चार पूर्व प्रधानमन्त्री झापा, रौतहट, रुकुम र गोरखाबाट चुनावी मैदानमा देखिएका छन् ।
काठमाडौँ — गत असोजको कुरा हो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सक्रिय राजनीतिबाट विदा लिएको सार्वजनिक घोषणा गरे।
तत्कालीन नेपाल समाजवादी (नयाँ शक्ति) को जिम्मेवारी दुर्गा सोवलाई सुम्पिएपछि उनले मुलुकको हितका लागि नीति निर्माण सम्बन्धी अध्ययन चिन्तनमा लाग्ने बताए। यस्तो घोषणापछि केही दिनसम्म पनि भट्टराई राजनीतिभन्दा पर बस्न सकेनन्। बरु उनले पूर्व माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व प्रमुख सचेतक सन्तोष परियारलाई मिलाएर प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गर्न भूमिका खेले ।
तर निर्वाचन नजिकिदै गर्दा उनी आफ्नै वाचा बिर्सिएझैँ गरी चुनावी मैदानमा उत्रिए। गोरखा–२ का मतदाताको माग भन्दै उनी फेरि प्रत्यक्षतर्फका उम्मेदवार भएका छन् । यसपटक उनको प्रतिस्पर्धा कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग चुनौतीपूर्ण हुने पक्का छ।
राजनीतिमा त्यागको संस्कार स्थापित गर्ने बताउँदै आएका भट्टराईले यसपटक आफू उम्मेदवार हुनुको पाँच आधार अघि सारेका छन् ।
बद्लिँदो भू–राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न; देशमा नयाँ र पुराना राजनीतिक दलहरूबीच र दलहरूभित्रको बढ्दो द्वन्द, असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न; ‘जेन–जी’ विद्रोहको पृष्ठभूमि र संविधानसभाबाट संविधान निर्माणको दश वर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारको निम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्न उनले बताएका छन् ।
२०७९ को निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालका लागि यो ठाउँ भट्टराईले ठाउँ खाली गरेका थिए। दाहालले चुनाव जितेपछि उनीहरूबीचको सम्बन्धमा चिसोपना देखियो।
प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट भट्टराई गोरखा–२ मा उम्मेदवार भएका हुन्। भट्टराई पहिलो, दोस्रो संविधानसभा र २०७४ को निर्वाचन जितेको विगत छ। यो उनको चौथो प्रतिस्पर्धा हो ।
भट्टराईले गोरखा–२ बाट आफू चुनाव लड्नुको कारण खुलाउँदै घरदैलो सुरु गरिसकेका छन्। गोरखनाथका मूल पुजारीबाट टीका र प्रसाद ग्रहण गरेपछि उनी चुनावी अभियानमा होमिएका छन्।
चुनावमा होमिने पूर्वप्रधानमन्त्री भट्टराई एक्ला छैनन्। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली २०४८ देखि झापाबाट उम्मेदवार हुँदै आएका छन्। यो बीचमा उनले एकपटक मात्रै पराजय बेहोरे। यसपटक उनी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौंका पूर्व मेयर बालेन्द्र शाहसँग प्रतिस्पर्धा गर्दैछन् ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनले ओलीलाई हराएका थिए। जनआन्दोलनपछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनदेखि २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचन, २०७० र संविधान जारी भएपछि भएको २०७४ र २०७९ को निर्वाचनमा ओलीले जीत हासिल गरेका थिए। तीन पटक प्रधानमन्त्री भइसकेका उनलाई फेरि पनि एमालेले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ।
ओलीका लागि यसपटक बालेन्द्रसँग रोचक प्रतिस्पर्धा हुने भएको छ। गृह जिल्लामा प्रतिस्पर्धा गर्न आएका बालेन्द्रको सामना गर्न उनले कडा मेहनत गर्नुपर्ने देखिन्छ । ‘जेन–जी’ आन्दोलनले प्रधानमन्त्रीबाट राजीनामा दिएका उनी चुनावी ‘निशानामा’ छन्। रास्वपा वरिष्ठ नेता बालेन्द्रसँग यसपटकको उनको प्रतिस्पर्धा २०६४ को संविधानसभा निर्वाचनमा माओवादीसँग भएको जत्तिकै कडा छ।
११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष भएका ओलीसँग पार्टीको पुरानो विरासत जोगाउने चुनौती पनि छ ।
अनवरत चुनावी दौडमा देखिएका अर्का पूर्वप्रधानमन्त्री हुन्, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल। दाहालसँग २०६४ देखि हालसम्म चार पटक चुनाव जितेर तीन पटक प्रधानमन्त्री भइसकेको विगत छ। काठमाडौं–१०, रोल्पा–२, सिराहा–५, चितवन–३, गोरखा–२ हुँदै यसपटक उनी उम्मेदवार हुन रुकुम पूर्व पुगेका छन् । २०७० मा काठमाडौं–१० एक पटक हार बेहोरेका उनका लागि यसपटक तुलनात्मक रूपमा कम चुनौती छ।
पूर्व माओवादीको सशस्त्र संघर्षको आधार क्षेत्र रहेको रुकुम पूर्वलाई रोज्नुको मुख्य कारण चुनाव जित्न सहज हुनु नै हो। यसपटक दाहाल एकीकृत समाजवादी लगायत २० दल र समूहसँग एकता गरी पार्टी र चुनाव चिह्न परिवर्तन गरी चुनावमा होमिएका छन्। उनले मनोनयन दर्ता गरेपछि २०६४ मा रोल्पाबाट सुरु गरेको निर्वाचन क्षेत्र परिवर्तन रुकुम पूर्व अन्तिम हुन सक्ने बताए ।
‘रोल्पाबाट सुरु गरेर रुकुममा सम्भवतः यो मेरो प्रत्यक्ष निर्वाचनको अन्तिम पनि हुन सक्छ। यो आफैमा एउटा रेकर्ड जस्तो बनेको छ। केन्द्रीय आधार इलाकाको रूपमा स्थापित रोल्पाबाट सुरु गरेर केन्द्रीय आधार इलाकाको रूपमा स्थापित रुकुममा आएर उम्मेदवारी दिनु आफैमा मेरो लागि गर्वको विषय भएको छ,’ उनले भने, ‘मेरो मन मस्तिष्कमा चुनावी बैठक ताजा स्मरण भएको छ। जुन बैठकले नेपालमा झण्डै ढाई सय वर्ष पुरानो राजतन्त्रको अब अन्त्य गर्ने र देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खोल्ने काम गरेको थियो, त्यो रुकुम पूर्वमै छ।’
उनले रुकुम पूर्वलाई आफ्नो हेडक्वाटर बनाउने समेत प्रतिबद्धता व्यक्त गरे। ‘एउटा नयाँ रेकर्ड बनेको छ र रुकुमबाट एउटा नयाँ अभियान देशले देख्नेछ। म जहाँ गयो अहिले, अब पार्टीको हेडक्वाटर त्यही हुन्छ। अब रुकुममा आएर रुकुम नै हेडक्वाटर हुन्छ,’ उनले भने। उनले रुकुम पूर्वमा चुनावी अभियान समेत सुरु गरिसकेका छन्।
माओवादीले २०५८ बैशाखमा आक्रमण गरी ध्वस्त प्रहरी संरचनाको निरीक्षण, शहिद परिवारसँग भेटघाट गरी चुनावी अभियान थालेका छन्। बिहान हिँडाइँको क्रममा स्थानीयले मुढा बालेर आगो ताप्दै गरेको देख्दा उनले स्थानीयसँग रमाइलो गर्दै भने, ‘आगो ताप्नु मुढाको, आगो ताप्नु बूढाको।’
चुनावी मैदानमा देखिएका अर्का पूर्वप्रधानमन्त्री हुन्, पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक माधवकुमार नेपाल। उनी छैटौं पटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन्। माओवादी र एकीकृत समाजवादीसँग एकता गरेपछि उनी नयाँ दलको नाम नेकपाबाट चुनाव लड्दैछन्।
एमालेबाट २०७८ भदौमा अलग भएर उनले एकीकृत समाजवादी बनाएका थिए। गत निर्वाचनमा उनको दल राष्ट्रिय पार्टी बन्न नसके पनि गठबन्धन गरी दश सिट जितेको थियो।
२०५६ सालपछि हरेक निर्वाचनमा उनी उम्मेदवार हुँदै आएका छन्। २०७९ को निर्वाचनमा उनी रौतहट–१ बाट जितेका थिए। २०६४ संविधानसभा काठमाडौं–२ र रौतहट–४ बाट हारेपछि उनले एमाले महासचिवबाट राजीनामा दिएका थिए। राजीनामा दिएर बसिरहेका बेला तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनलाई संविधानसभा सदस्यमा मनोनित गराएका थिए। त्यसपछि २०६६ जेठमा दाहालले राजीनामा दिएपछि उनी प्रधानमन्त्री बनेका थिए।
२०७४ को चुनावमा उनले रौतहट छाडेर काठमाडौं–२ मा उम्मेदवार भई जितेका थिए। २०७० को दोस्रो संविधानसभामा निर्वाचनमा रौतहट–१ र काठमाडौं–२ दुवै क्षेत्रबाट जितेका थिए। २०४८ र २०५१ राष्ट्रिय सभा सदस्य रहेका उनी २०५६ मा रौतहट–४ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रवेश गरेका थिए।
