एमाले कास्कीका युवा नेता भन्छन्– ‘पार्टीले ग्राउन्ड बुझेन’

पटक–पटक अवसर पाएका नेता दोहोरिएपछि कास्कीमा एमालेका युवा उम्मेदवारको ‘च्याप्टर क्लोज’,  पहिले तीनवटै क्षेत्र जितेको एमालेमा उम्मेदवार चयनमै भद्रगोल ।

माघ ५, २०८२

दीपक परियार

UML Kaski youth leader says – ‘The party did not understand the ground’

What you should know

पोखरा — एमालेले देशैभरका निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउनुअघि कास्कीका तीनवटा निर्वाचन क्षेत्रबाट नयाँ र युवा उम्मेदवारले टिकट पाउने चर्चा थियो । एमाले कार्यकर्ताले क्षेत्र नम्बर १ बाट दिलीप न्यौपाने, २ बाट रश्मि आचार्य र ३ बाट माधव बास्तोलाले टिकट पाउने निश्चित भएको भन्दै सामाजिक सञ्जालमा लेख्न थालिसकेका थिए । तर अन्तिममा ती कसैले पनि टिक पाएनन् ।

एमाले कास्कीका अधिकांश नेता र कार्यकर्ताको अनुमानविपरीत १ बाट बैनबहादुर अधिकारी, २ बाट कृष्ण थापा र ३ बाट दामोदर पौडेल ‘बैरागी’ ले टिकट पाएका छन् ।

कास्की–१ मा टिकट पाएका अधिकारी एमाले कास्कीका अध्यक्ष हुन् । जिल्ला समन्वय समिति प्रमुख भइसकेपछि संसदीय चुनावमा भने उनको पहिलो उम्मेदवारी हो । कास्की–२ का थापा यसअघि तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर र गण्डकी प्रदेश सभा सदस्य भइसकेका नेता हुन् । उनी पछिल्लोपल्ट पोखरा महानगर प्रमुखको टिकट पाए पनि पराजित भएका थिए । उनी महानगर प्रमुखको उम्मेदवार हुने बेलामै अन्तिमपल्ट चुनाव लड्ने अभिव्यक्ति दिएका थिए ।

कास्की–३ मा टिकट पाएका पौडेल पछिल्लोपल्टको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । कास्की १ मा एमालेका मनबहादुर गुरुङ र २ मा विद्या भट्टराई निर्वाचित भएका थिए । 

पहिले तीनवटै क्षेत्र जितेको एमालेले उम्मेदवार चयनकै कारण गुमाउनुपर्ने चिन्ता कार्यकर्ताले व्यक्त गरेका छन् । जेन–जी आन्दोलनपछिको परिस्थितिलाई पार्टी नेतृत्वले नबुझ्दा परिणाम फरक आउने सक्ने भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त भइरहेको छ । पार्टीले युवा र नयाँलाई उम्मेदवार बनाउनुपर्ने आवाज उठाउँदै आएका एमाले कास्कीका युवा नेताले पार्टीले उम्मेदवार चयन गर्दा ‘ग्राउन्ड’ नबुझेको तर्क गरेका छन् । 

एमालेका युवा नेता माधव बास्तोला क्षेत्र नम्बर ३ मा आकांक्षी थिए । उक्त क्षेत्रबाट उनको नाम सिफारिस पनि भएको थियो । तर आफ्नो क्षेत्रमा जनताले एउटा रोज्ने र नेताले अर्को चुन्ने काम भएको भन्दै उनले असन्तुष्टि पोखे । ‘पार्टीले गरेको निर्णयमा भन्नुपर्ने केही छैन, ग्राउन्ड बुझेर गर्दिएको भए हुन्थ्यो,’ उनले भने, ‘चुनाव सकिएपछि निर्मम रूपमा समीक्षा हुनुपर्छ । नेतृत्वसँग छलफल र बहस गर्ने मुडमा छु ।’

उक्त क्षेत्र एमालेको जनाधार भएको क्षेत्र भए पनि उम्मेदवार चयनले पनि परिणामलाई प्रभावित गर्ने उनको ठम्याइ छ । ‘पार्टीमा संगठित भएकाहरु अनुशासित छन्, परिस्थिति भड्किन दिन्नौं,’ उनले भने, ‘तर युवा उम्मेदवार हुँदा जनस्तरमा अर्को प्रभाव पर्थ्यो ।’

कास्की १ मा आकांक्षी रहेका युवा नेता दिलीप न्यौपाने सिफारिस भएमध्येबाटै उम्मेदवार चयन भएकाले अनपेक्षित नभएको बताउँछन् । यद्यपि, समयको माग र परिस्थितिले गर्दा मतदाताले नयाँ अनुहार खोजिरहेको उनले स्विकारे । ‘समयको मागलाई पार्टीले पक्डन सकेन कि भन्ने जनगुनासो छ,’ उनले भने, ‘अपेक्षा अनुसारको उम्मेदवार नआउँदा जनस्तरमा गुनासो हुनु स्वाभाविक हो, तर त्यसलाई व्यवस्थापन गरेर जान्छौं ।’ 

क्षेत्र नम्बर २ मा टिकट पाउने बलिया दाबेदारका रुपमा चर्चा गरिएका एमाले केन्द्रीय सदस्य रश्मि आचार्यले पार्टीको निर्णयलाई जनताको बीचमा लैजाने भूमिकामा आफू रहने बताए । ‘निर्णय हुनुपूर्व आफ्ना मत सम्बन्धित ठाउँमा राखिसकेका छौं,’ उनले भने, ‘अब कास्कीमा एमालेको विरासतलाई कायम गर्ने गरी खटिन्छौं ।’ 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully