त्यतिबेला राहु र संकट लागेपछि केही लाग्दैन । अब सब कुरा राम्रो भा'छ : मिश्र
काठमाडौँ — राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसअघि २ पटक प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरे पनि यसपटक भने जित हात पार्ने बताएका छन् ।
काठमाडौं-१ मा मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा मिश्रले आफू काठमाडौं-१ का जनताले गर्व गर्न योग्य सांसद बन्ने पनि बताए ।
उनले यसअघि झिनो अन्तरले पराजित भएको प्रसंग सुनाउँदै भने, 'यसअघि ६३ भोटको मात्र मतान्तर हो । ६३ भोट मात्र बढ्या भए मैले जितिहाल्थे । त्यतिबेला राहु र संकट लागेपछि केही लाग्दैन । अब सब कुरा राम्रो भा'छ । पृथ्वीनारायण शाहबाट प्रेरणा लिएको छु । पृथ्वीनारायण शाहले तेस्रोचोटिमा काठमाडौंमाथि विजय गरे । मैले तेस्रो चोटिमा काठमाडौं-१ मा विजय हासिल गर्ने हो ।'
२०७९ मा कांग्रेस नेता प्रकाशमान सिंहसँग उनी झिनो मतान्तरले पराजित भएका थिए । उनी सिंहसँग १२५ मतको अन्तरले मात्र हारेका थिए ।
त्यस्तै २०७४ सालमा भने मिश्र विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी सिंहसँगै ८ सय १८ मतले पराजित भएका थिए ।
