उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्छौँ : सभापति थापा

'हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ,' थापाले भनेका छन्।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

We will make inclusive, balanced and fair decisions in candidate selection: Chairman Thapa

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय गर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत् सभापति थापाले उम्मेदवार चयनका विषयमा सबैसँग छलफल भइरहेको र भोलिसम्म टुंगोमा पुग्ने बताए।

'हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ,' थापाले भनेका छन्, 'भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।'

पार्टीभित्र देखिएका छलफल र निर्णय प्रक्रियाबारे स्पष्ट पार्दै सभापति थापाले भोलिदेखि सबै नेता–कार्यकर्ता आ–आफ्नो क्षेत्रमा गएर पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरेका छन्।

'यो व्यक्तिगत विषय होइन, पार्टीको साझा अभियान हो,' सभापति थापाले भनेका छन्, 'नेपाली काँग्रेसलाई बलियो बनाउन सबैको एकता र समर्पण आवश्यक छ।' उनले पार्टीका निर्णयलाई सम्मान गर्दै संगठन र लोकतान्त्रिक मूल्यको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्।

उम्मेदवार छनोटका क्रममा देखिएका असन्तुष्टि स्वाभाविक भए पनि त्यसलाई चुनावी अभियानमा असर पर्न नदिन उनले अपिल गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully