रामेछापमा १४ दल र ३ स्वतन्त्रका उम्मेदवार, महिला भने एक मात्रै

उम्मेदवारविरुद्ध परेका दाबी–विरोधमाथि माघ ७ र ८ गते जाँचबुझ गरिने मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी दिए ।

माघ ७, २०८२

नवराज श्रेष्ठ

14 parties and 3 independent candidates in Ramechhap, only one woman

रामेछाप — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा १४ राजनीतिक दल र ३ जना स्वतन्त्र गरी जम्मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर उम्मेदवारी दर्तामा महिला सहभागिता अत्यन्त न्यून देखिएको छ ।

जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार रामेछापबाट एक जना महिला उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गराएकी छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केसरी श्रेष्ठले उम्मेदवारी दिएकी हुन् । कुल उम्मेदवारमध्ये महिला उम्मेदवारको प्रतिशत ८.८८ मात्रै रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारहरूमा अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरे रहेका छन् ।

राजनीतिक दलतर्फ नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधवप्रसाद ढुङ्गेल, नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. कृष्णहरि बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ, राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङ्गी मगरले मनोनयन दर्ता गराएका छन् ।

नेसनल रिपब्लिक पार्टीबाट यमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योञ्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरेन्द्र श्रेष्ठ, आम जनता पार्टीबाट पदमबहादुर तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट विनोद घिसिङ तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट यमुनबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तापछि मनोनयन पत्रमाथि प्रमाणसहित उजुरी गर्ने प्रावधानअनुसार उम्मेदवारविरुद्ध परेका दाबी–विरोधमाथि माघ ७ र ८ गते जाँचबुझ गरिने मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले जानकारी दिए ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully