कर्णालीका ‘सदाबहार’ उम्मेदवार

जनार्दन शर्माजस्तै केही नेता कर्णालीमा सदाबहार उम्मेदवार छन् । लगातार उम्मेदवार बनिरहने र निर्वाचित भइरहनेमा नेकपाका नेता शक्तिबहादुर बस्नेत पनि पर्छन् । नेकपाका नेता महेन्द्रबहादुर शाही र धनबहादुर बुढा पनि चौथो पटक प्रतिस्पर्धा गर्दै छन् ।

माघ ७, २०८२

कृष्णप्रसाद गौतम

Karnali's 'evergreen' candidate

सुर्खेत — रुकुम पश्चिमबाट २०६४ सालदेखि निरन्तर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका जनार्दन शर्मा पाँचौंपल्ट निर्वाचित हुने दाउमा छन् । शान्ति तथा पुनर्निर्माण, ऊर्जा, गृह र अर्थमन्त्रीसमेत बनिसकेका उनी पूर्वमाओवादीमा आफ्नो जनमत लगातार बढाउँदै विजयी हुने कर्णालीका एकमात्र नेता हुन् ।

उनले २०६४ मा २२ हजार ५ सय ७५, २०७० मा ३० हजार २ सय ७०, २०७४ मा ३४ हजार ४ सय २ र २०७९ मा ३९ हजार ५ सय ४९ मत पाएर संसदीय निर्वाचन जितेका थिए ।

यसअघि पूर्वमाओवादीबाट निर्वाचित भएका उनी लामो समय आफूसँग निकट रहेका पूर्वसहकर्मी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का गोपाल शर्मासँग भिड्दैछन् । शर्माले पूर्वमाओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट यो चुनावमा भाग लिएपछि रुकुम पश्चिमको चुनावी प्रतिस्पर्धा रोचक देखिएको नागरिक अगुवा लक्ष्मण केसीले बताए ।

‘अरू जिल्लामा पूर्वमाओवादीको जनमत कमजोर बन्दा पनि शर्माले यसअघिका चुनावमा मतान्तर बढाउॅदै लगातार विजयी बनेका थिए,’ नागरिक अगुवा केसी भन्छन्, ‘उनको त्यो प्रभाव र लोकप्रियता पार्टीका कारण थियो कि व्यक्तिगत भन्ने यो चुनावले देखाउनेछ ।’ यो निर्वाचनमा शर्माद्वयसहित नेपाली कांग्रेसका राजु केसी, रास्वपाका मानबहादुर शाही र एमालेका नन्दराम देवकोटाबीच प्रतिस्पर्धा हुँदैछ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा १२ निर्वाचन क्षेत्र छन् । जसमा १ सय ३८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । शर्माजस्तै केही नेता भने कर्णालीमा सदाबहार उम्मेदवार छन् । लगातार उम्मेदवार बनिरहने र निर्वाचित भइरहनेमा नेकपाका नेता शक्तिबहादुर बस्नेत पनि हुन् । चौथोपल्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनावी मैदानमा उत्रिएका उनी यसअघि तीनपल्टसम्म पूर्वमाओवादीबाट विजयी बनेका थिए ।

‘जाजरकोटको विकास र समृद्धिको यात्रालाई थप उचाइमा पुर्‍याउन फेरि उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘जनताले दिएका केही कार्यभार पूरा गर्न अझै बाँकी छ ।’ २०७९ सालमा ३४ हजार १ सय ५१ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बस्नेतले २०७४ सालको निर्वाचनमा ३२ हजार २ सय ८१ मत पाएका थिए । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा विजयी भएर बस्नेतले संसदीय यात्रा तय गरेका थिए भने वन तथा वातावरण र गृहमन्त्रीसमेत बने । पार्टी एकीकरणअघिसम्म साविक माओवादी केन्द्रको उपमहासचिव थिए । 

नेकपाकै नेता महेन्द्रबहादुर शाही पनि चौथोपल्ट चुनावी मैदानमा छन् । कालीकोटबाट उम्मेदवारी दिएका शाही कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री हुन् भने संघीय सरकारमा ऊर्जामन्त्री भएका थिए । २०७९ सालको निर्वाचनमा २३ हजार ७ सय २७ मतसहित विजयी भएका थिए भने २०७४ सालको प्रदेशसभा निर्वाचन कालीकोट १ (२) मा १२ हजार १ सय ५३ मतसहित जितेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा विजयी हासिल गरी उनले संसदीय यात्रा थालेका थिए ।

‘सुरुमा त हामीले पार्टीका संयोजकज्यूलाई नै यहाँबाट उठाउन खोजेका थियौ, उहाँले अन्य जिल्ला रोजेपछि जनतासँगको निकट सम्बन्धले फेरि उम्मेदवार बनायो,’ उनले भने, ‘जिल्लाको समृद्धि र विकाससँगै जनतालाई रोजगारीमा जोड्ने र मतदाताका समस्याप्रति सरकारलाई खवरदारी गर्नेगरि संसदीय यात्रालाई निरन्तरता दिएको छु ।’ उनीसँग नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कांग्रेसका हर्षबहादुर बम, एमालेका नागेन्द्र शाही र रास्वपाका प्रकाश न्यौपानेले पनि प्रतिस्पर्धा गरिरहेका छन् । 

नेकपाकै धनबहादुर बुढाको पनि यो चौथो चुनाव हो । उनी तीनपटक प्रतिनिधिसभा सदस्य र दुईपटक मन्त्री भइसकेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा ११ हजार २ सय ९२ मतसहित विजयी भएका थिए भने २०७४ सालमा ११ हजार ७ सय ६१ मतसहित सांसद बनेका थिए । उनले पहिलोपल्ट संविधानसभा सदस्य निर्वाचन–२०७० मा संसदीय निर्वाचन जिते भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र सहरी विकासमन्त्री बनेका थिए ।

उनी दुई कार्यकाल जिल्ला विकास समितिको सभापति भइसकेका व्यक्ति हुन् । उनीसँग उनका सहोदर दाइ कर्णबहादुर बुढाले नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गर्दैछन् । उनी भर्खरै सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए । एक घरका दुई भाइले फरक-फरक पार्टीबाट टिकट पाएपछि चुनावी प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको नागरिक अगुवा विष्णुलाल बुढाले बताए । त्यस्तै एमालेबाट लंकबहादुर रोकाय र रास्वपाबाट देवसिंह ऐडी पनि चुनावी प्रतिस्पर्धामा छन् । 

एउटै व्यक्ति पटकपटक उम्मेदवार बन्दा पार्टीभित्रको आन्तरिक लोकतन्त्रसमेत मजबुत हुन नसकेको राजनीतिक विश्लेषक दुर्गाप्रसाद सापकोटा बताउँछन् । ‘राजनीतिमा पुस्तान्तरण अनिवार्य छ, एउटै व्यक्तिलाई भोट दिँदादिँदा मतदातालाई राजनीतिप्रति वितृष्णा बढेको छ, चुनावी प्रतिबद्धता पूरा नगर्ने र फेरि उम्मेदवार बनिरहने प्रवृत्तिले राजनीतिक अराजकता बढाएको छ,’ उनले भने, ‘जेनजी आन्दोलनले परिवर्तन मागेको हो, अब मतदाता पनि सचेत हुन जरुरी छ ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully