सत्ता र शक्तिप्रतिको यही अतिशय मोहबीच देउवा बदनामीका सारा विशेषणले विभुषित भएर बहिर्गमित भए।
काठमाडौँ — २०४८ सालमा पहिलो पटक गृहमन्त्री बन्दा शेरबहादुर देउवा ४५ वर्षका थिए। त्यसयता तीन दशक उनी निरन्तर सत्ताको वरिपरि रहे। पाँच पटक प्रधानमन्त्री बने। २०५२ मा पहिलो पटक प्रधानमन्त्री बनेका देउवा क्रमशः २०५८, २०६१, २०७४ र २०७८ मा पनि प्रधानमन्त्री बन्न सफल भए।
नेपालमा पहिलोपटक दलीय गठबन्धनको सरकार बनाउने प्रधानमन्त्री पनि देउवा नै हुन्। २०५२ मा उनले आफ्नो पार्टी कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सद्भावना पार्टीको समर्थन र सहभागितामा सरकारको नेतृत्व गरेका थिए।
त्यसयता देउवाले ‘सत्ताका लागि जे पनि गर्ने’ नेताको छवि बनाएका छन्। जोसँग मिलेर पनि सरकार बनाउने, जसरी पनि सरकारमा पुग्ने र जसरी पनि सरकारमा टिक्ने उनको प्रवृत्ति रहँदै आएको छ।
२०५२ मा गठित सरकारका विरुद्ध दुई पटक अविश्वासको प्रस्ताव आए, दुईपटक देउवाले आफैं विश्वासको मत लिए। यस्तै कार्यकालमा देउवाले प्राडो पजेरोमा भन्सार छुट दिएर सांसदहरूलाई विलासी जीवनशैलीतर्फ प्रेरित गरेका थिए। सरकारलाई बलियो बनाउन जोसुकै सांसदलाई पनि मन्त्री बनाएर मन्त्रिपरिषदको आकार अस्वाभाविक रूपमा ठूलो बनाए। साथै, आफूविरुद्धको अविश्वास प्रस्ताव असफल बनाउन उनले मन्त्रीहरूलाई उपचारको बहानामा बैंकक पनि घुमाएका थिए।
डेढ वर्षमै उनी सत्ताबाट बाहिरिए, तर पदप्रतिको आशक्ति बोकेर ।
देउवा कहिल्यै सहज र स्वाभाविक ढंगले प्रधानमन्त्रीको पदमा पुगेका छैनन्। निर्वाचनले दिएको जनादेशबाट उनी प्रधानमन्त्री बनेका छैनन्। प्रतिनिधि सभाको कार्यकालबीचमा आएका गडबडीलाई उनले आफ्नो पक्षमा ल्याउने गरेको विश्लेषण गरिएको छ। रोचक कुरा के भने, २०७९ मा कांग्रेस ठूलो दल बने पनि उनी प्रधानमन्त्री बन्न सकेनन्।
उनले २०५१ को निर्वाचनपछि २०५२ मा दोस्रो सरकार, २०५६ को निर्वाचनपछि २०५८ मा तेस्रो सरकार, २०५९ मा भएको प्रतिनिधि सभा विघटनपछि २०६१ मा राजा ज्ञानेन्द्रबाट नियुक्ति, २०७० को निर्वाचनपछि २०७४ मा चौथो सरकार र २०७४ को निर्वाचनपछि २०७८ मा तेस्रो सरकारको प्रधानमन्त्री बनेका थिए।
कि उनले तानाबाना बुनेर प्रधानमन्त्री बन्न सके, कि उनलाई तानाबाना गरेर प्रधानमन्त्री बनाइयो—उनको सत्ता आशक्तिका कारण उनी पटकपटक प्रधानमन्त्री बन्न र बनाइएन सम्भव भएको विश्लेषण गरिन्छ।
२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रको चंगुलमा फसेर उनले संसद् विघटन गरे, ज्ञानेन्द्रकै उक्साहटमा कांग्रेस विभाजन पनि गरे। सडक संघर्ष छाडेर प्रधानमन्त्री पनि बने। उनको कदमले दरबारविरुद्धको संघर्ष लम्बियो र दरबार पनि अधिनायकवादी अखडा बन्यो।
प्रधानमन्त्री बन्नकै लागि देउवाले २०५२ मा पञ्चायतकालीन शक्ति राप्रपालाई ‘रातो कार्पेट’ ओछ्याएका थिए। २०५९ मा आफूलाई अक्षम भन्दै हटाएका राजा ज्ञानेन्द्रले पनि भुलभुलैयामा परे। २०६१ मा तेस्रोपटक प्रधानमन्त्री भएपछि ‘गोर्खाली राजाले न्याय दिए’ भनेर उनले दिएको अभिव्यक्ति आजसम्म पनि सत्ता लोभको प्रतीकात्मक वाक्यका रूपमा स्थापित भएको छ।
संसद् विघटनपछि राजाविरुद्धको आन्दोलनमा एकीकृत भएका कांग्रेस (त्यतिबेला देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गरिसकेका थिए) र एमालेलाई सडकमा छोडेर दरबार पसेका थिए। त्यतिबेला देउवाको हात समाउँदै एमाले पनि दरबार पसेको थियो। एमालेले भने ‘प्रतिगमन आधा सच्चिएको’ निष्कर्ष निकालेको थियो।
२०६१ जेठमा कांग्रेस–एमाले लगायतका दलको सरकारमाथि २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले कू गरेका थिए। सोही सरकारमा एमालेबाट नेतृत्व गरेका भरतमोहन अधिकारीले आफ्नो पुस्तक ‘संसददेखि संविधानसभासम्म’मा लेखेका छन्—'प्रधानमन्त्री देउवाको उदासीनता, हेलचेक्राई र दरबारसँग बढ्दो हिमचिमका कारण राजाले २०१७ सालमा झैं ‘कू’ गर्ने मौका पाए।'
२०७४ मा प्रधानमन्त्री बन्नका लागि उनले २०७३ मै माओवादीलाई एमालेबाट खोसेर ल्याएका थिए। २०७८ मा आफ्नो सत्ता निरन्तरताका लागि एमालेबाट माधवकुमार नेपाल नेतृत्वको समूहबाट फुटाएका थिए।
सत्ताभन्दा बाहिर बस्ने उनको स्वभाव थिएन। सत्तामा रहँदा सत्तापक्षीय भइहाले, विपक्षीमा हुँदा पनि उनले त्यसअनुसारको भूमिका निर्वाह गर्न सकेनन्। केपी ओली नेतृत्वको नेकपा र एमाले सरकारको पालामा उनले संवैधानिक निकायमा भागबण्डा लिएका थिए।
पार्टी सञ्चालनमा पनि उनले आदर्श र प्रजातान्त्रिक छवि स्थापित गर्न सकेनन्। सुरुमा गिरिजाप्रसाद कोइरालाकै निकट रहेका र उनकै चाहनामा पहिलो पटक प्रधानमन्त्री बनेका देउवा पछि कोइरालासँग संघर्ष गर्ने ठाउँमा पुगे।
२०५९ मा कांग्रेस विभाजन गरे पनि २०६४ मा उनले कांग्रेस प्रजातान्त्रिकलाई मूल कांग्रेसमै मिसाए। तर, सांसदको टिकटदेखि मन्त्रीको नियुक्तिसम्ममा भागबण्डाको ऐंजेरु बनेर रहे। पहिलो संविधान सभामा कांग्रेस दोस्रो पार्टी भएपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले भनेका थिए—'पार्टी एकीकरण गर्नु नै ब्लन्डर थियो।'
अर्थात् देउवासँगको एकताले विकृति भित्र्याएको र पार्टीको राजनीतिक पुँजीमा क्षति पुगेको कोइरालाको विश्लेषण थियो।
एकीकृत भएपछि पनि देउवा कांग्रेसको दुई पटक सभापति बने, दुई पटक प्रधानमन्त्री बने। तर सत्ता स्वार्थबाहेक उनले केही देखेनन्। ज्योतिषले ‘सात पटक प्रधानमन्त्री’ बन्ने भनेको भनेर उनले सार्वजनिक रूपमा कुरा गरेका थिए। यो उनीभित्र निहित अथाह सत्तामोहको एउटा प्रतिनिधि दृष्टान्त हो। सत्ता सुनिश्चितताकै लागि उनले जोसुकैसँग चुनावी गठबन्धन गर्न पनि पछि परेनन् ।
उनी गुटभन्दा पर देख्नै नसक्ने र गुटभन्दा परको संसारसँग संवाद नै गर्न नसक्ने भइसकेका थिए। त्यो स्वभाव पछिल्लो समय झन् कठोर भएको थियो। यसको उदाहरण हालैको विशेष महाधिवेशनको सेरोफेरोमा उनले देखाएको व्यवहार हो ।
आफैंलाई निर्वाचित गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले मागेर काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरिरहँदा पनि उनले भेउ पाएनन्। उनी आफ्नै गुटको स्वार्थपूर्ण विश्लेषणमा रुमल्लिरहे। अन्ततः सत्ता र शक्तिप्रतिको यही अतिशय मोहबीच उनी बदनामीका सारा विशेषणले विभुषित भएर बहिर्गमित भए।
