एमालेमा फरक मत राख्नेहरू टिकटबाट वञ्चित

अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलको क्षेत्रको टिकट ‘होल्ड’ भएको छ। पोखरेलसँगै प्रतिस्पर्धामा उत्रिएका सुरेन्द्र पाण्डे, बिन्दा पाण्डे, योगेश भट्टराई, गोकुल बाँस्कोटा, ठाकुर गैरेलगायत नेताले पनि टिकट पाएनन्।

माघ ५, २०८२

गंगा बीसी

Those with different opinions in UML are denied tickets

What you should know

काठमाडौँ — आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको टिकट वितरणमा एमालेले फरक मत राख्ने नेतालाई निषेधको नीति लिएको छ । मंसिरमा आयोजित पार्टीको ११ औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका नेताहरू टिकट पाउनबाट वञ्चित भएका हुन् । ती नेताहरूको टिकट ‘होल्ड’ गरी त्यसलाई टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओली आफैंले लिएका थिए । यसअघि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा पनि फरक मत राख्ने नेताहरू परेका थिएनन् । 

अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका नेता ईश्वर पोखरेलको टिकट होल्ड भएको छ । उनी काठमाडौं–५ बाट उम्मेदवारका लागि एकल सिफारिस भए पनि केन्द्रीय सचिवालयले स्थगन गरेको हो ।

उनलाई टिकट दिने/नदिने अधिकार ओलीलाई दिइएको छ । महाधिवेशनमा पोखरेल प्यानलबाट पदाधिकारीमा प्रतिस्पर्धा गरेका मध्ये उपाध्यक्षमा विजयी भएका गोकर्ण विष्ट गुल्मी–२ का लागि उम्मेदवार भएका छन् । सचिवमा प्रतिस्पर्धा गरेका विनोद ढकाललाई आइतबार मोरङ–६ को टिकट दिइएको छ । संस्थापनविरुद्ध प्रतिस्पर्धा गरेका अन्य नेतालाई टिकट दिइएको छैन ।

पोखरेल पक्षबाट उपाध्यक्षमा उम्मेदवार भई पराजित भएका अरुण नेपाललाई टिकट दिइएको छैन । महासचिवमा प्रतिस्पर्धा गरी पराजित भएका सुरेन्द्र पाण्डे पनि उम्मेदवार हुनबाट वञ्चित भएका छन् । विगतमा उनी चितवन–१ बाट उम्मेदवार हुँदै आएका थिए । पोखरेल पक्षबाट प्रतिस्पर्धा गरी उपमहासचिवमा विजयी भएका योगेश भट्टराईको पनि टिकट खोसिएको छ । 

यसअघि उनले चुनाव जितेको गृह जिल्ला ताप्लेजुङमा युवा संघका अध्यक्ष छितिज थेबेलाई उम्मेदवार बनाइएको छ । भट्टराईले शनिबार भएको सचिवालय बैठकमा टिकट वितरणमा न्याय नगरिएको भन्दै फरक मत राखेका थिए । ‘महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा टिकट वितरण भएको छ,’ उनले भने, ‘यसले फरक मत, विचार राख्नेहरूलाई न्याय गरेको छैन ।’ 

महाधिवेशनमा संस्थापन इतरबाट सचिव पदमा उम्मेदवारी दिएका अग्नि खरेल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, पुरुषोत्तम पौडेल, इन्द्रलाल सापकोटालाई टिकटबाट वञ्चित गरिएको छ । गत निर्वाचनमा खरेल झापा–१ र गैरे पाल्पा–२ बाट उम्मेदवार भएका थिए । गैरेले चुनाव जितेका थिए । झापा–१ रामचन्द्र उप्रेती र पाल्पा–२ उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार बनाउने निर्णय शनिबार भएको थियो । तर आइतबार पौडेलले रूपन्देही–२ बाटै चुनाव लड्ने निर्णय गरेका छन् । गैरेको क्षेत्रमा रामबहादुर राउतलाई टिकट दिइएको छ ।

त्यस्तै पोखरेल पक्षबाट सचिवमा प्रतिस्पर्धा गरेका गोकुल बाँस्कोटाले पनि टिकट पाएनन् । गत निर्वाचनमा काभ्रे–२ बाट निर्वाचित भएका उनी यस पटक पुनः उम्मेदवार हुन खोजेका थिए । ओलीले उनको क्षेत्रमा अशोक ब्याञ्जुलाई अघि बढाएका छन् । कुनै बेला ओलीका निकट बाँस्कोटा फरक मत राखेकै कारण टिकट पाउनबाट वञ्चित भएका हुन् । काठमाडौं–९ को टिकटका आकांक्षी कृष्णगोपाल श्रेष्ठलाई पनि फरक मत राखेकै कारण उम्मेदवार बन्नबाट वञ्चित गरिएको छ । 

११ औं महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी बिन्दा पाण्डे, सचिवमा प्रतिस्पर्धा गरेकी रचना खड्काले पनि टिकट पाएनन् । उनीहरू समानुपातिक सूचीमा समेत अटेनन् । केन्द्रीय सदस्य खड्काले दोलखाबाट उम्मेदवार बन्न खोजे नपाएको बताइन् । ‘महाधिवेशनमा कुन पक्षलाई सघायो भन्ने विषयले टिकट वितरणमा प्रभाव पारेको देखियो,’ उनले भनिन् ।

त्यस्तै दैलेखमा पार्टीको आन्तरिक निर्वाचनमा सबभन्दा धेरै मत ल्याएर सिफारिस भएका केन्द्रीय सदस्य विष्णु रिजाल पनि उम्मेदवार हुनबाट वञ्चित भएका छन् । संस्थापनमै रहेर पार्टीका तर्फबाट निर्वाचन आयोगमा काम गर्दै आएका अर्का केन्द्रीय सदस्य नीरज आचार्यको टिकट खोसिएको छ । गत निर्वाचनमा जाजरकोटबाट प्रतिस्पर्धा गरेका उनी यस पटक पनि आकांक्षी थिए ।

उपमहासचिव भट्टराईले स्पष्ट मापदण्ड नबनाई पार्टीमा टिकट वितरण गरिएको आरोप लगाए । ‘निर्वाचनमा एमालेको उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड बनाउनुपर्ने मेरो मत छ । अहिले उम्मेदवार छनोट गर्दा योग्यता, क्षमता, बौद्धिकता, पार्टीप्रतिको निष्ठा तथा निरन्तरताभन्दा पनि नेतृत्वको इच्छा र पक्षधरता आधार मानेको देखिन्छ,’ उनले राखेको फरक मतमा भनिएको छ, ‘कुनै ठाउँमा त्यही विशेषताको व्यक्तिलाई उम्मेदवारी बनाइएको छ भने अर्का ठाउँमा त्यस्तै विशेषताका व्यक्तिलाई छनोटबाट वञ्चित गरिएको छ । जसका कारण पार्टी निर्णयले देशव्यापी रूपमा एक स्वरले समर्थन प्राप्त गरेको देखिँदैन ।’

उनले पार्टीभित्रको फरक मतलाई नजरअन्दाज गरिएकाले गम्भीर भूल भएको बताएका छन् । ‘प्रतिनिधिसभाको उम्मेदवार (समानुपातिक र प्रत्यक्ष) मा प्रतिस्पर्धाका बेलाको पक्षधरता स्पष्ट रूपमा देखिन्छ । यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउँछ,’ उनले भने । भट्टराईले फरक विचार राख्नेहरूलाई टिकटबाट वञ्चित गरे पनि पार्टीका उम्मेदवार जिताउन लागिपर्ने बताए ।

नेता ईश्वर पोखरेलले टिकट वितरण सन्तुलित भए मात्र निर्वाचनमा राम्रो नतिजा ल्याउन सकिने बताए । ‘टिकट वितरण सन्तुलित नभएको गुनासो आएका छन् । आन्तरिक एकता बलियो भयो भने नतिजा राम्रो ल्याउन सकिन्छ,’ उनले भने । उनले आफू चुनावमा उठ्नेबारे सोमबार टुंगो लाग्ने बताए ।

Those with different opinions in UML are denied tickets

एमाले सचिव भानुभक्त ढकालले पार्टीले विधि र पद्धतिअनुसार उम्मेदवार छनोट गरेको दाबी गरे । ‘जिल्ला, प्रदेशबाट भएका सिफारिसलाई ध्यान दिँदै प्रत्यक्षका उम्मेदवार छनोट गरिएको हो,’ उनले भने, ‘सबै आकांक्षीले टिकट पाउन सम्भव हुँदैन । त्यसैले केही गुनासा आएको हुन सक्छ ।’  

खाली सिटमा गठबन्धनको सम्भावना कति ?

एमालेले रुकुम पूर्वमा आइतबार रातिसम्म उम्मेदवार तोकेको छैन । नेकपा संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट उम्मेदवार बन्ने निश्चित भएको क्षेत्रमा ओलीले उम्मेदवार किन तोकेनन् ? धेरैले प्रश्न गरेका छन् । सुरक्षित क्षेत्र खोज्दै दाहाल माओवादीको आधार क्षेत्र रुकुम पूर्वबाट उम्मेदवार हुँदै छन् । 

 यो क्षेत्रमा गत निर्वाचनमा कांग्रेससितको गठबन्धनबाट माओवादीका पूर्ण घर्तीले जितेका थिए । उम्मेदवार घोषणा नहुँदा रुकुम पूर्व एमालेका नेता तथा कार्यकर्ता अन्योलमा परेका छन् । रुकुम पूर्वका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य लीलामणि गौतमले केन्द्रको निर्णय कुरेर बसेको बताए । 

ओलीले गृह जिल्ला झापा–३ मा पनि उम्मेदवार खाली राखेका छन् । यो क्षेत्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको हो । २०७९ को निर्वाचनमा ओली र लिङ्देनबीच गठबन्धन भएको थियो । ओलीले झापा–३ मा लिङ्देन र लिङ्देनले झापा–५ मा ओलीलाई सघाएका थिए । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ मा उम्मेदवार बन्ने भएकाले ओली लिङ्देनसँग तालमेल गर्न चाहन्छन् । 

एमालेले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भने चक्र स्नेहीलाई उम्मेदवार बनाएको छ । कांग्रेस विभाजनका कारण देउवा उम्मेदवार बन्ने टुंगो छैन । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन भएको छ । ११ माघमा १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । 

एमाले सचिव भानुभक्त ढकालले सबै १६५ क्षेत्रमा उम्मेदवार उठाउने बताए । नेकपा नेता बेदुराम भुसालले चुनावमा गठबन्धन गर्नेबारे निर्णय नभएको बताए । ‘हामीले सबै क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरेका छौं । अधिकांश उम्मेदवारलाई टिकट दिइसकेका छौं,’ उनले भने, ‘गठबन्धन गर्ने निर्णय छैन ।’

एमाले अध्यक्ष ओलीले केही उम्मेदवारको क्षेत्र हेरफेर पनि गरेका छन् । निर्णय नभएका बाँकी क्षेत्रमा उम्मेदवारको टुंगो लगाएका छन् । शनिबार निर्णय नभएको रूपन्देही–१ मा ददिराम न्यौपाने उम्मेदवार बन्ने पक्का भएको छ । महासचिव शंकर पोखरेल दाङ–२ बाट उम्मेदवार बनेका छन् । दाङ–१ मा सोमबार टुंग्याइने भएको छ । कञ्चनपुर–१ मा कमला बोहरालाई शनिबार टिकट दिइएको थियो । आइतबार उनको टिकट खोसेर तारा लामालाई दिइएको छ । 

बझाङमा अफिलाल ओखेडाको टिकट खोसेर ऐन महरलाई दिइएको छ । झापा–४ मा मनोज ताम्लीलाई हटाएर एलपी साँवा लिम्बूलाई दिइएको छ । शनिबार केन्द्रीय सचिवालय बैठकले १६५ मध्ये १४० निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लागेको थियो । केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारीले सोमबारसम्म सबै उम्मेदवारको टुंगो लाग्ने बताए । काठमाडौं–४, ५, ७, ९, ललितपुर–३, रूपन्देही–४, दाङ–१, रुकुम पूर्व, पर्सा–२ मा उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

गंगा

Link copied successfully