सुदूरपश्चिम र केन्द्रबीच मनोवैज्ञानिक दूरी बढिरहेको छ : श्रम मन्त्री भण्डारी

राज्य सत्तामा सुदूरपश्चिमको प्रतिनिधित्व निकै ढिलो र सीमित जिम्मेवारीमा मात्र खुम्चिएको मन्त्री भण्डारीले टिप्पणी गरे ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Psychological distance is increasing between the Far West and the center: Labor Minister Bhandari

काठमाडौँ — सुदूरपश्चिम र संघीय राजधानीबीच भौगोलिक मात्र नभई मनोवैज्ञानिक दूरीसमेत बढ्दै गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले बताएका छन् । प्रदेशस्तरीय 'सीप तथा रोजगार मेला २०८२' को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यही दूरी र देशमा व्याप्त असन्तुलित विकासका कारण समाजमा असन्तुष्टि र आक्रोश चुलिँदै गएको धारणा राखे ।

जनआन्दोलनहरू र पछिल्लो समयको जेन जी विद्रोहमा समेत सुदूरपश्चिमका युवाहरूले सबैभन्दा धेरै सहादत दिएको उनले स्मरण गरे । 

समानुपातिक र सन्तुलित विकासको अभाव तथा भौगोलिक अवरोधले नागरिकमा जन्माएको असन्तोष अब देशले थाम्न नसक्ने भन्दै मन्त्री भण्डारीले यो अवस्था ‘आत्मविस्फोट’को स्थितिमा पुग्यो भने देशले धान्न नसक्ने बताए । 

सुदूरपश्चिमको सीपलाई विकाससँग जोडेर समृद्धिको स्पष्ट मार्ग पहिचान गर्नुपर्ने उनको सुझाव छ। यसका लागि धनगढीका मेयर गोपाल हमालजस्ता कुशल व्यवस्थापकहरूको आवश्यकता रहेको उनले औंल्याए । मन्त्री भण्डारीले समाजमा श्रमप्रतिको दृष्टिकोण र मानसिकता अझै कमजोर रहेको चर्चा गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास अपरिहार्य रहेको कुरामा जोड दिए ।

आन्तरिक रोजगारी प्रवद्र्धनका लागि आवश्यक कार्यविधिहरू निर्माण गरी त्यसलाई राष्ट्रिय रोजगार प्रणालीसँग जोड्ने कार्य संघीय श्रम मन्त्रालयले तीव्र गतिमा अघि बढाइरहेको उनले जानकारी पनि दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully