जिल्लामा थोरै उम्मेदवारमात्र दोहोरिएका छन् । अधिकांश दलले नयाँ र युवालाई अवसर दिएका छन् ।
भैरहवा — विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्ति यसपटक रूपन्देहीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । लामो समय फरक पेसा र व्यवसायमा संलग्न पनि पहिलोपटक उम्मेदवार बनेका हुन् ।
जिल्लामा राजनीतिसँगै विभिन्न पेसा र उद्यममा संलग्नले पनि पहिलोपटक प्रतिस्पर्धाको अवसर पाएका छन् । लामो समय दलमा सक्रिय रहेर उम्मेदवार बन्नबाट वञ्चितले यसपटक मनोनयन दर्ता गराएका छन् । जिल्लामा थोरै उम्मेदवारमात्र दोहोरिएका छन् । अधिकांश दलले नयाँ र युवालाई अवसर दिएका छन् ।
रूपन्देही–३ मा कांग्रेस, राप्रपा र रास्वपाबाट नयाँ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसले रूपन्देही–३ का क्षेत्रीय सभापति सुशील गुरुङलाई उम्मेदवार बनाएको छ । सिद्धार्थनगर–१ का बासिन्दा गुरुङ राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति हुन् । यसअघि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले यहाँबाट प्रतिस्पर्धा गर्दै आएका थिए । ‘सामाजिक क्षेत्रमा क्रियाशील रहेकाले यहाँका समस्याबारे जानकार छु,’ गुरुङले भने, ‘ती सामस्या हल गर्नेगरि चुनावका एजेण्डा तयार गर्छु । कांग्रेसले युवालाई अवसर दिएकाले मतदातामा सकारात्मक संदेश गएको छ ।’
रूपन्देही–३ बाट रास्वपाले न्युरो चिकित्सक लेखजंग थापालाई उम्मेदवार बनाएको छ । यसअघि यसै क्षेत्रमा तोकिएको उपनिर्वाचनमा थापालाई उम्मेदवार घोषणा गरिएको थियो । थापा पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा आमूल परिवर्तन जरुरी रहेकाले आफू राजनीतिमा होमिएको थापाले बताए । ‘चिकित्सक भएकाले रूपन्देहीको सिमावर्ती क्षेत्रका बासिन्दालाई कसरी भरपर्दो उपचार सेवा गर्ने भन्नेबारे चिन्तित छ,’उनले भने, ‘चुनावमा पनि शिक्षा, स्वास्थ्य र रोजगारका एजेण्डामा जोड दिन्छु ।’
रूपन्देही–३ बाट राप्रपाले वरिष्ठ पाइलट गौरव बोहरालाई मैदानमा उतारेको छ । गौरब ०७९ मा यसै निर्वाचन क्षेत्रबाट विजयी दिवंगत राप्रपा नेता दीपक बोहराका जेठा छोरा हुन् । उपनिर्वाचन घोषणा भएदेखि राप्रपाबाट गौरव र उनका भाइ प्रज्वलले उम्मेदवारीमा चासो देखाइरहेका थिए । इन्जिनियर प्रज्वललाई राप्रपाले रूपन्देही–१ बाट उम्मेदवार बनाएको छ । ३० वर्षदेखि हवाई उडानमा संलग्न गौरव अहिले इन्ष्ट्रक्टर पाइलट हुन् । ‘उड्यन क्षेत्रमा लामो समय बिताए,’ उनले भने, ‘अहिले बुवाकै निर्वाचन क्षेत्रमा चुनाव लड्न आएको छु, बुवाबाट सिकेको राजनीतिले मलाई पनि सहयोग गर्ने विश्वास लिएको छुँ ।’ बुवाको प्रचारका क्रममा मतदातासित घुलमिल हुने अवसर पाएकाले चुनाव नौलो नहुने उनले बताए ।
रूपन्देही–२ मा कांग्रेसबाट उद्योगी चुन्नप्रसाद पौडेल उम्मेदवार बनेका छन् । औद्योगिक समूह यशोदा ग्रुपमा संलग्न पौडेल बुटवल अस्पताल प्रालिका अध्यक्षसमेत हुन् । केही महिनाअगाडि बुटवलमा सञ्चालनमा आएको पाँच तारे होटल हायातमा पनि उनको लगानी रहेको छ । लामो समयदेखि उद्योग व्यवसाय सञ्चालन गरिरहेका पौडेल कांग्रेसमा आबद्ध थिए ।
‘उद्योगीका रूपमा रूपन्देहीका जनताकै सेवा गरिरहेको थिएँ,’ उनले भने, ‘जनताले चुनाव जिताएर सेवा गर्ने मौका दिनु हुनेछ भन्ने विश्वास लिएको छु ।’ एमाले उपाध्यक्ष विष्णु पौडेल पनि रूपन्देही–२,बाटै प्रतिस्पर्धामा छन् । यहाँबाट नेपाली कम्युनिष्ट पार्टीले विश्वदीप पाण्डे र रास्वपाले शुलभ घिमिरेलाई उम्मेदवार बनाएका छन् । रूपन्देही–४ बाट पर्यटन व्यवसायी प्रमोद यादव उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसमा आबद्ध यादव पार्टीले टिकट नदिएपछि एमालेबाट उक्त क्षेत्रमा उम्मेदवार बनेका हुन् । २०७४ सालमा कांग्रेसबाट उम्मेदवार बनेर रूपन्देही–४ बाट विजयी भएका उनी ०७९ सालमा त्यही क्षेत्रबाट पराजित भएका थिए ।
रूपन्देही–५ मा रास्वपाबाट निर्माण व्यवसायी तौफिक अहमद खाँ उम्मेदवार छन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह निटक खाँ लामो समयदेखि लुम्बिनी र आसपास क्षेत्रमा सामाजिक क्रियाकलापमा संलग्न छन् । ‘परिवर्तन शब्दमा होइन, कर्ममा चाहिन्छ,’ उनले भने, ‘नागरिकका माग पूरा गर्छौं भनेर धेरै नारा लगाइयो, तर कहिल्यै भुइँ तहका मानिसको पक्षमा काम भएन ।’ यसपटक निर्वाचन जितेर सीमावर्ती बासिन्दाको हितमा काम गर्ने सोचले मैदानमा उत्रिएको उनले बताए ।
यही क्षेत्रबाट कांग्रेसले भरत शाहलाई उम्मेदवार दोहोर्याएको छ भने एमालेबाट खिमलाल भट्टराई पहिलोपटक प्रतिस्पर्धामा छन् ।
