अनि देउवाले गरेका थिए उम्मेदवार नहुने घोषणा

समय र परिस्थितिको मागलाई नबुझ्दा देउवाको बहिगर्मन भने त्यति सुखद हुन पाएन ।

माघ ६, २०८२

कुलचन्द्र न्यौपाने

And Deuba had announced that he would not be a candidate.

काठमाडौँ — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा अन्तिमपटक चुनाव लड्न चाहन्थे । सोमबार आफ्नो समूहबाट पठाएको सूचीमा उनको नाम समावेश थियो ।

देउवा पक्षले शेखर कोइरालाको सहित करिब ८२ निर्वाचन क्षेत्रको क्षेत्रमा टिकट पाउनुपर्ने सूची पठाएको थियो । 

वार्तामा सहभागी एक नेताका अनुसार कतिपय ठाउँमा एउटै निर्वाचन क्षेत्रका लागि दुईतीन जनाको विकल्पसमेत दिइएको थियो । सोमबार र मंगलबार बिहान तीन समूहका वार्ताकारबीचको छलफलमा कांग्रेस सभापति गगनकुमार थापाको हस्ताक्षरबाटै चुनाव लड्ने र सहमतिमै टिकट वितरण गर्ने समझदारी बनेको थियो। जसअनुसार देउवा पक्षले आफ्नो समूहबाट करिब ७० निर्वाचन क्षेत्र र बाँकी शेखर पक्षको समावेश गरेर सभापति थापालाई सूची बुझाएको थियो । 

सूचीमा देउवापत्नी आरजु राणा देउवाको नाम भने थिएन । देउवाले अन्तिमपटक चुनाव लड्ने चाहना राखेकाले उनको गृहजिल्ला डडेलधुराबाट एकल नाम सिफारिससमेत भएको थियो ।

यता सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा आगामी संसद्मा देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न चाहन्थे । समानुपातिक उम्मेदवारको सूचीमा देउवा आफैले हस्ताक्षर गरेर बुझाइएको थियो । त्यसमा देउवाकै बहुमत उम्मेदवार छन्। प्रत्यक्षतर्फ पनि देउवा पक्षले उल्लेख्य उम्मेदवारको दाबी गरेपछि थापा र शर्मालाई सशंकित बनाएको थियो। 

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा पनि थापा र शर्माले देउवालाई सक्रिय राजनीतिबाट विश्राम लिन भनिरहेका थिए । पार्टी सभापतिबाट मात्रै नभएर संसदीय राजनीतिबाट समेत अब देउवाले विश्राम लिनुपर्छ भन्ने उनीहरूको चाहना थियो। त्यसैले त्यतिबेला पनि देउवाले कि त संसदीय चुनाव नलड्ने स्वयं आफैले घोषणा गर्नुपर्ने वा पार्टीबाट भावी प्रधानमन्त्रीको नाम अघि सार्नुपर्ने प्रस्ताव राखेका थिए । 

यही विवादले कुरा नमिलेपछि त्यतिबेला वार्ता भंग भएको थियो । र विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।

अहिले पनि देउवा डडेलधुराबाट चुनाव लड्न खोज्नु र उम्मेदवार चयनमा समेत आफ्नो उल्लेख्य उपस्थिति गराउन खोज्नुले संसदीय दलको नेता आफै भएर प्रधानमन्त्रीको दावा गर्न सक्ने हुन् कि भन्ने शंका थापा र शर्मामा थियो ।

त्यसैकारण हिजो धेरै ठाउँमा टिकट वितरणमा विलम्ब भएको एक पदाधिकारीले बताए । देउवालाई टिकट दिने कि नदिने भन्नेमै लामो बहस हुन थालेपछि राति १२ बजे देउवा आफैले उम्मेदवार नहुने घोषणा गरेका थिए ।

'टिकट नदिँदा झन् नराम्रो सन्देश जाला भनेर देउवा आफैले त्यसअघि नै चुनाव नलड्ने घोषणा गर्नुभएको हो,' कांग्रेसका ती पदाधिकारीले भने । उनका अनुसार फेरि एकपटक सम्झाउने, त्यसपछि पनि चुनाव लड्छु भनेमा टिकट दिने सोचमा पदाधिकारीहरु थिए। तर त्यसले अन्य ठाउँमा देउवापक्षका उम्मेदवारहरूको टिकट कटौती हुन सक्थ्यो ।

२०४८ सालदेखि निरन्तर संसद्‌मा प्रतिनिधित्व गर्दै आएका देउवाको राजनीतिक यात्रामा यसपटक अनपेक्षित ‘ब्रेक’ लागेको छ ।उनको गृहजिल्ला डडेलधुराबाट नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले टिकट पाएका छन् । योसँगै देउवा पार्टी र संसदीय राजनीतिक यात्राबाट बाहिरिएका छन् । समय र परिस्थितिको मागलाई नबुझ्दा देउवाको बहिगर्मन भने त्यति सुखद हुन पाएन ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully