झापा–२ बाट एमालेका देवराज घिमिरे र रास्वपाकी इन्दिरा रानामगर चुनावी प्रतिस्पर्धामा
झापा — विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर चुनावी मैदानमा आमनेसामने भएका छन् । घिमिरे एमाले र राना मगर रास्वपाबाट झापा–२ मा प्रतिस्पर्धामा छन् ।
झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको प्रतिस्पर्धाले देशभर ध्यान तानेका बेला झापा–२ मा पूर्वसभामुख–उपसभामुखकै भिडन्त पनि चर्चामा छ ।
यसपालि झापा–२ मा तीन महिला र दुई अधिवक्ता प्रतिस्पर्धामा छन् । रास्वपाकी राना मगरसँगै पूर्वमन्त्री धर्मशीला चापागाईं नेकपाबाट र पूर्वसांसद सरिता प्रसाईं कांग्रेसबाट उम्मेदवार बनेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार अधिवक्ता युवराज संग्रौला र राप्रपाका उम्मेदवार अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) पनि मैदानमा छन् । विभिन्न पृष्ठभूमिका ‘हेभिवेट’ उम्मेदवार आमनेसामने भएपछि झापा–२ को चुनावी प्रतिस्पर्धा रोचक हुने स्थानीयको अनुमान छ ।
पूर्वसभामुख घिमिरे, नेकपा नेता तथा पूर्वसंविधानसभा सदस्य चापागाईं, राप्रपाका नेपाल तीनै जनाले दोस्रो पटक उम्मेदवारी दिएका हुन् । गत २०७९ को चुनावमा यस क्षेत्रबाट एमालेका घिमिरे विजयी भएका थिए । अध्यक्ष ओलीका विश्वासपात्र घिमिरेले उक्त निर्वाचनमा २८ हजार ७ सय १६ मत पाएका थिए । निकटतम प्रतिस्पर्धी नेपालले २६ हजार ४ सय ५५ मत पाएका थिए । त्यतिबेला नेपाल स्वतन्त्र उम्मेदवार थिए ।
रास्वपाकी राना मगर, कांग्रेसकी प्रसाईं र स्वतन्त्र उम्मेदवार संग्रौला भने पहिलो पटक प्रत्यक्ष प्रतिस्पर्धामा छन् । राना मगर र प्रसाईं यसअघि समानुपातिक सांसद थिए । नेकपाकी चापागाईंले २०६४ को संविधानसभा चुनाव जितेर राज्यमन्त्रीसम्म बनेकी थिइन् ।
पूर्वउपसभामुख राना मगरले अनाथ बालबालिकाका लागि काम गर्दै आएकी छन् । उपसभामुख हुँदा पदको दुरुपयोग गरी संयुक्त राष्ट्रसंघको कार्यक्रमको नाममा ५ युवालाई अमेरिका लैजान खोजेको आरोप उनीमाथि
लागेको थियो । उनले आफूसँगै ती युवाको भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र लेखेकी थिइन् । उक्त विवादमा दलहरूले उपसभामुखबाट राना मगरको राजीनामा मागेका थिए । तर, उनले राजीनामा दिन अस्वीकार गरेकी थिइन् ।
कांग्रेसकी उम्मेदवार प्रसाईं नेपाल विद्यार्थी संघ हुँदै सदनसम्म पुगेकी थिइन् । चापागाईं २०६४ को संविधानसभा निर्वाचनमा झापा–४ मा कांग्रेस नेता चक्र बास्तोलालाई हराउँदै चर्चामा आएकी थिइन् । चापागाईंकी प्रतिस्पर्धी प्रसाईं बास्तोलाकी भान्जी पनि हुन् ।
राप्रपाका नेपाल पूर्वपत्रकार हुन्, उनी अहिले अधिवक्ता छन् । ‘अघिल्लो पटक नेपाललाई मतदाताले विश्वास गरेर झन्डै जिताएका थिए,’ झापा २ का मतदाता शम्भुप्रसाद सेढाईले भने, ‘यस पटक उनी पहिला जस्तो लोकप्रिय देखिँदैनन् ।’ खासमा स्वतन्त्र उठेका उनी यस पटक दलका उम्मेदवारका रूपमा खुलेपछि मतदाता बेखुसी देखिन्छन् ।
यस क्षेत्रमा २०६४ मा माओवादी, २०७० मा कांग्रेस, २०७४ मा एमाले र २०७९ को चुनावमा एमालेका उम्मेदवार विजयी भएका थिए । यस क्षेत्रमा १ लाख ४७ हजार ५ सय २२ मतदाता छन् । १३ हजार ४ सय ३१ नयाँ मतदाता थपिएका छन् ।
गत निर्वाचनमा यस क्षेत्रमा एमालेले सबैभन्दा वढी २६ हजार ४ सय ९० समानुपातिक मत पाएको थियो । दोस्रोमा रास्वपाले २२ हजार ५ सय १७ मत पाएको थियो । कांग्रेस, राप्रपा र माओवादीले क्रमशः १५ हजार ४ सय ९८, ७ हजार ८ सय ८० र ३ हजार ८ सय ६९ समानुपातिक मत पाएका थिए ।
