सोबिता गौतमको प्रस्तावकमा रास्वपा चितवनका जिल्ला सभापति कृष्णप्रसाद भुसाल र समर्थकमा रास्वपाको भरतपुर महानगरपालिका समितिका उपसभापति आशिष लो तामाङ रहेका छन् ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सोबिता गौतमले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।
गौतमले मंगलबार निर्वाचन अधिकृतको कार्यालय गएर उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा रास्वपा चितवनका जिल्ला सभापति कृष्णप्रसाद भुसाल र समर्थकमा रास्वपाको भरतपुर महानगरपालिका समितिका उपसभापति आशिष लो तामाङ रहेका छन् ।
निर्वाचन आचारसंहिता मानेर चुनाव प्रचार-प्रसार गर्न उनले आग्रह गरेकी थिइन् । रास्वपाले निर्वाचन कानुन र आचारसंहिता पालना गरेर अगाडि बढ्ने उनको भनाइ थियो । 'निर्वाचनलाई स्वच्छ, पारदर्शी र भयरहित बनाउनका लागि भूमिका खेल्नुपर्नेछ । हाम्रो पार्टीको तर्फबाट कहिँ कसैलाई पनि अलिकति पनि चोट हुने किसिमको काम नगरीकन निर्वाचन आचारसंहितालाई जोगाउनुपर्नेछ,' उनले भनिन्, 'अबको चुनावी प्रतिस्पर्धामा छौं ।'
गौतम २०७९ को निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् । यसपटक रास्वपाका निवर्तमान सांसदहरू २०७९ मा जितेकै निर्वाचन क्षेत्रबाट उम्मेदवार हुँदा गौतम भने चितवन गएकी हुन् । काठमाडौं २ मा रास्वपाले सुनिल केसीलाई उम्मेदवार बनाएको छ । केसीले सोमबार मात्रै राप्रपा परित्याग गरी रास्वपा प्रवेश गरेका थिए ।
चितवन ३ मा नेकपाकी रेनु दाहाल उम्मेदवार बनेकी छन् । भरतपुर महानगरपालिका प्रमुखबाट राजीनामा दिएर दाहाल उम्मेदवार बनेकी हुन् ।
