काठमाडौंका १० मध्ये ९ निर्वाचन क्षेत्रमा कांग्रेसका नयाँ अनुहार

काठमाडौं–१ बाट आकांक्षी रहेका प्रकाशमान सिंहको संसदीय यात्रामा पनि 'ब्रेक' लागेको छ ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

New faces in Congress in 9 out of 10 constituencies in Kathmandu

काठमाडौँ — काठमाडौंका १० निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदीप पौडेलबाहेक सबैमा नयाँ उम्मेदवार खडा गरेको छ ।

योसँगै कांग्रेस नेता प्रकाशमान सिंहको पनि ०४८ सालदेखिकै संसदीय यात्रामा ब्रेक लागेको छ । सिंहले काठमाडौं–१ बाट टिकट चाहेका थिए । तर, उनको स्थिति सबल नभएको भन्दै कांग्रेसले प्रवल थापालाई उम्मेदवार बनाएको छ । उनी नयाँ अनुहार हुन् ।

त्यस्तै काठमाडौं-२ बाट कविर शर्माले टिकट पाएका छन् । उनी स्ववियु हुँदै क्षेत्रीय सभापति बनेका थिए । पहिलोपल्ट उनी संसदीय प्रतिस्पर्धामा उत्रिएका हुन् ।

काठमाडौं-३ बाट उम्मेदवार भएका रमेश अर्याल पनि पहिलोपल्ट चुनावी मैदानमा आएका हुन् । उनी यसअघि वडाध्यक्ष थिए ।

२०७० सालदेखि चुनाव लड्दै आएका पार्टी सभापति गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं-४ मा सचिन तिमिल्सिनाले टिकट पाएका छन् । तिमिल्सिना क्रिकेटका कमेन्टेटर तथा केन्द्रीय युथ कंग्रेसको संस्थापक सभापति हुन् ।

काठमाडौं–५ मा पूर्वस्वास्थ्यमन्त्री तथा कांग्रेस महामन्त्री प्रदीप पौडेलले दोहोरिएका छन् । उनी यसअघि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

काठमाडौं-६ बाट सबुज बानियाँ उम्मेदवार भएका छन् । उनी कांग्रेसका जिल्ला सभापति हुन् । उनी पनि पहिलोपल्ट संसदीय प्रतिस्पर्धामा उत्रिएका हुन् । 

काठमाडौं–७ बाट टिकट पाएका प्रमोदहरि गुरागाईं पनि नयाँ अनुहार हुन् ।

काठमाडौं-८ बाट स्वर्गीय नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना राजभण्डारी जोशीलाई उम्मेदवार बनाइएको छ ।यसअघि उनी समानुपातिकतर्फबाट उम्मेदवार थिइन् । उनी पहिलोपल्ट चुनावी मैदानमा उत्रिएकी हुन् ।

काठमाडौं–९ मा नानु बाँस्तोला र काठमाडौं–१० मा हिमाल कार्की उम्मेदवार भएका छन् । बास्तोला यसअघि प्रदेशको टिकट पाएर पराजित भएकी थिइन् । यसपटक उनी प्रतिनिधिसभाकै उम्मेदवार भएकी छन् ।

अर्का युवा कार्कीलाई काठमाडौं–१० को टिकट दिइएको छ । यसअघि चुनाव लड्दै आएका राजेन्द्र केसीले यसपटकदेखि संसदीय प्रतिस्पर्धा नगर्ने घोषणा गरेपछि कार्कीले अवसर पाएका हुन् । उनी जिल्ला कार्यसमिति सदस्य हुन् ।

कान्तिपुर

Link copied successfully