काभ्रे क्षेत्र नं १ मा होमिएका १८ जना उम्मेदवारमध्ये अधिकांश नयाँ अनुहारका छन् ।
What you should know
काभ्रे — फाल्गुण २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेको निर्वाचन क्षेत्र नं १ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा होमिएका १८ जना उम्मेदवारमध्ये अधिकांश नयाँ अनुहारका छन् । यस क्षेत्रको निर्वाचनमा यसपटक नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ ।
क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका गुणराज मुक्तान प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ अनुहार हुन् । नयाँ सोच र परिवर्तनले देशलाई सबल, समृद्ध र सुसंस्कृत बनाउने उद्देश्यका साथ युवाको विचार, भावना, समस्या, आवश्यकता र सवाल बोकेर निर्वाचनमा उम्मेदवारी दिएको दाबी गर्छन् । नयाँ आशाको किरण छर्दै युवाले चाहेको देश बनाउन जनतासामु आएको उनको भनाइ थियो ।
मुक्तान कांग्रेसको जिल्ला कार्यसमितिका सचिव हुन् । विद्यार्थी राजनीतिबाट उदाएका मुक्तानले नेविसंघ काभ्रे क्षेत्र नं १ को सभापतिमा निर्वाचित भई दुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हालेका थिए । उनले दुई कार्यकाल क्षेत्र नं १ को सचिव पदमा रहेर काम गरे ।
विद्यार्थी राजनीतिपछि साबिक भीमखोरी गाउँ इकाईको सभापति बनेका मुक्तानले सामाजिक संघसंस्थाको पनि नेतृत्व गरेका थिए । उनले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय अध्यक्ष, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य, उच्चस्तरीय शिक्षा आयोगका सदस्य, नाङसाल एसोसिएसनको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
नेकपा एमालेबाट अमित लामाले उम्मेदवारी दर्ता गराएका छन् । संविधानको रक्षा र देशको विकासका लागि आफूले निर्वाचनमा उम्मेदवारी दिएको उनले बताए । जेन-जी आन्दोलनपछि संविधान र देश नै खतरामा परेको बताउँदै लामाले त्यसको रक्षाका लागि आफू मैदानमा उत्रिएको र जनताको मतसाथ प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
हालै सम्पन्न भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका लामाले राजनीतिक यात्रा युवा संघ नेपालबाट सुरु गरेका थिए । युवा संघमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र तीन कार्यकाल उपाध्यक्ष पद सम्हालेका लामा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा तीन कार्यकाल विभिन्न जिम्मेवारीमा रहे भने प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा निर्वाचित भएका हुन् ।
क्षेत्र नं १ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका दिनानाथ गौतम प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने नयाँ अनुहार हुन् । उनी यसअघिको स्थानीय तहको निर्वाचनमा भने निर्वाचित भइसकेका छन् । स्थानीय तहदेखि संघीय तहसम्म देखिएका विकासका असमानता हटाउँदै सुशासन र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको उनले बताए । जनमुखी नीति निर्माण, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र जनताको प्रत्यक्ष सहभागितामार्फत दिगो विकास गर्ने लक्ष्य आफूले राखेको उनको भनाइ थियो ।
२०३५ सालमा अखिल छैठौँमार्फत संगठनमा आबद्ध भएका दिनानाथ गौतम २०४१ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । सोही वर्ष नेकपा मसालको सदस्य बनेका उनी २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सदस्य भएका थिए । २०४१ सालदेखि शिक्षण पेशामा संलग्न गौतम २०५२ सालमा जनयुद्ध सुरु भएसँगै भूमिगत भएका थिए ।
२०५३ साल फागुनदेखि काभ्रे र रामेछापका जिल्ला सेक्रेटरी रहेका उनी २०५६ सालमा पक्राउ परेका थिए । रिहाइपछि विभिन्न जिल्लामा सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै २०६५ सालमा काभ्रेमा सह–इन्चार्जको जिम्मेवारी सम्हालेका थिए । २०६९ सालमा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य रहेका गौतम २०७३ सालमा जिल्ला इन्चार्ज भएका थिए । २०७४ सालको निर्वाचनमा उनी चौरीदेउराली गाउँपालिकाको अध्यक्ष भए ।
यसअघि कुनै पनि राजनीतिक दलको औपचारिक सदस्य नरहेका मधुकुमार चौलागाईंले क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । अधिवक्ता चौलागाईं २०७९ सालदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन् । चौलागाईं हाल काभ्रे क्षेत्र नं १ का क्षेत्रीय सभापति हुन् । सामाजिक अन्याय, कानुनी विभेद र सुशासनको अभावप्रति असन्तुष्टि जनाउँदै सक्रिय राजनीतिमा प्रवेश गरेको उनले बताए । उनका अनुसार राजनीतिमा आउनु व्यक्तिगत रहर नभई समाजमा देखिएको कानुनको असमान प्रयोग र राज्य संयन्त्रको कमजोरीप्रतिको प्रतिवाद हो ।
उनले उम्मेदवारी दिने प्रमुख उद्देश्य क्षेत्रीय विकास र जनताका जीवनस्तर सुधार गर्नु रहेको बताए । विशेषतः डाँडापारी क्षेत्रमा उच्च शिक्षामा पहुँचको कमी पूरा गर्ने, नमोबुद्ध र नारायणथान डाँडोलाई पर्यटन हबमा परिणत गर्ने, जडीबुटी अनुसन्धान र प्रशोधनका लागि प्राविधिक शिक्षालय स्थापना गर्ने तथा चौरीदेउरालीको ऐतिहासिक तामाखानी पुनः सञ्चालन गर्ने योजना उनका प्राथमिक एजेन्डा हुन् ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट नवराज सत्यालले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाका काभ्रे जिल्ला वरिष्ठ उपाध्यक्ष रहेका सत्याल गत स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाको मेयर पदमा उम्मेदवार हुँदै अहिले प्रतिनिधिसभामा नयाँ अनुहारका रूपमा अघि बढेका छन् ।
देशको धर्म, संस्कृति र राष्ट्रिय अस्तित्व जोगाउने उद्देश्यसहित आफू २०७९ सालमा राजनीतिमा प्रवेश गरेको उनले बताए । पृथ्वी नारायण शाहले एकीकरण गरेको देश अहिले विदेशी प्रभावको अखडा बन्दै गएको, युवा जनशक्ति विदेश पलायन भइरहेको र गाउँमा वृद्ध–वृद्धामात्र सीमित बनेको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे ।
भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने र बिदेसिएका युवालाई स्वदेश फर्काउने अभियानसहित आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । काभ्रे जिल्लालाई पर्यटनको केन्द्रका रूपमा विकास गर्ने, भित्री सडक, यातायात र पूर्वाधार समस्याको समाधान गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए । व्यापार–व्यवसाय छोडेर देश जोगाउने उद्देश्यले राजनीतिमा होमिएको बताउँदै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी नै माटो, धर्म र राष्ट्रियताको रक्षा गर्ने पार्टी भएकाले त्यसमा आबद्ध भएको स्पष्ट पारे ।
विगतको नतिजालाई हेर्दा
२०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नं १ मा ३४ हजार ५ सय १२ मत ल्याएर नेकपा माओवादीका उम्मेदवार सूर्यमान दोङ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रेशम लामाले ३० हजार ५ सय ४८ मत ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसुनारायण श्रेष्ठले ८ हजार ६ सय ९७ मत ल्याएका थिए ।
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नं १ मा गंगाबहादुर तामाङ ४३ हजार ६ सय ३१ मतसहित विजयी भएका थिए । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामाले ३९ हजार ६ सय ५ मत ल्याएका थिए । गौतमको दल विगतका दुवै निर्वाचनमा पालैपालो एमाले र कांग्रेससँग गठबन्धन गरेर निर्वाचन जितेको थियो ।
