स्वतन्त्र उम्मेदवार : नयाँ अनुहार र 'विद्रोही'को लहर

पूर्वमन्त्री, युवा अभियन्ता र पार्टीबाट विद्रोह गरेका नेतासम्मले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

माघ ८, २०८२

समर्पण श्री

Independent candidates: New faces and a wave of 'rebels'

What you should know

काठमाडौँ — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य देखिएको छ ।

३४ सय ८४ उम्मेदवारमध्ये स्वतन्त्र उम्मेदवारी दिने संख्या नै ११ सय ८७ छन् । त्यसमध्ये पुरुष १०२४ जना छन् भने महिला १ सय ६० जना छन् । 

महावीर पुनले शिक्ष तथा विज्ञान प्रविधिमन्त्रीबाट राजीनामा दिँदै म्याग्दी–१ बाट मंगलबार निर्वाचन आयोगमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए । यसअघि पुनले आफू चुनाव नलड्ने बताएका थिए । तर अचानक राजीनामा दिएर म्याग्दीमा उम्मेदवारी दर्ता गराउँदा भने धेरैजना चकित परे ।

‘मैले गर्न खोजेको काममा असहयोग भयो । अचानक रिस उठ्यो,  अनि राजीनामा दिएर चुनाव लड्न हिँडेँ,’ कान्तिपुरसँग पुनले भने । उनले सामाजिक सञ्जाल फेसबुकमा पनि आफूलाई असहयोग भएका कारण यो निर्णय लिएको उल्लेख गरेका थिए । ‘शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेको तीनवटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड्ने थिइनँ,’ उनले उल्लेख गरेका छन्, ‘एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झाए अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यसपटक स्वतन्त्रहरूको मत एउटा राष्ट्रिय पार्टीको हाराहारीमा आउन सक्छ ।उनले आफू कुनै पार्टीको मान्छे नभएका कारण स्वतन्त्र उम्मेदवार दिएको बताए । बुधबारबाटै उनी चुनावी प्रचारप्रसारमा सक्रिय हुन थालिसकेका छन् ।  

निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या धेरै हुनुका विभिन्न कारणबारे उनले थप प्रस्ट पारे । थपलियाका अनुसार निर्वाचनमा सहभागी हुने पाँच प्रवृत्ति छन् । कोही व्यक्ति हार्छु भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा सहभागी हुन चाहन्छ । 

कानुनविद् प्राडा युवराज संग्रौलाले पनि झापा-२ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले मंगलबार जिल्ला निर्वाचन कार्यालय झापामा मंगलबार उम्मेदवारी दर्ता गराए । ‘म नागरिकहरुको प्रतिनिधित्व गर्न चाहन्छु । त्यसैले म गैरदलीय स्वतन्त्र उमेदवार हुँ । यो निर्वाचन विशेष समयमा भइरहेको छ । अतः विचारको प्रतिनिधित्व गर्ने मेरो उमेदवारीलाई सबै दलले सहयोग गर्न सक्छन्,’ बुधबार उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले जुन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिए, सोही क्षेत्रमा पूर्वसभामुख देवराज घिमिरेले एमालेबाट र पूर्वउपसभामुख इन्दिरा रानामगरले रास्वपाबाट उम्मेदवारी दर्ता गराएका छन् । 

चिकित्सक डा. निकोलस भुसालले रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरे । उनी आफ्नो अभिव्यक्ति र सामाजिक अभियानका कारण चर्चामा आइरहने पात्र हुन् । गत पुस ९ गते माइतीघर मण्डलामा उनले आमरण अनसन सुरु गरेका थिए । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा, युवामाथि दमनको छानबिन र राजनीतिक सुधारका माग अघि सारेका थिए । ६ बुँदे सहमति भएपछि करिब ११ दिनपछि उनको अनसन तोडिएको थियो ।

८७ वर्षीय पूर्व प्रशासक मदनदेव आचार्यले पनि निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले काठमाडौं-४ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 'मैले सरकारी सेवामा बसेर जागिर खाँदा बदमासी जति पनि देखेको छु । त्यो रोकथाम गर्नकै लागि म उठेको हुँ । भ्रष्टाचार रोक्नकै लागि मेरो उम्मेदवारी हो,’ उम्मेदवारी दर्ता गराएका दिन उनले सञ्चारकर्मीसँग भने ।

पठाओका सञ्चालक असिममान सिंह बस्न्यातले पनि काठमाडौं-१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले कुनै पार्टीसँग आफ्नो एजेन्डा नमिलेकाले स्वतन्त्र उम्मेदवारी दिएको बताए । ‘पार्टीहरूसँग कुरा पनि भएको हो । तर मेरो एजेन्डा उहाँहरूसँग मिलेन । मेरा एजेन्डालाई स्थापित गर्न खोज्दा म एक्लै हिँड्दा पो छिटो पुग्छु भन्ने लाग्यो,’ उनले कान्तिपुरसँग भने ।

उनले आफू चुनावमा उठ्दै गर्दा तीन एजेन्डा अघि सार्ने बताए । ‘पहिलो उद्यमशीलता प्रोत्साहन गर्दा युवाहरूलाई देशमा बस्ने वातारण बनाउने, नेताहरूलाई जवाफदेही बनाउने र  समाजमा नयाा पुस्ता र पुराना पुस्ताबीचको दुरी घटाएर एक अर्काबीच सिक्ने सिकाउने वातावरण बनाउने,’ बस्न्यातले भने ।  

उम्मेदवारी दिनेहरूमा यसपालि युवाको संख्या बढी छ । आयोगको तथ्यांकअनुसार २५ देखि ३५ वर्ष उमेर समूहका २ सय ९५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी ३६ देखि ५० वर्ष उमेरसमूहका २ सय ६० र ५१ देखि ६५ वर्ष उमेर समूहका २ सय ८४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ६६ वर्षभन्दा माथिका ४९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पार्टीमा विद्रोह गरेर स्वतन्त्र 

स्वतन्त्र उम्मेदवारी दिनेहरूमा पार्टीले टिकट नदिएपछि विद्रोह गर्नेहरू पनि प्रशस्तै छन् । दाङ-१ बाट पूर्वमख्यमन्त्री कुलप्रसाद केसीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वमन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई टिकट दिएपछि केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

‘पहिला सिफारिस हुँदा मेरो नाम पनि थियो । तर टिकट दोहोर्‍याएर मेटमणिलाई नै दिइयो । त्यसकारण स्वतन्त्र उम्मेदवारी दिएँ,’ केसीले कान्तिपुरसँग भने ।

कांग्रेसका युवा नेता आशिष शर्माले कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका अतहर कमालले टिकट पाएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसका बाबुराम आचार्यले पनि काठमाडौं–१ मा बागी उम्मेदवारी दर्ता गराए । पार्टीले प्रवल थापालाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कांग्रेसका भूपेन्द्रजंग शाहीले पनि पार्टीबाट टिकट पाएका हर्षबहादुर बमविरुद्ध कालिकोटबाट उम्मेदवारी दर्ता गराए । सोही क्षेत्रमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका जीवन बुढाले उम्मेदवारी दर्ता गराए ।

उदयपुर-२ मा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले पनि नेकपाले आफूलाई टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ओखलढुंगामा नेकपाका उम्मेदवारविरुद्ध सन्तबहादुर तामाङले उम्मेदवारी दिए । देशभर थुप्रै स्वतन्त्र उम्मेदवार त्यस्त छन्, जसले पार्टीले टिकट नदिएपछि विद्रोह गरे ।

स्वतन्त्र उम्मेदवारीको अर्थ

स्वतन्त्र उम्मेदवारी धेरै जनाको भए पनि जित्ने संख्या भने विगतमा न्यून देखिँदै आएको छ । अघिल्लो २०७९ को प्रतिनिधिसभा चुनावमा पाँचजना मात्र स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

मोरङ-५ बाट योगेन्द्र मण्डल, सर्लाही-४ बाट अमरेशकुमार सिंह, रौतहट-३ बाट प्रभु साह र बर्दिया-२ बाट लालवीर चौधरी विजयी भएका थिए । तर पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको आकलन छ, ‘यसपटक स्वतन्त्रहरूको मत एउटा राष्ट्रिय पार्टीको हाराहारीमा आउन सक्छ ।’

निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या धेरै हुनुका विभिन्न कारणबारे उनले थप प्रस्ट पारे । थपलियाका अनुसार निर्वाचनमा सहभागी हुने पाँच प्रवृत्ति छन् । कोही व्यक्ति हार्छु भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा सहभागी हुन चाहन्छ । दोस्रोचाहिँ विभिन्न राजनीतिक दलको टिकट वितरणको निरंकुश प्रवृत्ति । त्यो विरुद्धमा कतिपय मान्छेले स्वतन्त्र उम्मेदवारी दिन्छन् । तेस्रो, कुनै दलको सिद्धान्तसँग आबद्ध हुन नमान्ने व्यक्तिले दिने उम्मेदवारी हो । यो एक किसिमको स्वतन्त्र प्रवृत्ति हो । चौथोचाहिँ केही मान्छेले आफ्ना मान्यता स्थापित गर्ने अवसरका रुपमा चुनावलाई लिने भएकाले पनि उम्मेदवारी दिने बताउँछन् उनी ।

तर नेपालमा मौलाएको भने पाँचौ प्रवृत्ति बढी रहेको उनको विश्लेषण छ । ‘स्वतन्त्र उम्मेदवारी दिन लगाएर उसको स्रोतसाधन ठूला राजनीतिक दलहरूले प्रयोग गरेर आचारसंहिताको आँखा छल्ने प्रवृत्ति छ,’ थपलिया थप्छन्, ‘यस्ता उम्मेदवार २ सय हुन सक्छन् । यिनीहरू डमी उम्मेदवार हुन् ।’ 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully