु लागेका छन् ।
ताप्लेजङबाट पहिलोपटक एमालेबाट उम्मेदवार बनेका युवा संघका अध्यक्षसमेत रहेका क्षितिज थेबेले विशेषगरी मतदाताको माग र चासोलाई सुन्दै घरदैलो सुरु गरेको बताए । प्रौढ र युवाको दायित्वबोध गरेर आफू निर्वाचन अभियानमा लागेको उनको भनाइ छ ।
‘युवालाई उद्यमशीलतामा लाग्ने वातावरण बनाउने, गाउँहरुलाई समृद्ध बनाउने, पर्यटन, कृषि उत्पादन व्यवस्थित गर्नेलगायत स्थानीय मुद्दामा छलफल हुँदै छ,’ उनले भने, ‘स्थानीय उत्पादन, गुणस्तरीय शिक्षा, स्वास्थ्यमा सुधार मुख्य मुद्दा छन् ।’ हिमालसँग पर्यटन जोडने, कृषि, खेललाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता छ । पाथीभरा धार्मिक पर्यटनलाई अझ व्यवस्थित गराउने आफ्नो प्राथमिकताको विषय भएको उनको भनाइ छ । उनले ताप्जेजुङ जनताको आवाज, सपना आत्मसात गरी अघि बढ्ने बताए ।
मधेश प्रदेशमा पनि पुराना नयाँ उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा सुरु भइसकेको छ । पहिलोपटक सप्तरी-४ बाट उम्मेदवार भएकी जनता समाजवादी पार्टी नेपालकी उम्मेदवार बबी यादवको मुख्य मुद्दा रोजगारी छ । उनी आफै वैदेशिक रोजगारको सिलसिलामा कतार गएकी थिइन् ।
‘म आफै पनि वैदेशिक रोजगारीमा गएकाले स्वदेशमै काम पाउनुपर्ने मेरो मुद्दा छ,’ उनले भनिन्, ‘प्राविधिक शिक्षामा राम्रो नीति भयो रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भनिन्, ‘स्किल्ड म्यानपावर तयार गरेर पठाउने वातावरण बनाउने कोसिस मेरो हुनेछ ।महिला हिंसा अन्त्यका लागि अभियान चलाउने छु । सडकको आवाज सदनसम्म पुर्याउने माध्यम बन्नेछु ।’
लुम्बिनी प्रदेशको पाल्पा-२ बाट दोस्रोपटक उम्मेदवार भएका ठाकुर गैरेले अन्तिम समयमा एमालेबाट टिकट पाए । यसपटक उनीसामु गत निर्वाचनमा अघि सारेको प्रतिवद्धताबारे धेरै प्रश्न सामना गर्नुपरेको छ । उनले पहिलो कार्यकालमा धेरै काम अघि बढिसकेकाले बाँकी रहेका प्रतिबद्धता पूरा गर्ने र नयाँ योजना अघि सार्ने तयारीमा छन् ।
‘युवाहरु भविष्यका संवाह मात्र होइनन्, वर्तमानको नेतृत्व पनि हो । युवाको प्रतिनिधित्व गर्दै आएको छु,’ उनले भने, ‘सुरु भएका योजना पूरा, थप योजना बनाएर अघि बढ्ने जिल्लाका मुख्य विषय हुन् । ’ उनले पनि भ्रष्टाचारको अन्त्य र सुशासनको निम्ति जीवनभर लड्ने आफ्नो मुख्य प्रतिबद्धता भएको बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि क्षेत्रलाई व्यवसायिक बनाउने आफ्नो अभियान जारी रहेको उल्लेख गर्दै सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न आफ्नो भूमिका रहेको बताए । राष्ट्रिय स्वाधीनता र संविधान संशोधन गरी समृद्ध गर्ने आफ्नो दायित्व रहेको उनको भनाइ छ ।
गण्डकीको गोरखा-२ बाट पहिलोपटक उम्मेदवार भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपाने आफूले ‘गर्न सक्ने जति मात्र वाचा’ लिएर मतदाताको घरदैलोमा गएको बताए ।
‘म चुनावका बेला असम्भव कुरा गदिनँ । जति सक्छु, त्यति भन्छु । सम्भव हुने मुद्दा उठाउने कोसिस गरेको छु,’ उनले थपे, ‘सांसदले विकास निर्माणको काममा अगुवाइ गरेन भने बजेट पर्दैन । जनताको साथ लिएर संघबाट समानुपातिक बजेट ल्याउने मेरो प्रतिबद्धता छ ।’
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रहेका उनले विद्यार्थी नेता हुँदै उठाएको निःशुल्क गुणस्तरीय शिक्षाको मुद्दा छाड्नै नमिल्ने बताए । ‘जीवनभर गुणस्तरीय निःशुल्क शिक्षाको विषय उठाएँ । अब सामुदायिक शिक्षा सुधारको लागि मेहनत गर्नेछु,’ उनले आफ्नो वाचा सुनाए ।
राष्ट्रिय मुद्दाका रुपमा आवश्यक संविधान संशोधन र अरु नीति निर्माणको क्षेत्रमा काम गर्ने मतदातालाई सुनाएको उनको भनाइ छ ।
सर्वसुलभ स्वास्थ्य, आमाको नाममा नागरिकता, सम्पदा, संस्कृतिको संरक्षणलगायत मुद्दा लिएर काठमाडौंका सडकमा उत्रेका पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-४ का उम्मेदवार हुन् । ‘स्थानीय विकास, संस्कृति, विकासका मुद्दा छन् । बेथिति भ्रष्टाचार नियन्त्रणका विषय छन् । म मुद्दा उठाउने मात्र होइन, पूरा गर्ने उम्मेदवार हो,’ उनले भने, ‘सर्वसुलभ स्वास्थ्यका लागि सत्याग्रह, सुशासनका लागि नेतृत्व, जेनजी आन्दोलनमा वार्ता संयोजक भएर काम गरेको हुनाले काठमाडौं ४ कसरी बनाउने योजना मसँग छ ।’
उनले विगतमा काठमाडौं-४ लाई प्रयोगशाला बनाएको उल्लेख गर्दै अब त्यसो हुन नदिने दाबी गरे ।
नेपाली कम्युनिस्ट पार्टीबाट जुम्लामा उम्मेदवार भएका नरेश भण्डारीले विकास निर्माणका साथै कर्णालीको सभ्यतालाई समृद्ध गर्ने प्रमुख मुद्दाको रुपमा अघि सारेका छन् । ‘मातृदेश कर्णाली र मातृ जिल्ला जुम्ला मेरो नारा छ । जुम्लाको भाषा, संस्कृति, सभ्यतासँग जोडेर सांस्कृतिक राजधानीको बनाउन मेरो पहल हुनेछ,’ उनले भने ।
राष्ट्रिय बजेट विनियोजनमा कर्णालीले भोग्दै विभेदविरुद्ध आफू लड्ने पनि उनको भनाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पहलकर्तामध्ये एक आफू भएकाले कर्णालीका लागि स्वास्थ्य नीति बनाउन आफ्नो पहल हुने उनले बताए ।
२०४८ सालदेखि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको विरासत रहेको सुदूरपश्चिमको डेडलधुरामा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर उम्मेदवार भएका छन् । सुदूरपश्चिमका लागि देउवाले खेलेको भूमिकालाई सम्मान गर्दै उनले आफू उत्तराधिकारीको रुपमा उम्मेदवार भएको उनले बताए ।
‘नवपुस्ताको मुद्दामा मेरो राजनीतिक व्यक्तित्व जोडिएको छ । यसका साथै शेरबहादुर देउवाको विरासत जोगाउने दायित्व छ । धेरै अधुरा काम पूरा गर्नुछ,’ उनले भने, 'सुदूरपश्चिम प्रदेशको ‘पहाडकी रानी’ डडेलधुरालाई समृद्ध बनाउने मेरो मुख्य मुद्दा रहनेछ ।'
शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधारका साथै जिल्लाको आर्थिक हैसियत निर्माणका लागि राजनीतिक अभियान चलाउने उनले बताए ।
