रक्षा बम भन्छिन्- संसद्भन्दा बाहिर बसेर दबाब सिर्जना गर्नु अहिलेको आवश्यकता हो।
काठमाडौँ — जेन–जी विद्रोहको सन्देश थियो, राजनीतिमा पुस्तान्तरण । तर, मंगलबार भएको प्रत्यक्षतर्फको मनोनयनमा कमै जेन–जी अभियन्ता देखिएका छन् । आन्दोलनका केही अगुवा चुनावी मैदानमा उत्रिएका छन् भने केही चर्चित अगुवा चुनावी प्रतिस्पर्धाबाट टाढै बसेका छन् ।
नागरिक सरकारमा खेलकुदमन्त्री भएका बब्लु गुप्ताले रास्वपाबाट सिरहा–१ मा उम्मेदवारी दिएका छन् । नवलपुर–२ बाट मनीष खनाल, कैलाली–२ बाट केपी खनाल, गोरखा–१ बाट सुदन गुरुङ र भूपदेव शाह अछाम–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन् । प्रलोपाबाट चितवन–१ मा विकास रसाइली, ललितपुर–१ मा रोहित बास्तोला र हुम्लामा जटिल कार्की उम्मेदवार भएका छन् । मोरङ–५ मा सुजितकुमार साह र मोरङ–६ मा राम खत्रीले पनि उम्मेदवारी दिएका छन् ।
परम्परागत शक्ति मानिएका ठूला दलहरूमा भने जेन–जीको उपस्थिति न्यून देखिन्छ । कांग्रेसबाट काठमाडौं–४ मा सचिन तिमल्सिना उम्मेदवार बनेका छन् । एमालेले पर्सा–२ बाट रिमा यादवलाई अघि सारेको छ भने नेकपाबाट बारा–४ मा अजय कुशवाह चुनावी प्रतिस्पर्धामा छन् । समानुपातिकतर्फ रास्वपाले पुरुषोत्तम यादव र आन्दोलनका क्रममा घाइते भएका प्रकाश बोहोरालाई उम्मेदवार बनाएको छ । प्रलोपाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी रुक्सना कपालीलाई पनि उम्मेदवारका रूपमा अघि सारेको छ ।
प्रायः युवा अन्तिम समयमा चुनावी दौडबाट बाहिरिएका छन् । झापा–५ बाट उम्मेदवारी दिने घोषणा गरेका यतिश ओझाले बालेन्द्र शाह सोही क्षेत्रबाट उम्मेदवार बन्ने भएपछि दाबी छाडेका हुन् । ओझाका अनुसार दलहरूसँगको वैचारिक असहमति र राजनीतिक ‘लेनदेन’ नमिल्नु पनि पछि हट्नुको कारण हो । ‘मैले झापा– ५ को तयारी गरेको थिएँ । तर, मेयरसाब आफैं जाने भएपछि दाबी छाडें,’ ओझाले भने, ‘रास्वपासँग पनि वार्ता भएको थियो । संविधान, धर्मनिरपेक्षता र संघीयताका विषयमा केही सहमति खोजेका थियौं, तर ती विषयमा पार्टी नेतृत्व गम्भीर देखिएन ।’
कांग्रेसले काठमाडौं–१ बाट रक्षा बमलाई उम्मेदवार बन्न प्रस्ताव गरेको थियो । तर, उनले प्रस्ताव अस्वीकार गरिन् । ‘म सडकमै बसेर आवाज उठाउन चाहन्छु,’ बमले भनिन्, ‘सडकको आन्दोलनलाई धोका दिन सक्दिनँ । संसद्भन्दा बाहिर बसेर दबाब सिर्जना गर्नु अहिलेका लागि प्रभावकारी लाग्छ ।’
जेन–जी आन्दोलनका अर्का अगुवा उपार्जुन चाम्लिङले पनि उम्मेदवारी दिने तयारी थालेका थिए । तर, नयाँ दलहरूसँग देखिएको वैचारिक अस्पष्टताका कारण आफू पछि हटेको उनले बताए । ‘पुराना पार्टीहरू विचार र सिद्धान्तमा स्पष्ट छन्, भ्रष्ट छन् तर नयाँ भनिएकाहरू अस्पष्ट छन्,’ उनले भने । जेन–जी अभियन्ता भावना राउतले मुख्य मुद्दा राजनीतिक दलहरू सच्चिनुपर्ने रहेको बताइन् । उनका अनुसार भदौको आन्दोलन प्रश्न सोध्न र सुधारको अपेक्षासहित गरिएको थियो । ‘स्थायित्वका लागि खबरदारी गर्न हामी फेरि सडकमै छौं,’ राउतले भनिन् ।
जेन-जी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आफुहरु सबै जना संसदमा गए सडक खाली हुने जोखिम रहेको बताइन् । 'सडक खाली भयो भने सदन सही गतिमा चल्छ भन्ने लाग्दैन,' उनले भनिन्, 'सडक सस्तो हुनु हुँदैन, तर कमजोर पनि हुनु हुँदैन ।'
