अफिलाल ओखेडा भन्छन् : मेरो टिकट कुन अपराधीले खोसेर लग्यो, म टिकटकै प्रतीक्षामा छु

सचिवालयले निर्णय गरेर उम्मेदवार बनाएका अफिलाल ओखेडाको टिकट ऐन महरलाई दिएपछि बझाङमा एमाले कार्यकर्तासमेत विभाजित भएका छन्।

माघ ६, २०८२

वसन्तप्रताप सिंह

Afilal Okheda says: Which criminal snatched my ticket, I am waiting for the ticket

बझाङ — एमाले केन्द्रीय सचिवालयले छनोट गरेका प्रतिनिधिसभा उम्मेदवारको नाम परिवर्तन भएपछि बझाङ एमालेमा खैलाबैला भएको छ। सचिवालयले निर्णय गरेर उम्मेदवार बनाएका अफिलाल ओखेडाको टिकट ऐन महरलाई दिएपछि कार्यकर्ताहरू समेत विभाजित भएका छन्।

आइतबार बिहानै बझाङका चोक–चौतारा र चियापसलमा अफिलाल ओखेडाले फागुन २१ गतेको निर्वाचनका लागि टिकट पाएको चर्चा चुलिएको थियो। बिहान सबेरै ओखेडा आफैंले सचिवालय बैठकले आफूलाई उम्मेदवार बनाएको भन्दै सहयोगको अपिलसहितको भिडियो सामाजिक सञ्जालमा अपलोड गरे।

निर्वाचनमा सहयोग गर्न अपिल गर्दै भिडियोमा उनले भनेका थिए, ‘मलाई उम्मेदवारको रूपमा अघि सारेर महत्वपूर्ण जिम्मेवारी दिएकोमा पार्टी अध्यक्ष, सचिवालयका पदाधिकारी, सदस्य तथा सम्पूर्ण कार्यकर्ताप्रति आभारी छु।’ त्यसलगत्तै सामाजिक सञ्जालमा बधाई दिन उनका समर्थकहरूको प्रतिस्पर्धा नै चल्यो।

पार्टी जिल्ला कमिटीले सिफारिस गरेका ऐन महरलाई नदिएर टिकट अर्कैलाई दिएको भन्दै केही कार्यकर्ताहरूले ओखेडालाई मत दिन नसकिने आशयका स्टाटसहरू पनि लेखे। अधिकांश कार्यकर्ता भने पार्टीको निर्णय मान्ने भन्दै बधाई दिइरहेका बेला आइतबार दिउँसै ओली निवासबाट अफिलालको टिकट ऐन महरलाई दिइएको सूचना बाहिरियो।

त्यो खबरसँगै ओखेडाका समर्थकहरू सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका छन् भने महर समर्थकहरू उनीहरूलाई मनाउने कोसिस गरिरहेका छन्। मनोनयनको दिन मंगलबार बिहान ओखेडाले फेसबुकमा अर्को भिडियो अपलोड गर्दै आफ्नो टिकट खोसिएको बताएपछि एमाले कार्यकर्ता झन् विभाजित भएका छन्।

‘मेरो टिकट कुन अपराधी, अपहरणकारीले खोस्यो थाहा छैन,’ उनले भिडियोमा भनेका छन्, ‘टिकट आउँछ र मनोनयन गर्छु भनेर अझै प्रतीक्षामा छु।’ देश–विदेशबाट आफूले टिकट पाएकोमा बधाई पाइरहेको अवस्थामा एक्कासि टिकट खोसेर अपमान गरेको अनि अफिलालले टिकट बेच्यो भनेर हल्ला चलाइएकोप्रति उनले आपत्ति जनाएका छन्।

‘सचिवालय जस्तो शक्तिशाली निकायको निर्णय बदर गर्ने कुन महाशक्ति आयो? त्यस्तो महाशक्ति को हो? मैले अहिलेसम्म पत्ता लगाउन सकेको छैन,’ उनले भनेका छन्, ‘मेरो टिकट खोसिनुको कारण के हो? पत्ता लगाएपछि मात्रै म बझाङमा पार्टीको काममा फर्किने छु र सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई न्यायको पक्षमा उभिन अनुरोध गर्दछु।’

उनले सोमबार पनि लामो स्टाटस लेख्दै आफ्नो टिकट खोस्नु जातीय, वर्गीय र समावेशीताको मर्ममाथि प्रहार भएको बताएका थिए।

एमालेको जिल्ला कमिटी बैठकले केन्द्रीय सदस्य ऐन महर, एमालेका पूर्व जिल्ला कमिटी उपाध्यक्ष मोहनराज जैसी र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्रीलाई उम्मेदवार सिफारिस गरेको थियो।

जिल्ला कमिटीले गरेको निर्णयअनुसार केन्द्रले आफूलाई टिकट दिएको बताउँदै एमाले प्रतिनिधिसभाका उम्मेदवार ऐन महरले भने, ‘पार्टीको निर्णय हामी सबैले मान्नै पर्ने हुन्छ। पार्टी निर्णयविपरीत कोही जान्छ भने त्यसमा मेरो भन्नु केही छैन।’

यसअघि पनि जिल्ला कमिटीले उम्मेदवार सिफारिस गर्दा ओखेडालगायतले एकपक्षीय भएको भन्दै विरोध गरेका थिए। ‘पार्टीभित्र विमति नहुने र सबैको सम्मान कायम हुने गरी सहमतिमै सिफारिस गरौं भनेर राति एक बजेसम्म कोसिस गरिरहेका थियौं,’ एमालेका अर्का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अफिलाल ओखेडाले उक्त निर्णयको विरोध गर्दै भनेका थिए, ‘सहमतिको सम्भावना हुँदाहुँदै पनि त्यो मार्ग बन्द गरेर जबर्जस्ती घोषणा गर्ने काम भयो। यसले पार्टीलाई नै असहज परिस्थितिमा उभ्याउने काम भएको छ।’

यस्तै एमालेकी अर्की केन्द्रीय सदस्य आशा विकले पनि यो निर्णयको विरोध गरेकी थिइन्। २०७९ सालको निर्वाचनमा पनि उम्मेदवार सिफारिसमा ऐन महरले एकलौटी गरेको भन्दै तत्कालीन जिल्ला इन्चार्ज भैरवबहादुर सिंहलगायत असन्तुष्टि व्यक्त गरेका थिए।

निर्वाचनलगत्तै एउटा टेलिभिजन अन्तर्वार्तामा सिंहलगायतले सहयोग नगरेका कारण आफूले हार्नु परेको महरले आरोप लगाएका थिए।

महर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार थिए। उनी तत्कालीन कांग्रेस, माओवादी र समाजवादी गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग पराजित भएका थिए। संविधानसभा सदस्यसमेत रहेका अफिलाल ओखेडा पनि २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहसँग पराजित भएका थिए।

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully