बालेन्द्रलाई ओलीको कटाक्ष, 'डेरा खोजिदिन्छु’

ओलीले प्रत्यक्ष नाम नलिई बारम्बार ‘यस्ता मान्छे’ भनेर बालेन्द्रलाई लक्षित गरेका थिए।

माघ ५, २०८२

पर्वत पोर्तेल

Oli's sarcasm towards Balendra, 'I will find a Dera'

झापा — एमाले अध्यक्ष केपी शर्मा ओलीले डेरा खोज्न सघाउने भन्दै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरेका छन्।

'न नाता, न गोता, न त जनताको विकाससँगको साइनो,’ सोमबार गृहनगर दमकमा आयोजित पत्रकार सम्मेलनमा ओलीले बालेनको विकास र जनसम्पर्कसँग कुनै नाता नरहेको भन्दै व्यंग्यात्मक शैलीमा भने,'यस्ता मान्छेलाई डेरा खोज्न सघाउनु मेरो जिम्मेवारी हो। किनकि यो मेरो इलाका हो।’

झापा–५ मा बालेन्द्रको सम्भावित उम्मेदवारीले एमाले नेतृत्वलाई दबाबमा पारेको संकेतका रूपमा हेरिएको छ। ओलीले प्रत्यक्ष नाम नलिई बारम्बार ‘यस्ता मान्छे’ भनेर बालेन्द्रलाई लक्षित गरेका थिए। 

अर्को प्रसंगमा ओलीले देश जलाउने र देश बचाउनेलाई जनताले छुट्याइसकेको दाबी गर्दै त्यसको फैसला निर्वाचनबाट हुने बताए। ओलीले शान्ति–सुरक्षाको अभाव देखाउँदै चुनाव नै सम्भव नभएको बताए। 

ओलीले देशमा भयपूर्ण वातावरण रहेको दाबी गर्दै ‘हरेक नागरिक असुरक्षित महसुस गरिरहेको’ बताएका छन्। शान्ति सुरक्षा नहुँदा निर्वाचन निष्पक्ष नहुने भन्दै उनले प्रधानन्यायाधीशदेखि निर्वाचन आयोगसम्म चिन्तित रहेको तर्क अघि सारे।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully