नयाँ कार्यसमिति अवैधानिक भन्दै रिट हाल्न उक्साउने कांग्रेस नेताहरू गगनकै हस्ताक्षर भएको टिकटबाट मनोनयन दर्ता गराउँदै 

गगन थापा नेतृत्वको कार्यसमितिलाई अवैधानिक भन्दै एक सय सदस्यको हस्ताक्षरसहित आइतबार खड्काले मुद्दा दायर गरेका थिए ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Congress leaders who instigated the filing of a writ petition calling the new working committee illegal are registering nominations using tickets signed by Gagan.

काठमाडौँ — गगन थापा नेतृत्वकै कांग्रेस केन्द्रीय कार्यसमिति अवैधानिक भनेर अदालतमा दर्ता भएको रिटमा हस्ताक्षर गर्नेमध्येकै धेरैजसो नेताले थापाकै हस्ताक्षरबाट टिकट लिई उम्मेदवारी दर्ता गरेका छन् ।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले मात्रै आफूले नैतिकताका आधारमा टिकट नलिएको जनाएका छन् ।

थापाको हस्ताक्षरमा सभापति शेरबहादुर देउवा आफै उम्मेदवार हुन चाहेका थिए । तर, थापा र उपसभापति विश्वप्रकाश शर्माले सक्रिय राजनीतिबाट अलग भई अभिभावकको भूमिकामा बसिदिन आग्रह गरेपछि देउवाको सचिवालयले सोमबार राति १२ पछि मात्रै उम्मेदवार नहुने निर्णय सार्वजनिक गरेको थियो । 

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले गत शुक्रबार अद्यावधिक गर्ने निर्णय गरेपछि कानुनी उपचार र सडकबाट प्रतिवाद गर्नुपर्ने भनेर सबैभन्दा बढी चर्को आवाज उठाउनेमध्येका नेता विमलेन्द्र निधिले धनुषा–३ बाट थापाले हस्ताक्षर गरेको टिकट लिएर उम्मेदवारी दर्ता गराएका छन् । 

अर्का नेता महेन्द्र यादवले धनुषा–४ बाट टिकट लिई उम्मेदवारी मनोनयन हुँदै छ । त्यस्तै नुवकोट–१ बाट पूर्वप्रवक्ता प्रकाशशरण महतले उम्मेदवारी दर्ता गरेका छन् । अर्का नेता कञ्चनपुर–२ मा एनपी सावदले उम्मेदवारी दर्ता गराएका छन् । 

थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई अवैधानिक भन्दै यसअघिको केन्द्रीय कार्यसमितिमा रहेका १ सय सदस्यको हस्ताक्षरसहित आइतबार खड्काले मुद्दा दयार गरेका थिए । हस्ताक्षर गर्नेमध्ये अरु पनि थ्रुपैले टिकट लिएका छन् ।

पूर्वपदाधिकारीमध्ये प्रकाशमान सिंह, विजयकुमार गच्छदार र शशांक कोइरालाले भने टिकट पाएनन् । त्यस्तै, पूर्व गृहमन्त्री रमेश लेखकको पनि टिकट काटिएको छ । टिकट नपाउनेमा संसदीय दलका पूर्वप्रमुख सचेतक श्याम घिमिरे पनि छन् । एद्यपि उनले रिटमा आफूले हस्ताक्षर नगरेको बताएका छन् ।

खड्काले आज बिहानै सामाजिक सञ्जालमा लेख्दै अवैधानिक भनिएको केन्द्रीय कार्यसमितिका सभापतिको हस्ताक्षरबाट जारी गरिने टिकबाट उम्मेदवार हुन आफ्नो जीवनभरिको राजनीतिक मूल्य, मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने भन्दै टिकट नलिएको जानकारी गराएका छन् । 

‘२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानको विपरीत गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते म स्वयं समेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने  मेरो दाबी समेत भएकोले,’ फेसबुकमा खड्काले लेखेका छन्, ‘निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवनभरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथीहरु र आम मतदाताको माया, भरोसा र विश्वास मप्रति हुँदाहुँदै पनि यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु ।’ 

उनले रुख चिह्न लिएर आउने उम्मेदवारलाई विजयी गराउन मतदातासँग अपिलसमेत गरेका छन् ।

कान्तिपुर

Link copied successfully