काभ्रेका दुई क्षेत्रमा ४२ जनाको उम्मेदवारी

क्षेत्र नं १ मा १७ जना पुरुष उम्मेदवार रहँदा १ जना लैंगिक अल्पसंख्यक समुदायबाट पारालैंगिक महिला विनोद लामाको उम्मेदवारी दर्ता भएको छ । लामा समावेशी समाजवादी पार्टीको उम्मेदवार हुन् ।

माघ ६, २०८२

ज्योती श्रेष्ठ

42 candidates contest in two constituencies of Kavre

काभ्रे — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रेका दुई क्षेत्रमा ४२ जनाको उम्मेदवारी दर्ता भएको छ । काभ्रे १ मा १८ जना र २ मा २४ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काभ्रे १ मा ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउँदा क्षेत्र नं २ मा ८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा १७ जना पुरुष उम्मेदवार रहँदा १ जना लैंगिक अल्पसंख्यक समुदायबाट पारालैंगिक महिला विनोद लामाको उम्मेदवारी दर्ता भएको छ । लामा समावेशी समाजवादी पार्टीको उम्मेदवार हुन् । 

क्षेत्र नं १ मा ४० वर्षमुनिका ५ जना उम्मेदवार रहेका छन् । क्षेत्र नं १ मा नेकपा एमालेबाट अमि तामाङ, नेपाली कांग्रेसबाट गुणराज मुक्तान, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दिननाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईं, मंगोल नेसनल अर्गनाइजेसनबाट कमलबहादुर लामा, नेकपा माओवादीबाट कान्छा तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नवराज सत्यालको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, नेसनल रिपब्लिक नेपालबाट भरत तामाङ, जनता समाजवादी पार्टीबाट मानबहादुर तामाङ, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, संयुक्त नागरिक पार्टीबाट रत्न लामा, नेपाल मजदुर किसान पार्टीबाट राजु तामाङ र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा जीवन लामा, युवराज चौलागाई र राजेशकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं २ मा ३ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् भने १० जना ४० वर्षमुनिका उम्मेदवार रहेका छन् । क्षेत्र नं २ मा नेकपा एमालेबाट अशोककुमार ब्याञ्जु श्रेष्ठ, नेपाली कांग्रेसबाट मुधप्रसाद आचार्य, नेपाली कम्युनिस्ट पार्टीबाट बसुन्धरा हुमागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदनकुमार भण्डारी, मंगोल नेसनल अर्गनाइजेसनबाट उमेश तामाङ, नेकपा माओवादीबाट कान्छाराम घिसिङ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैंजु, श्रम संस्कृति पार्टीबाट टंकबहादुर लामा, नेपाल मजदुर किसान पार्टीबाट मुना तामाङ, जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रन्जीव श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रमेशबहादुर घर्ती क्षेत्री, नेकपा संयुक्तबाट राजन थापा, नेसनल रिपब्लिक नेपालबाट सुकमान तामाङ, राष्ट्रिय जनमोर्चाबाट सुवर्णविक्रम थापा र मितेरी पार्टी नेपालबाट हरिबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं २ मा आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ, सीताराम मैनाली गरी आठ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

जेनजी अभियानबाट विष्ट उम्मेदवार

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबाट काभ्रे २ मा लेनिन विष्टले उम्मेदवारी दर्ता गराएका छन् । ढुंगानासहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएका विष्टले आफूहरू यथास्थितिमा चुनाव हुन नहुने पक्षमा रहे पनि जनतालाई आफ्नो एजेन्डा बुझाउन उम्मेदवारी दिएको बताए ।

काभ्रेको बनेपा–१२ का विष्ट पूर्वमाओवादी लडाकु हुन् । पछिल्लो समय जेनजी अभियानमा सक्रिय विष्टले आफूहरूको समूहले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully