माधव नेपाल, रेशम चौधरीलगायत उम्मेदवारविरूद्ध उजुरी

निर्वाचन आयोगका अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रेशम चौधरीलगायत उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

माघ ७, २०८२

जयसिंह महरा

Complaints filed against Madhav Nepal, Resham Chaudhary and other candidates

काठमाडौँ — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूविरूद्ध दाबी/विरोध परेको छ । निर्वाचन आयोगका अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रेशम चौधरीलगायत उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

नेकपा नेता एवं पूर्वप्रधानमन्त्री नेपालले रौतहट–१ बाट उम्मेदवारी दिएका छन् । उनीविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य रहेको दाबी गरिएको छ । 

नागरिक उन्मुक्ति पार्टी नेपालका कैलाली–१ का उम्मेदवार भएका रेशमलाल चौधरीविरूद्ध पनि उजुरी दर्ता भएको छ । उनी टिकापुर हत्याकान्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । तर, उनलाई राष्ट्रपतिबाट सजाय माफी दिएर छुटाइएको हो ।

त्यस्तै, सुनसरी–२ बाट रास्वपा उम्मेदवार लालबिक्रम थापा, भक्तपुर–२ बाट रास्वपा उम्मेदवार राजीव खत्री, भक्तपुर–२ बाटै नेपाल जनसेवा पार्टीबाट उम्मेदवार भएकी जानुका पाठकविरूद्ध उजुरी दर्ता भएको आयोगले जनाएको छ । 

रास्वपाका उम्मेदवार खत्रीविरुद्ध नेपाल स्काउटबाट लिएको पेस्की फर्छ्यौट नगरेको भन्दै उजुरी परेको छ । उनले स्काउटबाट ९५ हजार रुपैयाँ पेस्की लिएको तर फर्छ्यौंट नगरेको दाबीसहित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

भक्तपुर- २ कै उम्मेदवार पाठकविरुद्ध भने नागरिकताको विवरण र मनोनयनपत्रको विवरण नमिलेको दाबीसहित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बुधबार १० बजेदेखि ३ बजेसम्म उजुरी दर्ताको समय तोकिएकोमा उक्त अवधिमा भक्तपुरमा २, रौतहटमा १ र सुनसरीमा १ र कैलालीमा १ उजुरी परेको बताए । उम्मेदवारविरुद्ध परेका उजुरीमाथि बिहीबार ५ बजेभित्र छानबिन गरी टुंग्याइने उनले बताए ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully