रामेछापमा नेकपा, एमाले र रास्वपाले उम्मेदवार सार्वजनिक गरिसकेकाले अब कांग्रेसको निर्णयपछि चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।
रामेछाप — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ (कुशल) लाई रामेछापबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ । सोमबार दिउँसो पार्टी केन्द्रले उम्मेदवार टुङ्गो लगाएको नेकपा रामेछापका नेता तारानारायण श्रेष्ठले जानकारी दिए ।
यसअघि तत्कालीन नेकपा माओवादीका नेता श्यामकुमार श्रेष्ठ र तत्कालीन नेकपा (एकीकृत समाजवादी)का नेता होमबहादुर बुढाथोकीमध्ये एक जनाले टिकट पाउने चर्चा थियो । विभिन्न राजनीतिक र सङ्गठनात्मक आधारलाई मध्यनजर गर्दै अन्ततः श्यामकुमार श्रेष्ठलाई उम्मेदवार चयन गरिएको बागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसदसमेत रहेका श्रेष्ठले बताए ।
श्यामकुमार श्रेष्ठ २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट रामेछाप- २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । त्यस्तै २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा यसअघि नै नेकपा एमालेले युवा नेता माधवप्रसाद ढुङ्गेललाई उम्मेदवार बनाइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले भने सोमबारसम्म रामेछापमा उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । जिल्लाबाट प्रत्यक्षतर्फ १० जना नेताको नाम केन्द्रमा सिफारिस गरेको छ । सिफारिस सूचीमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री एवं जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम), पूर्व सभापति रामचन्द्र खड्का, युवराज भट्टराई, भरत चौलागाईं, डा. सुमन कर्माचार्य र गेल्जे शेर्पा लगायतका नेताहरू छन् । यसमध्ये कान्छारामले टिकट पाउने सम्भावना बलियो रहेको जिल्लाका नेता-कार्यकर्ताहरूको आकलन छ ।
रामेछापमा नेकपा, एमाले र रास्वपाले उम्मेदवार सार्वजनिक गरिसकेकाले अब कांग्रेसको निर्णयपछि चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।
